भदौ २३ गते जेनजी आन्दोलन क्रममा प्रहरीको गोली लागेर काठमाडौंमा ज्यान गुमाएका बहुसंख्यक काठमाडौं उपत्यका बाहिरका छन्।
सरकारी तथ्यांक अनुसार भदौ २३ र २४ गते ७६ जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ। तीमध्ये तीन जना नेपाल प्रहरीका कर्मचारी हुन् भने ४२ जना प्रदर्शनमा सहभागी नागरिक हुन्, जसलाई प्रहरीको गोली लागेको थियो।
गोली लागेर ज्यान गुमाउने र सहिद घोषणा गरिएकाहरूको ठेगाना हेर्दा तीन जना मात्र काठमाडौं उपत्यकाका देखिन्छन्।
उनीहरू काठमाडौं-११ बस्ने २७ वर्षीय ईश्वतबहादुर अधिकारी, ललितपुर-७ का विनोद महर्जन र कीर्तिपुर-२ का बुद्धिबहादुर तामाङ छन्। यी तीनै जनाको मृत्यु भदौ २३ गते भएको थियो।
यसबाहेक ज्यान गुमाएकाहरू मोरङ, बाँके, अर्घाखाँची, बझाङ, सुनसरी, सिन्धुपाल्चोक, काभ्रे, कैलाली, गोरखा, पर्सा, सिन्धुली, उदयपुर, बाग्लुङ र धनकुटाका हुन्।
भदौ २३ गते काठमाडौंको माइतीघरदेखि मार्चपास गर्दै नयाँबानेश्वर पुगेको प्रदर्शन भड्किँदा गोली चलेको थियो। त्यसै दिन २० जनाको मृत्यु भयो।
ज्यान गुमाउने अधिकांशलाई कम्मरभन्दा माथि गोली लागेको पोस्टमर्टम रिपोर्टमा देखिएको छ। कतिपयको टाउको र छातीमा पनि गोली लागेको छ।
त्यसको भोलिपल्ट भदौ २४ गते पनि गोली लागेर धेरैले ज्यान गुमाएका छन्। सरकारी रेकर्ड अनुसार त्यस दिन १६ जनाले ज्यान गुमाएका थिए। ती सबै काठमाडौं उपत्यका बाहिरका छन्।
भदौ २४ गते निजी, सरकारी, व्यापारिक भवनहरूमा आगजनी तथा तोडफोड समेत भएको थियो। आगजनी लगायत अन्य घटनामा परी २१ जनाको मृत्यु भएको थियो। त्यसबाहेक १० जना विभिन्न कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई रोक्ने क्रममा सेनाले गोली चलाउँदा मृत्यु भएको हो।
ज्यान गुमाएका १२ जनाको अझै पनि पहिचान खुलिसकेको छैन। आन्दोलनमा एक जना भारतीय नागरिकको समेत ज्यान गएको थियो।