अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालयमा तोडफोड र आगजनी गर्नेविरूद्ध प्रहरीमा जाहेरी दिएको छ।
अख्तियारले मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको हो।
अख्तियारको केन्द्रीय कार्यालय टंगालमा २४ करोड रूपैयाँ क्षति भएको भन्दै जाहेरी दिएको स्रोतले जानकारी दिएको छ।
'हामीले कार्यालय तोडफोड र आगजनी गर्नेहरूको भिडिओ/फोटोसहित प्रहरीमा जाहेरी दिएका छौं,' स्रोतले भन्यो, 'पहिचान गरेर कारवाही गर्ने काम प्रहरीले गर्छ।'
भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा अख्तियारको कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो।
अख्तियारले जाहेरी लिएर आएको र दर्ताको प्रक्रियामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जेन-जी आन्दोलनको क्रममा अख्तियारका अन्य कार्यालयहरूमा पनि क्षति पुगेको छ। त्यहाँको हकमा सम्बन्धित जिल्लामा कारवाहीका लागि जाहेरी दिने अख्तियार स्रोतले सेतोपाटीलाई जानकारी दिए।