नेपाल जेनजी फ्रन्टले फागुन २१ गते हुने निर्वाचनलाई लक्ष्य गर्दै राष्ट्रिय परिचय पत्रको आधारमा मतदान गर्ने व्यवस्था सुनिश्चित गर्न माग गरेको छ।
शुक्रबार फ्रन्टले निर्वाचन आयोग र नेपाल सरकारसँग राष्ट्रिय परिचय पत्रकै आधारमा नागरिकलाई मतदान गर्न दिने व्यवस्था मिलाउन माग गरेको फ्रन्टकी संयोजक रक्षा बमले जानकारी दिइन्।
बमले एक विज्ञप्ति जारी गर्दै मतदाता परिचयपत्र नामावली दर्ता तथा बायोमेट्रिक्स गर्न जिल्लाकै सदरमुकाम जानुपर्ने जटिलता रहेकाले निर्वाचनप्रति उत्साह नदेखिएको बताइन्।
‘निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म नयाँ दर्ता गर्न सकिने भनेकोमा दर्ताका लागि अब ९ दिन मात्रै बाँकी छ। अहिलेसम्म जम्मा १ लाख ३६ हजार नयाँ मतदाताले दर्ता गरेको तथ्यांक आएको छ। यस्तो परिस्थितिले समग्रमा जेन-जी विद्रोह र युवाहरूको मर्मलाई समेट्न नसक्ने देखिएको छ। लोकतन्त्रमा सकेसम्म धेरै नागरिकको मताधिकार सुनिश्चित गर्न सके मात्रै प्रणालीको सबलीकरण र सुदृढीकरण हुँदै जान्छ,’ उनले भनिन्।
फ्रन्टले उक्त विज्ञप्तिमार्फत सरकार र निर्वाचन आयोगलाई यस प्रक्रियालाई सहजीकरण गर्न अनुरोध गरेकी छन्।
‘यस समस्यालाई समाधान गर्न र आउँदो चुनावमा नागरिकको मताधिकार सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्रको तथ्यांकका आधारमा निर्वाचन केन्द्रमै बायोमेट्रिक्स रूजु गरेर मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकार र निर्वाचन आयोगसमक्ष जोडदार माग गर्दछौ,’ उनले भनिन्।
राष्ट्रिय परिचयपत्रमार्फत नागरिकले एकपटक बायोमेट्रिक्स विवरण दिइसकेको अवस्थामा त्यसैका आधारमा मतदान गर्न दिँदा फर्जी मतदानको समस्या नहुने र मतदातालाई समेत सहज हुने फ्रन्टको धारणा छ।
‘अहिलेको मतदाता दर्ता प्रक्रियाले जेन-जी विद्रोहले जन्माएको नागरिक सरकार र युवापुस्ताको प्रतिनिधित्वको भावना कमजोर पार्ने जोखिम रहेको छ। हामीले दिएको सुझाव कार्यान्वयन गर्न सके निर्वाचनमा युवा र समग्र नागरिकको सहभागिता समेत बढाउन सकिन्छ,’ उनले भनिन्।