जलवायु परिवर्तनको असर ध्यानमा राखेर काम नगरे अर्को शताब्दीमा बाघको अस्तित्व संकटमा पर्न सक्ने एक अध्ययनले देखाएको छ।
बढ्दै गएको पृथ्वीको तापक्रम, अनियमित वर्षा (कहिले आरीघोप्टे, कहिले चाहिनेभन्दा कम), औद्योगिकीकरण, सहरीकरण, जंगलको खण्डीकरण लगायतको गम्भीर असर पाटेबाघमा पनि पर्ने उक्त अध्ययनले देखाएको हो।
सरोकारवाला निकायहरूले जलवायु परिवर्तनको विषयलाई ध्यानमा राखेर योजनाहरू कार्यान्वयनमा नल्याए बाघ र मान्छेबीचको द्वन्द्व आगामी दिनमा बढ्दै जाने निष्कर्ष पनि यो अध्ययनको छ।
अमेरिकामा विद्यावारिधि गरिरहेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उप–महानिर्देशक अजय कार्की नेतृत्वको समूहले नेपालमा सन् २०५०, २०७० र २०९० मा पाटेबाघको वासस्थानको अवस्थाको विषयमा अध्ययन गरेको थियो। यो अध्ययन सन् २०१८ र २०२२ को गणनामा बाघ भेटिएका क्षेत्रलाई केन्द्रमा राखेर गरिएको थियो।
'हामीले अवस्था अहिलेकै जस्तो हुँदा के हुन्छ, बिग्रिँदा के हुन्छ भनेर उच्चतम प्रविधि प्रयोग गरी विश्लेषण गरेका छौं। जलवायु परिवर्तनको असरसँग जुध्ने कार्यक्रम तयार पारेर प्रभावकारी कार्यान्वयन गर्न सकिएन भने विकराल अवस्था आउने आकलन छ,' कार्कीले सेतोपाटीसँग भने, 'जलवायु परिवर्तनको असर विश्वव्यापी छ। भविष्यमा यसको असर कस्तो पर्ला भनेर विभिन्न अध्ययन भएका छन्। तर नेपालमा पाटेबाघमा पर्न सक्ने असरबारे यो पहिलो अध्ययन हो।'
केही वर्षअघि चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जलवायु परिवर्तनले एकसिंगे गैंडामा पार्ने प्रभावबारे अध्ययन गरेका थिए।
नेपालमा पर्सा, चितवन, बर्दिया, बाँके, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र यी निकुञ्ज नजिकका राष्ट्रिय वनहरू बाघका वासस्थान हुन्। पछिल्लो गणनामा बाघ बढी देखिने तीन हजार ९९४ स्थानमा क्यामरा राखिएको थियो। यो अध्ययनमा तीमध्ये पनि प्रभावकारी एक हजार ४३७ विन्दु समावेश गरिएको कार्कीले बताए।
अध्ययनमा सो क्षेत्रमा हुने वर्षा, तापक्रम, भिरालोपन, मोहडा लगायत दस वटा आधारभूत विषय समावेश थिए। देशको तत्कालीन अवस्थाको सामाजिक, आर्थिक अवस्थालाई पनि आधार मानेर अध्ययन गरिएको छ।
सन् २०२२ को तथ्यांक अनुसार नेपालमा संरक्षित क्षेत्रमा ३ हजार ६२३ र संरक्षित क्षेत्रभन्दा बाहिर २ हजार २ वर्ग किलोमिटर क्षेत्र बाघले वासस्थानका रूपमा उपयोग गरिरहेको छ। यो देशको कुल क्षेत्रफलको ३.८ प्रतिशत हो। यसको ६४ प्रतिशत संरक्षित र ३६ प्रतिशत अन्य वन क्षेत्रले ओगटेको छ।
अवस्था अहिलेकै जस्तो रहेमा (अध्ययनमा सेयर्ड सोसियो–इकोनोमिक पाथवेज (एसएसपिएस)–२४५ नाम दिइएको) सन् २०५० मा संरक्षित क्षेत्रमा ४ हजार १३३ र बाहिर ५ हजार ९४ वर्ग किलोमिटर क्षेत्रलाई बाघले वासस्थान बनाउन सक्ने देखिएको कार्कीले बताए।
सन् २०४१ देखि २०६० सम्मलाई औसतमा सन् २०५० मानिएको हो। यो अवधिमा दुवै क्षेत्रमा बाघको संख्या बढ्छ। तुलनात्मक रूपमा हेर्दा बाघको संख्या संरक्षित क्षेत्र बाहिर अहिलेभन्दा दोब्बर बढी हुन्छ।
सन् २०७० मा संरक्षित क्षेत्रमा ३ हजार ४३७ र बाहिरका वनमा ६ हजार ११२ वर्ग किलोमिटर क्षेत्रलाई बाघले वासस्थान बनाउन सक्छन्। सन् २०६१ देखि २०८० सम्मको अवधिमा बाघ संरक्षित क्षेत्रमा घट्ने, बाहिर बढ्ने देखिन्छ।
सन् २०९० मा संरक्षित क्षेत्रमा ३ हजार २२९ र बाहिर ४ हजार ७०५ वर्ग किलोमिटर क्षेत्र बाघले वासस्थान बनाउन सक्ने देखिएको छ।
सन् २०८१ देखि २१०० सम्म संरक्षित क्षेत्रमा बाघको संख्या अझै घट्छ। बाहिर भित्रभन्दा बढी नै हुने आकलन गरिएको छ।
जलवायु परिवर्तनको असरसँग जुध्न ध्यान नदिएको, सहरीकरण, औद्योगिक करण, वन विनाश लगायत गतिविधिहरू बढेको अवस्थामा (अध्ययनमा शेयर्ड सोसियो–इकोनोमिक पाथवेज (एसएसपिएस)– ५८५ नाम दिइएको) सन् २०९० सम्ममा संरक्षित क्षेत्रभित्र बाघको स्थान ८२० वर्ग किलोमिटरमा खुम्चिनेछ।
त्यतिखेर हाल संरक्षित क्षेत्रभन्दा बाहिर रहेको ३ हजार १३ वर्ग किलोमिटर क्षेत्रलाई बाघले आफ्नो वासस्थान बनाउन थाल्नेछ।
सन् २०५० मा संरक्षित क्षेत्रमा ३ हजार ५०३ र बाहिर ५ हजार ३९२, सन् २०७० मा संरक्षित क्षेत्रमा २ हजार ६ र बाहिर ३ हजार ४१६ वर्ग किलोमिटर क्षेत्र बाघको वासस्थान बन्न सक्ने आकलन कार्की नेतृत्वको समूहले गरेको अध्ययनको छ।
'यसको अर्थ, देशको सामाजिक–आर्थिक अवस्था अहिलेको जस्तै भएमा अबका दिनमा बाघहरूले आफ्नो वासस्थानलाई संरक्षित क्षेत्रबाट बाहिर बढाउँदै लैजान्छन्। सन् २०५० सम्म संरक्षित र बाहिरको वन दुवैमा बाघको संख्या बढ्छ। तुलनात्मक रूपमा बाहिर बढ्न सक्छ। सन् २०७९ र २०९० मा संरक्षित क्षेत्रमा अहिले भन्दा कम क्षेत्रलाई बाघले वासस्थान बनाउँछन्,' कार्कीले भने।
तुलनात्मक रूपमा सरकारको बजेट तथा कार्यक्रमको प्राथमिकतामा पर्ने, नेपाली सेनाको सुरक्षा दिइरहेको क्षेत्रमै संरक्षण चुनौतीपूर्ण बनिरहेको समयमा बाहिर संख्या बढ्नु ठूलो चुनौती बन्ने उनले बताए।
सामाजिक–आर्थिक अवस्था बिग्रिँदा बाघ र मान्छेबीचको दुरी घट्दै जाने उनले बताए।
'हालको वासस्थानदेखि उत्तर–पूर्वतर्फ मान्छेको बसोबास रहेको क्षेत्र नजिक बाघको वासस्थान बन्दै जाने खतरा देखिन्छ। यसले द्वन्द्व बढाउँछ,' उनले भने, 'बढ्दो द्वन्द्वले मान्छे र बाघ दुवैलाई ठूलो असर गर्छ। यसको परिणाम स्वरूप अर्को शताब्दीमा बाघको अस्तित्व नै संकटमा पर्न सक्छ।'
बंगलादेश र रूसमा गरिएका अध्ययनहरूले पनि जलवायु परिवर्तनको गम्भीर असर ती देशका बाघहरूमा पर्ने देखाएका छन्। बंगलादेशमा समुद्रमा पानीको तह बढ्दा र रूसमा हिउँ कम हुँदाको असर बाघमा पर्ने अध्ययनहरूले देखाएका थिए।
कार्की पृथ्वीको तापक्रम बढ्दै जाँदा वन्यजन्तुको प्रजनन क्षमतामा पनि असर पर्न सक्ने बताउँछन्। यसको असर बाघमा मात्रै नभएर उसका सिकार प्रजाति र सिकार प्रजातिको आहारा, वासस्थान, वनस्पतिमा पनि पर्छ।
'जलवायु परिवर्तनले तापक्रम बढ्छ, हिमालमा हिउँको मात्रा घट्छ अनि नदीमा पानीको मात्रा घट्दै जान्छ। पानी कम हुँदाको सबभन्दा धेरै असर त हात्ती र गैंडाजस्ता ठूला शाकाहारी जनावरलाई पर्छ। हात्तीलाई दिनमै २ सय लिटरजति पानी चाहिन्छ। गैंडालाई आहाल बस्न घोल अति आवश्यक हुन्छ। यस्तै असर मृग, हरिणजस्ता साना प्रजाति अनि वनमा पनि पर्छ,' कार्कीले भने, 'वन र सिकार नै मासिएपछि बाघमा पर्न थाल्छ।'
यो अध्ययनमा संलग्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत अभिनय पाठक जलवायु परिवर्तनको असर मान्छेलाई जत्तिकै वन्यजन्तुलाई पनि पर्ने बताउँछन्।
यसको असर वनस्पति, जीवजन्तु र वातावरणबीचको सम्बन्धमा पर्ने उनले बताए।
'नेपालमा धेरैजसो नदी संरक्षित क्षेत्र हुँदै बगेका छन्। वन्यजन्तुका लागि पानीको मुख्य स्रोत नै तिनै नदी हुन्। नदी सुक्दाको असर वन र वन्यजन्तुमा पर्छ। यसले वन्यजन्तुको वासस्थानमा परिवर्तन ल्याउँछ,' पाठकले भने, 'जलवायु परिवर्तनको असरले समग्र पारिस्थितिकीय प्रणाली नै खलबल्याउने भएकाले यसको बढी असर संकटापन्न अवस्थामा रहेका ठूला वन्यजन्तुमा पर्छ। हामीले प्रभावकारी कदम चालिएन भने मान्छेका कारण बाघलाई र बाघका कारण मान्छेलाई असर पर्न थाल्छ। अन्ततः यो बाघहरूका लागि बढी खतरा हुन्छ।'
हाल अध्ययनका लागि अमेरिकामा रहेका पाठकले जलवायु परिवर्तनसँग जोडेर गरिएको अध्ययनले आगामी दिनमा संरक्षणका लागि बनाइने नीति तथा योजनाहरूलाई मार्गदर्शन गर्न सक्ने बताए।
नेपालले सन् २०१० मा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता विश्वमञ्चमा गरेको थियो। यो प्रतिबद्धता पूरा गर्न नेपाल सरकार, अन्तराष्ट्रिय दातृ निकाय तथा गैरसरकारी संस्थाहरूले ठूलो बजेट खर्च गरे।
परिणाम स्वरूप सन् २०१० मा १२१ वटामा सीमित बाघको संख्या बढेर सन् २०२२ मा ३५५ पुग्यो। सन् २०१८ देखि २०२२ सम्मको चार वर्षे अवधिमै बाघको संख्या १२० ले बढेको थियो।
सन् २०२२ को तथ्यांकले चितवन निकुञ्जमा १२८, बर्दियामा १२५, पर्सामा ४१, बाँकेमा २५ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको देखाउँछ।
अध्ययनहरूले चितवन–पर्सा कम्प्लेक्समा १७५ वटा बाघ रहन सक्ने देखाएका छन्। जबकि यहाँ तीन वर्षअघि नै १६९ वटा बाघ भेटिएका थिए। बर्दियामा १३३ वटा, बाँकेमा २८ वटा बाघ रहन सक्ने अध्ययनहरूले देखाएका छन्।
बाघले आफ्नो क्षेत्र कायम गर्छ। क्षेत्र त्यहाँको घाँसे मैदान र आहारा प्रजातिको संख्याको आधारमा निर्क्यौल हुन्छ। पर्याप्त आहारा नपाएमा, अर्को बाघसँगको लडाइँमा पराजित भएमा, घाइते, रोगी, बुढो भएमा बाघले आफ्नो क्षेत्र छाड्न सक्छ। त्यसैले बाघका लागि व्यवस्थित वासस्थान महत्त्वपूर्ण हुने कार्की बताउँछन्।
'बाघको संख्या बढाउन ठूलो रकम खर्च गरियो। त्यो अनुसार तोकिएको अवधिमा संख्या झन्डै तेब्बर पुग्यो। तर संख्या बढेपछि त्यसको व्यवस्थापनमा जति काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन,' उनले भने, 'संरक्षित क्षेत्रका लागि योजना, बजेट पहिलेभन्दा बढी हुनुपर्थ्यो। तर घटाइएको छ। यसले गर्दा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न सकिएको छैन।'
उनले जलवायु परिवर्तनको असरसँग जुध्ने जलवायुमैत्री व्यवस्थापन र स्मार्ट कार्यक्रमहरू तयार पारेर कार्यान्वयन गर्न आवश्यक रहेको बताए।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त संरक्षित क्षेत्रहरूमा जलवायु परिवर्तनलाई केन्द्रमा राखेर योजना बन्न सुरू भएको बताउँछन्। उनले प्राथमिकतामा परिवर्तन गरेर जलवायु परिवर्तनसँग जुध्ने गरी नीति तथा योजनाहरू ल्याउनुपर्ने बताए।
'यस विषयमा अध्ययन, अनुसन्धान नै असाध्यै कम छ। मैले केही समयपहिले एकसिंगे गैंडाको विषयमा अध्ययन गरेको थिएँ। त्यो अध्ययनले जलवायु परिवर्तनको असर गैंडामा बढ्दै जाने देखाएको थियो। अहिले बाघको विषयमा गरिएको अध्ययनको निष्कर्ष पनि त्यस्तै देखियो। त्यसैले अब सबैको ध्यान यतातिर पुग्नुपर्छ,' पन्तले भने, 'हामीले धेरै काम गर्न बाँकी छ। अहिलेको अवस्था हेर्ने हो भने त विगतदेखि चलिआएको कार्यक्रमलाई नियमित गर्न पनि गाह्रो भइरहेको छ।'
अनुसन्धानकर्ता कार्कीले आफ्नो अध्ययन रिपोर्टमार्फत् मानव र बाघबीचको द्वन्द्व कम गर्न हाल कायम रहेको संरक्षित क्षेत्रलाई विस्तार गर्नुपर्ने सुझाव दिएका छन्। बाघका वासस्थान जोड्ने जैविक मार्ग तयार पार्नुपर्ने सुझाव पनि उनको छ।
'संरक्षित क्षेत्र विस्तार गर्ने, राम्रो व्यवस्थापन गरेर बाघलाई त्यहाँबाट बाहिर आउन नसक्ने/नपर्ने वातावरण बनाउने र मान्छेलाई विकल्प दिएर जिविकोपार्जनका लागि जंगल जानुपर्ने बाध्यता हटाउनु आवश्यक छ,' कार्कीले भने, 'संरक्षित क्षेत्रमा घाँसेमैदान र सिमसारको राम्रो व्यवस्थापन गर्न सक्ने हो भने आहारा प्रजातिको संख्या बढ्छ। आहाराका लागि बाघ बाहिर निस्किनै पर्दैन।'
उनका अनुसार तराई क्षेत्रमा अहिलेसम्म सामान्य अवस्थाका बाघहरू आहारा खोजीमा मानव बस्ती पस्न थालिसकेका छैनन्। पहाडी क्षेत्रमा चितुवाहरू भने गाउँतिर पस्ने गरेको पाइन्छ। यसको कारण तराईमा आहारा प्रजाति पर्याप्त हुनु, पहाडमा कम हुनु हो।
अहिले मानव बस्तीमा आक्रमण गर्ने ९९ प्रतिशत बाघ आफ्नो क्षेत्र कायम गर्ने क्रममा भालेहरूबीच लडाइँ भएर समस्याग्रस्त भएका, बुढा, रोगी, दाह्रा–नंग्रा नभएर सिकार गर्न नसकेका, माउबाट छुट्टिएका तर क्षेत्र कायम गर्न नसकेका वा सिकार गर्न नसकेका डमरू हुन्। एक प्रतिशत जति झुक्किएर, रिसाएर बाहिर निस्किएको हुन सक्ने उनी बताउँछन्।
'मानव बस्ती नजिकको जंगलमा सिसिटिभी क्यामरा जडान गरेर नियमित निगरानी गर्ने हो भने समस्याग्रस्त बाघबाट हुने क्षति नियन्त्रण गर्न सकिन्छ। यसका लागि ठूलो खर्च पनि लाग्दैन। समस्याग्रस्त बाघ भेटिए तत्कालै उद्धार र उपचार गर्न सकिन्छ। नाजुकै अवस्था भए ल्याएर इन्क्लोजरमा राख्दा हुन्छ,' उनले भने, 'यसो गर्न सके द्वन्द्व घट्छ। बेलैमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन नगरे झन्डै तेब्बर बढी बाघ पुर्याएको हर्ष मनाउँदा मनाउँदै झ्याप्पै संख्या घट्न सक्छ।'
नेपालबाहेक भारत, चीन, भुटान, रूस, बंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटेबाघ पाइन्छन्। विश्वभर सन् १९०० सम्म एक लाख हाराहारी बाघ रहेको अनुमान थियो। त्यो संख्या घटेर सन् २०१० मा तीन हजार २ सय पुगेको थियो।
विश्व वन्यजन्तु कोषको तथ्यांक अनुसार बाघको संख्या सन् २०१६ मा तीन हजार ९ सय र सन् २०२२ मा चार हजार ५ सय पुगेको थियो। सन् २०२५ पछिल्लो तथ्यांक अनुसार विश्वमा बाघको संख्या पाँच हजार ३ सय ५७ पुगेको छ।
विश्वमा सबैभन्दा बढी बाघ भारतमा छन्। भारतमा तीन हजार १६७, रूसमा ७५०, इन्डोनेसियामा ४००, थाइल्यान्डमा १८९, भुटानमा १५१, मलेसियामा १५०, बंगलादेशमा १४६, म्यानमारमा २२, चीनमा २०, भियतनाममा पाँच र लाओसमा दुइटा बाघ छन्।
आइयुसिएनको 'रेड–लिस्ट' मा पाटेबाघ संकटापन्य वन्यजन्तुको सूचीमा छ। नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले बाघलाई संरक्षित वन्यजन्तुमा सूचीकृत गरेको छ।
