चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्।
गएराति पौने २ बजे भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ  गरिराखेको ना ६ ख ८१३ नंम्बरको ट्रकमा गौर बाट काठमाडौंतर्फ आउँदै  गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको  यात्रुबाहक बस ठोक्किएको थियो।
ट्रकमा ठोक्किएको बससँग जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको  बा.प्र.०३०० ख ३९०२ नम्बरको अर्को यात्रुबाहक बस ठोक्किएको थियो।
ट्रकसँग ठोक्किएर अनियन्त्रित भएपछि अर्को बसले पनि ठक्कर दिएपछि सुरूवातमा ठोक्किएको बस सडकमा पल्टिएको थियो।
सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परी ३३ जना घाइते भएका हुन्। दुर्घटनापछि सशस्त्रको नेपाल नं १७ गण चितवनबाट खटिएको सुरक्षा फौजले घाइतेहरूलाई उद्धार गरी चितवनका विभिन्न अस्पताल पुर्याएको थियो।
चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए।
दुर्घटना भई पल्टिएको बसलाई क्रेनको सहायताले सडकबाट हटाइएको थियो। दुर्घटनापछि अवरूद्ध भएको सडक बिहान २:५५ बजेबाट सडक एकतर्फी सुचारु गराइएको थियो।
 सबै सवारी साधन घटनास्थलमा नै साइड लगाएर बाटो सुचारु गराएको डिएसपी थापाले बताए। बा.प्र.०३-००१ख ३९०२ नम्बरको बसका चालक धनुषा जिल्ला सहिद नगरपालिका-४ बस्ने बर्ष ४३ को कृष्ण मण्डल जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका छ्न्।