जैविक विधिबाट खेतीपाती गर्दै आएका किसान, कृषि अनुसन्धाता एवं वैज्ञानिकहरूको सहभागितामा पोखरामा तेस्रो एसियन बायोडाइनामिक सम्मेलन सुरू भएको छ।
नेपालमा जैविक खेतीपाती गर्दै आएका किसानहरूको अगुवाइमा बिहीबारदेखि भएको सम्मेलनमा जलवायु संकटबाट हिमालय जोगाउने चुनौती, बायोडाइनामिक कृषि प्रणाली र कृषिमा देखिएका संकटका बारेमा कार्यपत्र प्रस्तुती, छलफल तथा अन्तर्कियाहरू हुनेछन्। उनीहरू पोखरा र आसपासमा जैविक विधिबाट खेतीपाती गरिरहेका किसानका खेतबारीमा स्थलगत भ्रमण गर्ने पनि योजनामा छन्।
सम्मेलनमा विभिन्न देशका किसान, कृषि अनुसन्धाता र वैज्ञानिकहरूले आ–आफ्ना अनुभव र ज्ञान आदानप्रदान गर्ने कार्यक्रमका सहभागी किसान रितमान गुरूङले बताए।
बायोडाइनामिक खेती प्रणालीबाट मात्र जलवायु संकटबाट हिमाल जोगाउन सकिने भन्दै उनले यस सम्मेलनबाट जैविक खेती प्रणाली र हिमालको सम्बन्ध केलाउने बताए।
‘हिमालबाट हामीले धेरै लियौं, अब हिमाललाई दिने बेला आएको छ,’ उनले भने, ‘रासायनिक पदार्थको प्रयोगबाट गरिने खेती प्रणालीले हिमाल र वातावरण बिगार्यो, बायोडाइनामिक प्रणालीबाट मात्र खेतीपाती जोगाउन सकिन्छ भनेर यो सम्मेलनको नारा बनाइएको छ।’
रासायनिक पदार्थको अत्यधिक प्रयोगले पारिस्थितिकीय प्रणाली, खेतीयोग्य जमिन र हिमतालहरू तीव्र गतिमा हराउँदै गएको भन्दै सम्मेलनले बायोडाइनामिक कृषिबाट साझा समाधान दिन सक्ने सहभागीहरूले विश्वास गरेका छन्।
दुई सातासम्म चल्ने सम्मेलनको नेतृत्व बायोडाइनामिक कृषिको विश्व संस्था स्वीट्जरल्याण्डस्थित गोथेआनमक प्रमुख एडवार्डो रिकनले गरेका छन्।
सम्मेलनमा स्वागत मन्तव्य राख्दै रिकनले खेतीपाती गर्ने तरिका परिवर्तन गर्न आवश्यक रहेको बताए।
पौष्टिक खाना उत्पादन गर्न सबै मिलेर अघि बढ्नुपर्ने भन्दै उनले खेतीपातीमा मानवता र विज्ञानसम्मत प्रणाली अपनाउनुपर्ने विचार राखे।
हिमालयमा आएका संकट समाधान गर्न मानिसले आफ्नो उपचार गर्नुपर्ने भन्दै उनले बायोडाइनामिक प्रणालीको खेतीपाती नै यसको उपचार भएको बताए।
‘जसरी पृथ्वी बन्जर बन्दै गएको छ, त्यसरी नै हाम्रो जीवन पनि बन्जर बनिरहेको छ,’ उनले भने, ‘हिमालको उपचार हाम्रो उपचारबाट सुरू हुन्छ। जब हामी आफैलाई निको पार्छौं, तब मात्र हामी पृथ्वीलाई निको पार्न सक्छौं।’
सम्मेनलमा नेपाल र भारतका विभिन्न उत्पादनहरूको प्रदर्शनी समेत गरिएको छ।
सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, भियतनाम, ताइवान, थाइल्याण्ड, अस्ट्रेलिया, न्युजिल्याण्ड, जर्मनी, चिली, ब्राजिल, फिलिपिन्स लगायतका देशबाट जैविक खेती गरिरहेका किसान, कृषि अनुसन्धानता र वैज्ञानिकहरूको सहभागिता छ।
२२ देशका २०० जना सहभागी सम्मेलनमा सहभागी छन्।
सम्मेलनको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरूङले गरेका थिए।