बुटवल प्रहरीले भन्सार छली गरी ल्याइएका आइफोन, लत्ता कपडा तथा चोरी गरिएका सुनका गरगहना र नगद सहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाका अनुसार प्रहरीले बुधवार राती तिलोत्तमास्थित सिद्धार्थ राजमार्गबाट ३१ थान आइफोन बरामद गरेको छ।
बुधबार राति ९ बजेतिर गस्तीमा गएको इलाका प्रहरी कार्यालय बुटवलको टोलीले तिलोत्तमा नगरपालिका वडा नं. १५ सखुवानी स्थित सिद्धार्थ राजमार्गको पश्चिम तर्फको सर्भिस लेनमा बेवारिसे अवस्थामा छोडिएको अवस्थामा ३१ थान आइफोन बरामद गरेको हो।
झोला बोकेको व्यक्ति प्रहरीलाई देखेपछि झोला छोडेर भागेपछि झोला खानतलासी गर्दा ३१ वटा आइफोन बरामद भएको प्रहरी नायब उपरीक्षक रानाले बताए। बरामद गरिएका आइफोन अहिलेको बजार मूल्य अनुसार १६ लाख ६५ हजार बराबरका रहेको रानाले बताए।
त्यस्तै गत कार्तिक १३ गते बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगति नगरकी चन्द्रकला रानाको घरबाट चोरी गरिएका सुनका गरगहना र नगद ८० हजार सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नं. ७ बस्ने ३० वर्षीय सुमन घले रहेका छन्।
प्रहरी नायव उपरीक्षक रानाले चन्द्रकलाको घरबाट कानमा लगाउने सुनको एक जोडी झुम्का तथा एक एक थान हातमा लगाउने बाला, घाँटीमा लगाउने हार, तिलहरी र मंगलसुत्र ८० हजार रुपैयाँ नगद र एक थान मोबाइल चोरी भएको थियो।
घलेको साथबाट चोरी गरिएका झुम्का, हार, बाला नगद ८० हजार रुपैयाँ बरामद भएको प्रहरी नायव उपरीक्षक रानाले बताए।
पक्राउ परेका घलेलाई अनुसन्धानको लागि जिल्ला अदालत रुपन्देहीबाट म्याद गरी अहिले इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ।
त्यस्तै प्रहरीले भन्सार छली गरी ल्याइएका ८७ हजार रुपैयाँ भन्दा बढी मूल्यका ९४ थान जिन्स पाइन्ट, ८४ थान कुर्ता सुरुवाल, १६ थान सल तथा मोजा, कुर्ता, केराउ, रजनीगन्धा लगायतका सामग्री बरामद गरेको हो।
बरामद गरिएका आइफोन र लत्ता कपडा सहितका सामग्रीलाई आवश्यक कारबाहीको लागि बिहीबार भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिए।