बाँके र बर्दिया जिल्लामा लागुऔषध ब्राउन सुगरसहित प्रहरीले ७ जनालाई पक्राउपछि सार्वजनिक गरेको छ।
बाँकेको नेपालगंज उपमहानगरपालिका– ९ का ३८ वर्षीय चाँद अली शेष र ३१ वर्षीय बब्लु शेष पक्राउ परेका छन्।
बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक केशव केसीका अनुसार उनीहरुको साथबाट ४९ ग्राम ५१० मिली ग्राम ब्राउन सुगर बरामद भएको छ।
कात्तिक १२ गते नेपालगंज–१३ रोयल क्याफेबाट उनीहरु पक्राउ परेका थिए।
क्याफेमा अबैध रुपमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरुलाई खानतलासी गर्दा ब्राउन सुगर बरामद गरेको थियो।
पक्राउ परेका दुबै जनालाई आगु औषध मुद्दामा थप अनुसन्धान गर्न जिल्ला अदालत बाँकेले बिहीबार दश दिनको म्याद दिएको छ ।
त्यस्तै बर्दियाबाट थप पाँच जना ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
बाँकेको बैजनाथ गाउँपालिका – ५ बनकटुवाका २६ वर्षीय प्रकाश रेग्मी र २६ वर्षकै प्रदीप चौधरी पक्राउ परेका छन्। बर्दियाको बढैयाताल गाउँपालिका – ८ कष्ठपुरस्थित चेकपोष्ट बाट उनीहरु कात्तिक १२ गते राति साढे ९ बजेतिर पक्राउ परेका थिए।
साइकल रेग्मीले चलाएका थिए भने चौधरी पछाडि सवार थिए। बर्दियाका प्रहरी प्रवक्ता डिएसपी देवेन्द्रकुमार मल्लका अनुसार १ ग्राम २९० मिलीग्राम ब्राउन सुगर बरामद भएको छ ।
बर्दिया जिल्ला अदालतले पाँच दिन थुनामा राखेर उनीहरुमाथि अनुसन्धान गर्न अनुमति दिएको छ।
त्यस्तै कात्तिक १२ गते राति साढे १० बजेतिर बढैयाताल– २ स्थित फुटाहा चेक पोस्टबाट प्रहरीले थप तीन  जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गेरुवा गाउँपालिका – ४ गोलाका ३२ वर्षीय वीरबहादुर रावत र बाँकेको कोहलपुर नगरपालिका– ५ का २५ वर्षीय सुरज शाही र छिमेकी देश भारतको कर्नाटका प्रदेश  बेंग्लुरू जिल्लाका २४ वर्षीय सोयर साइत पक्राउ परेका छन्।
उनीहरुको साथबाट साढे ४ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको डिएसपी मल्ले बताए।