सर्भे लिंकमार्फत बैंक खातामा पहुँच पुर्याएर रकम ठगेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको एसपी दीपकराज अवस्थीले जानकारी दिए।
सिन्धुपाल्चोकका ४० वर्षीय राजन गिरी, ओखलढुंगाका २६ वर्षीया मिना लकान्द्री र भारत बिहारका २६ वर्षीय आदित्य कुमार पक्राउ परेका हुन्। तीनै जनालाई प्रहरीले ठमेलबाट पक्राउ गरेको हो।
उनीहरूबाट प्रहरीले क्यासिनो कार्ड, मोबाइल, एटिएम, सिमकार्ड लगायत बरामद गरेको छ।
एसपी अवस्थीका अनुसार उनीहरूले फेसबुक लगायत सामाजिक सञ्जालमा कुनै बैंकको सर्भे गर्ने लिंक बनाएर स्पोनसर गरेका थिए।
यसरी स्पोन्सर गरिएको पोस्ट धेरै प्रयोगकर्ताहरूमाझ पुग्छ।
यसरी पठाइएको लिंकमा कुनै व्यक्तिले क्लिक गरेपछि बैंक खातामा पुग्ने प्रयास गरिएको खुलेको हो।
‘बैंक खाताको ओटिपीसम्म लिएर पहुँच पुर्याएर रकम अर्को बैंकमा रकमान्तर गर्ने गरेको पाइयो,’ एसपी अवस्थीले भने।
अहिलेसम्म चार जनाले ब्युरोमा निवेदन दिएका छन्। उनीहरूले संगठित रूपमा अपराध गरेको प्रहरीको भनाइ छ।