सिन्धुपाल्चोकमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरूद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ।
इन्द्रावती गाउँपालिका-१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयको प्रधानाध्यापक अन्जना भण्डारीमाथि कुटपिट गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाम्सोङ तामाङविरूद्ध जाहेरी दर्ता भएको हो।
प्रधानाध्यापकले बुधबार नै जाहेरी दिएको भए पनि बिहीबार मात्र दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवराज खरेलले जानकारी दिए।
'विद्यालय व्यवस्थापन समितिको छलफलमा विवाद हुँदा कुटपिट भएको जानकारी प्राप्त भएको छ,' डिएसपी खरेलले भने, 'थप अनुसन्धान भइरहेको छ।'
घटना मंगलबार साँझको हो।
प्रधानाध्यापक चौतारा साँगाचोकगढी नगरपालिका-१४ की हुन्। अध्यक्ष पनि सिन्धुपाल्चोककै रहेको डिएसपी खरेलले सेतोपाटीलाई जानकारी दिए।