म्यानमारको उत्तरी सहर मित्किना नजिकैकी गीता पराजुली हिजोआज दक्षिणी थाइल्यान्डको सुराथानी राज्यको को (टापू) समुइमा एक नेपालीले खोलेको 'एभरेस्ट रिसोर्ट' मा भान्से तथा वेटरको काम गर्छिन्।
उनलाई सघाउन बिहान दुई जना बर्मेली आदिवासी युवती पनि रिसोर्टको सागबारीमा आउँछन्। राई–लिम्बूजस्ता देखिने ती बर्मेली केटीहरूलाई बर्मेली–गोर्खाली 'खोस्टेनी' भन्दा रहेछन्। गीता उनीहरुसँग 'खोस्टे' (बर्मेली) भाषामा कुरा गर्छिन्।
तर रोजीरोटी कमाउन मित्किनादेखि करिब दुई हजार किलोमिटर पर थाई टापू आइपुगेकी गोर्खाली युवती गीतालाई आफ्नो घरको न्यास्रो कसरी मेटिन्थ्यो र!
बर्मेली, थाई, अंग्रेजी र हिन्दी बोल्न जानेकी गीताले आफ्नो मातृभाषा नेपालीमै भनिन्, 'जिजुहरू नेपालबाट असम हुँदै बर्मा आउनुभएको रे। बुबाआमा चाहिँ मित्किनामै हुनुहुन्छ।'
बर्माको मित्किना सहर नजिकै घर भएकी गीता पराजुली हिजोआज को समुइको एभरेस्ट रिसोर्टमा काम गर्छिन्। तस्बिरः सुरेन्द्र फुयाल
मलाई जान्न मन लाग्यो — के गीता दसैंतिहार वा अरू चाडबाडका बेला बर्मा घर जान्छिन्?
जबाफ दिनुअघि एभरेस्ट रिसोर्ट पछाडिको थाई खाडीको विशाल समुद्रतर्फको क्षितिजतिर हेर्दै गीता केही बेर टोलाइन्।
अनि मधुरो स्वरमा भनिन्, 'सायद अर्को दसैंतिहारमा घर जान्छु होला कि!'
निला, हरिया कञ्चन पानीको सेतो छाल आइरहने समुद्री किनार रिसोर्टहरूले भरिएको को समुइमा स्याङ्जाका पुष्प सुवेदीले एभरेस्ट रिसोर्ट खोलेका छन्।
एभरेस्ट रिसोर्टको छेवैमा करिब २० वर्षअघि दिल्ली हुँदै बैंकक पसेका गुल्मीका पदमबाबु काफ्लेले 'बाबु इन्डियन रेस्टुरेन्ट' खोलेका थिए।
त्यहाँ पनि बर्मा घर भएका ९ जना बर्मेली–गोर्खाली युवक काम गर्छन्। उनीहरूमध्ये केहीको फोटो खिच्न अनुरोध गर्दा एक युवाले छेवैमा रहेको नेपालको सानो झन्डा हातमा लिँदै मुस्कुराए।
बर्माका नेपालीबारे अध्ययन गरेकी अध्येता एवं लेखक सुष्मा जोशीका अनुसार बर्माका करिब ५ लाख नेपालीभाषी गोर्खाली बर्मेली छन्। उनीहरू सबै हिन्दु धर्म मान्छन् र प्रायःले नेपाललाई पितृभूमि ठान्छन्।
को समुइ नजिकैका प्रसिद्ध पर्यटकीय गन्तव्य फुकेट, फिफी र क्राबी क्षेत्रमा पनि धेरै बर्मेली–गोर्खालीहरू व्यापार व्यवसायका अतिरिक्त सेवा क्षेत्रमा लागेको देख्न सकिन्छ। थाइल्यान्डले बर्मेलीलाई सजिलै काम गर्ने अनुमति सहितको भिसा दिने भएकाले लाखौं बर्मेली युवा थाइल्यान्डमा कार्यरत पाइन्छ। उनीहरू उत्तरको चियाङ माईदेखि दक्षिणको क्राबीसम्मै भेटिन्छन्।
को समुइको बाबु इन्डियन रेस्टुरेन्टमा कार्यरत केही बर्मेली गोरखाली युवा। तस्बिरः सुरेन्द्र फुयाल
बैंककमा व्यस्त बर्मेली जेनजी
बर्मेली जेनजी आप्रवासी कामदारको सबभन्दा बाक्लो उपस्थिति सम्भवतः राजधानी बैंकक सहरमा देख्न सकिन्छ। जहाँ बर्मेली आदिवासीसँगै गोर्खाली पनि काँधमा काँध मिलाएर विभिन्न काममा लागेका भेटिन्छन्।
केही साताअघि बैंककको मध्य बजार क्षेत्र सुखुम्भितको एक थाई रेस्टुरेन्टमा त्यस्तो बर्मेली सहकार्यको राम्रो उदाहरण देखियो।
त्यहाँ काम गर्ने लगभग १५ कर्मचारीमध्ये लगभग सबै बर्मेली थिए; आधा जति चाहिँ गोर्खाली थिए। सबै जना अलि पूर्वेली लवजको नेपाली भाषा बोल्थे। कुनै नेपाली शब्द नबुझे ट्वाल्ल पर्थे र फेरि सोध्थे।
उनीहरूको थर थियो — आचार्य, तामाङ, राई, महर्जन आदि। सबै लगभग जेनजी उमेर समूहका।
सुखुम्भित बैंककको नयाँ बानेश्वर वा नयाँ सडक जस्तै व्यापारिक केन्द्र हो। त्यहाँ पाइला पाइलामा बर्मेली–गोर्खाली भेटिन्थे जसको अनुहार कुनै न कुनै विविध नेपाली अनुहारसँग मेल खाइहाल्ने! सुखुम्भितको असोक स्टेसन नजिकै भारतीय परिकार पाइने 'बुखारा रेस्टुरेन्ट' बाहिर दुई गोर्खाली जेनजी युवती देखिए। फोटो खिच्न अनुमति दिएनन्।
त्यहाँबाट पचास पाइला अघि बढेपछि अर्को पसल बाहिर भेटिइन् अर्की बर्मर्ली गोर्खाली युवती। नेपालीमा सोधेको बुझिहालिन्। भर्खर २० वर्ष लागेकी बिन्दिया बुढा बर्माबाट हालै मात्र बैंकक आएर आफन्तकहाँ बस्दै पसलमा काम गर्न थालेकी रहिछन्। महिनाको १२०० भाट (५२०० रूपैयाँ) तलबले उनलाई बैंककमा बाँच्न पुगेकै रहेछ।
बैंकक, सुखुम्भितको एक गरगहना तथा झोला पसलमा काम गर्ने बर्मेली–गोर्खाली बिन्दिया बुढा हालै बर्मा छोडेर थाइल्यान्ड आइपुगेकी जेनजी पुस्ताकी एक प्रतिनिधि हुन्। तस्बिरः सुरेन्द्र फुयाल
यस्ती कलिली बिन्दिया बर्मा छोडेर किन बैंकक आइन् होला?
मेरो खुल्दुली मेट्दै उनले भनिन्, 'बर्मामा सैनिक शासन लागेपछि देशको हालत एकदमै नराम्रो भएको छ। एकातिर सेनाले चेक गरेर दुःख दिन्छन् अर्कोतिर रेबेल (विद्रोही) ले दुःख दिन्छन्। अब यहाँ आएपछि फर्किन पनि गाह्रो हुन्छ। उता गयो कि दुवै पक्षले बाटोमा रोकेर के के सोधेर हैरान पार्छन्।'
उनले अब बैंककमै काम गर्दै पढ्ने योजना बनाएको बताइन्।
सुखुम्भितमा मात्र होइन, थाई राजधानीमा सस्तो किनमेलको लागि प्रख्यात इन्द्रा बजार क्षेत्रका लगभग हरेक पसलमा बर्मेली नेपाली भेटिन्छन्। त्यति धेरै नेपाली भाषीको उपस्थितिका कारण मध्य बैंककका कैयौं सडकले नेपालभित्रकै वा दार्जिलिङ–सिक्किम वा असम वा भुटानको कुनै नेपालीभाषी धेरै हुने सहर बजारको झल्को दिन्छ।
थाइल्यान्डमा कति बर्मेली–गोर्खाली होलान्? त्यसको यकिन तथ्याकं कतै भेटिँदैन। तर प्रवासी संगठनको अनुमानमा कम्तीमा एक लाख छन्।
उस्तै उस्तै बौद्ध संस्कृति रहेका बर्मा र थाइल्यान्डबीच मानिसको ओहोरदोहोर सदियौं अघिदेखि सहज रहँदै आएको बताइन्छ। हालैका दशकमा बर्माबाट थाइल्यान्ड आएका गोर्खालीको कथा–व्यथा बेग्लै छ। बर्मामा सैन्य शासन र विद्रोही गतिविधि जारी रहेकाले हुनुपर्छ, थाइल्यान्डमा उनीहरूको संख्या निरन्तर बढ्दो छ।
इन्द्रा बजारको एक कपडा पसमा खटिएका दुई बर्मेली–गोर्खाली जेनजी युवती। तस्बिरः सुरेन्द्र फुयाल
थाई नागरिक बनेका गोर्खाली
अचम्म के भएछ भने, करिब ४० वर्षअघि गोर्खालीहरू थाइल्यान्डभित्रै भेटिएछन्। दोस्रो विश्व युद्धअघि वा पछि बर्मा आइपुगेका थुप्रै गोर्खाली नागरिकताबिहीन भएर थाइल्यान्डको कन्चनाबुरी क्षेत्रमा समेत बसोबास गरिरहेको पाइएपछि त्यो खबर नेपाली दूतावासमार्फत काठमाडौं पुग्यो।
सन् १९८५ मा राजा वीरेन्द्र शाहको अनुरोधमा तत्कालीन थाई राजा भूमिपोन हजारौं गोर्खालीलाई थाई नागरिकता दिन राजी भएछन्।
ती गोर्खाली थाई नागरिक बनेको पनि धेरै भइसक्यो। त्यसरी थाई नागरिक बन्ने सौभाग्य पाएका गोर्खालीको संख्या करिब १० हजार रहेको अनुमान छ।
तर नयाँ आएका बर्मेली–गोर्खालीले त्यो सुविधा पाउन असम्भव जस्तै छ; भलै थाई सरकार देशलाई आवश्यक कामदार पूर्तिका लागि बर्मेली र अन्य दक्षिण पूर्वी एसियाली छिमेकी देशका कामदारप्रति उदार नै देखिँदै आएको छ।
त्यही भएर होला इन्द्रा स्क्वायरको एक मलमा भेटिएका बर्मेली–गोर्खाली जेनजी राजबहादुर थापालाई थाइल्यान्डमा काम गरी खान र बस्न कुनै समस्या छैन।
आफ्नो पसलमा राखिएका तयारी पोसाक बेच्ने व्यस्तताबीच उनले भने, 'बर्मामा धेरै टेनसन छ। लडाइँ, झगडा छ। त्यही भएर हामी यता आएको।'
उनले यो पनि भने, 'मलाई गोर्खाली सैनिकको सन्तान हुनुमा गर्व छ।'
पाखुरामा गोर्खे खुकुरी क्रसको ट्याटू हानेका १८ वर्षीय राजले बुझे अनुसार उनका पुर्खा गोर्खाली सैनिक थिए। ब्रिटिश फौजसँग लडाइँ लड्दै बर्मा पुगेका उनका पुर्खा नेपाल फर्किएनन् र बर्मामै बसे। गोर्खालीसँगै बिहेबारीपछि राज जस्ता नयाँ पुस्ता जन्मिए।
बर्मेली–गोर्खालीको इतिहासबारे उनको बुझाइ यस्तो छ — पहिला गोर्खाली सैनिक बर्मा पुगे, त्यसपछि अरू कामदार र किसान पनि आउन थाले।
इन्द्रा स्क्वायरको मलमा भेटिएका बर्मेली–गोर्खाली जेनजी राजबहादुर थापा। तस्बिरः सुरेन्द्र फुयाल
बर्मा पुग्ने पहिला गोर्खाली
प्रसिद्ध पुस्तक 'आयो गोर्खाली' का लेखक एवं गोर्खाली सैनिकको इतिहास अध्येता टिम गुरूङका अनुसार सन् १८२४ मा नै ब्रिटिस शासकका कामदारका रूपमा नेपालीहरू बर्मा पुगिसकेका थिए। सुगौली सन्धिपछि ब्रिटिस फौजमा भर्ती हुन थालेका गोर्खालीहरूलाई ब्रिटिस शासकले सन् १८२४ तिरै बर्माविरूद्धको लडाइँमा सहभागी गराएका थिए।
ब्रिटिस शासकहरू बर्माका बहुमूल्य पत्थरका खानी र महँगा तथा एकदमै टिकाउ काठ लगायत प्राकृतिक स्रोतसाधनबाट लोभिएका थिए। ब्रिटिससँगै बर्मा पुग्न थालेका गोर्खालीहरू पनि त्यहाँका खानी, इरावादी नदी किनार क्षेत्रका जग्गा जमिन र तिनले दिने उब्जनीका कारण लोभिन थालेको बताइन्छ।
सन् १९३७ सम्म बर्मा छिर्न नेपालीलाई कुनै अवरोध थिएन। किनभने, त्यति बेलासम्म बर्मा ब्रिटिस प्रशासित बंगाल प्रेजिडेन्सीकै हिस्सा थियो। तर सन् १९६० तिर बर्मामा जातीय तनावबीच गोर्खालीहरू असुरक्षित हुन पुगे।
त्यही वर्ष बर्मा भ्रमणमा गएका राजा महेन्द्र शाह बर्मेली–गोर्खालीको विरहबाट पग्लिन पुगे। फलस्वरूप, उनले हजारौं बर्मेलीलाई नेपाल फर्किन अनुमति मात्र दिएनन्, नेपालभित्र उनीहरूको पुनर्वासको बन्दोबस्त समेत गराइदिए।
सुखुम्भित नजिकैको बेन्जाकिटी पार्कमा हिँड्ने क्रममा पनि बेला बेलामा बर्मेली–गोर्खालीले नेपाली भाषामा कुराकानी गरेको सुन्न सकिन्छ। तस्बिरः सुरेन्द्र फुयाल
सैनिक शासन र आन्तरिक द्वन्द्व
सन् १९४८ मा ब्रिटिस शासनबाट मुक्त भएको बर्माको आधुनिक इतिहास भने सैनिक शासनका कारण बदनाम छ।
जातीय द्वन्द्वको सुरूआतसँगै सन् १९६० देखि सुरू भएको सैनिक शासन करिब ५० वर्षपछि सन् २०११ मा हट्ने संकेत मिलेको थियो। तर छोटो बहुदलीय प्रजातान्त्रिक अभ्यास सन् २०२१ फेब्रुअरीपछि फेरि सैनिककै पञ्जाभित्र गुम्सिन पुगेको छ।
बर्मामा पछिल्लो संकटको सुरूआत चाहिँ सन् २०२१ फ्रेब्रुअरी १ देखि भयो।
त्यस दिन प्रजातन्त्रवादी नेतृ आङ साङ सू चीको पार्टीले चुनावमा बहुमत ल्याएपछि संसदको पहिलो बैठक हुनुपर्ने थियो। तर सेनानिकट अर्को पार्टीले चुनावमा व्यापक धाँधली भएको आरोप लगाएपछि सेनाले फेरि एक वर्षका लागि भन्दै शासन सत्ता आफ्नो हातमा लिइदियो र सैनिक कू गरिदियो।
दस वर्षसम्म सैनिक शासन हटेर सन् २०१५ देखि प्रजातन्त्रिक वातावरण र चुनाव जित्दै स्वछन्द हुन पाएकी आङ साङ सू ची लगायत उनका दलका हजारौं नेतालाई त्यही दिनदेखि फेरि नजरबन्दमा राखियो। रोहिंग्या मुसलमानविरूद्ध ज्यादतीको आरोप त छँदैछ। सैनिक अदालतले ८० वर्षीया सू चीलाई चुनाव धाँधली लगायत मुद्दामा वर्षौं कैद सजाय सुनाइदियो।
अर्कोतिर बर्माका कचिन र चिन प्रान्तका विद्रोहीले फेरि बन्दुक समात्न थालेर देश फेरि आन्तरिक द्वन्द्वमा फस्यो। अवस्था आजसम्म उस्तै उस्तै छ।
सेनाले आउने डिसेम्बरमा चुनाव गराउने भनेको छ। तर त्यसपछि प्रजातन्त्र बहाली हुने आशा निकै कम छ।
बर्माको अवस्था झन् झन् खराब हुँदै गएको छ। किनभने बर्मा र थाइल्यान्डबीचको सीमा क्षेत्रमा साइबर ठगी धन्धा गर्ने भयंकर ठूला चिनियाँ माफियाहरूले स्क्याम सेन्टर खोलेका छन्। त्यहाँ नेपालका युवासमेत बन्दी बनेका खबर पुराना हुन थालेका छन्। ती स्क्याम सेन्टर अहिले बर्मेली सेनाका जनरलका लागि मात्र नभई चीन सरकारको लागि समेत ठूलो टाउको दुखाइ बनिसकेका छन्।
बर्मेली–गोर्खाली जेनजीको भविष्य
नेपालदेखि बर्मा र थाइल्यान्डको भूभाग देखिने गुगल अर्थ नक्साको स्क्रिनसट। सडकमार्गबाट काठमाडौंदेखि रंगुन करिब २४०० किलोमिटर र बैंकक ३३०० किलोमिटर टाढा पर्छ।
एघार दिने थाइल्यान्ड यात्रा बिट मारेर नेपाल एयरलाइन्सको विमान चढ्न सुवर्णभूमि विमानस्थल जानुअघि सुखुम्भितमा थप नेपाली अनुहार देखिए।
सडक छेउको एक गाँजा पसल र रेस्टुरेन्टसँगै टाँसिएको स्पाबाहिर बाटो हिँड्ने पर्यटकलाई स्पामा बोलाउने थाई युवतीको भिडमा एक बर्मेली–गोर्खाली देखिइन्। जेनजी नै हो उमेर समूह। तर कुरा गर्न भ्याइएन।
तर अन्तिम समयको किनमेल क्रममा टर्मिनल ११ को मलको तेस्रो तलाको एउटा कुनाको सानो कपडा पसलमा भेटिइन् अर्की थाई जस्तै देखिने सानो कदकी पातली जेनजी।
नाम सोध्दा भनिन् — माई माई।
घर रहेछ बर्मा। थर रहेछ बराल।
जेनजी पुस्ताकै बर्मेली–गोर्खाली भए पनि थाई भाषामा यति पोख्त कि उनले बोल्ने नेपाली पनि थाई जस्तै सुनिने।
तिहार मनाउने उनको योजनाबारे सोध्दा भनिन्, 'यतै बस्ने हो, अब बर्मामा त जान पनि साह्रोगाह्रो पो छ। बर्मिज आर्मी अनि रेबेल आर्मीले धेरै दुःख दिन्छन्। बरू यतै ठीक छ उताभन्दा हामीलाई।'
को समुइको एभरेस्ट रिसोर्टमा काम गर्ने बर्मेली गीता पराजुलीलाई पनि त्यस्तै लाग्दो रहेछ।
हामी फर्किने दिउँसो, मेरो टेबलमा रिसोर्टको पछाडि बारीमा पाइप भित्रभित्रै पानी बगाएर हाइड्रोपोनिक्स प्रविधिबाट उमारिएको सागको सलाद राखिदिँदै भनिन्, 'बर्माको हालत ठीक छैन। त्यसैले कमाइ खान थाइल्यान्ड नै सजिलो भएको छ हामीलाई।'
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्। )
एक्सः @surendraphuyal