कपिलवस्तुमा दुइटा मोटरसाइकल ठोक्किँदा एउटा मोटरसाइकलमा सवार प्रहरी सहायक हवलदारको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी–तौलिहवा सडक खण्डको लवनीस्थित सुद्धोधन गाउँपालिका वडा नं. ३ को कार्यालय नजिकै दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा प्रहरी सहायक हवलदारको मृत्यु भएको हो।
दुर्घटनामा परि कपिलवस्तुका वाणगंगा नगरपालिका वडा नं. ४ कोपवामा कार्यरत प्रहरी सहायक हवलदार राम विलास यादवको मृत्यु भएको हो। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ७ टिकर निवासी यादव हाल प्रहरी चौकी कोपवामा कार्यरत थिए।
प्रहरीका अनुसार शुक्रवार दिउसो ३ बजेतिर लवनीबाट तौलिहवातर्फ जाँदै गरेको यादव बसेको लु २७ प २०८५ नं. को मोटरसाइकल र तौलिहवाबाट लवनीतर्फ आउँदै गरेको लु ८३ प ७६९२ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।
दुई वटा मोटरसाइकल ठोक्किँदा लु २७ प २०८५ नं. को मोटरसाइकलको पछाडि बसेका यादव सडकमा पल्टिएलगत्तै लवनीबाट तौलिहवा तर्फ जाँदै गरेको ना ६ ख ७७१९ नं. को ट्रकले पुनः ठक्कर दिएको थियो।
मोटरसाइकल र ट्रकको ठक्करपछि तत्काल तौलिहवा स्थित कपिलवस्तु अस्पताल पुर्याइएकोमा चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार यादव चढेको मोटरसाइकलका चालक रोहिणीका ३१ वर्षीय निरञ्जन यादव र उनलाई ठक्कर दिने मोटरसाइकलमा सवार कालिकोटको शुभ कालिका गाउँपालिका वडा नं. ५ का ३२ वर्षीय उमाकान्त अधिकारी घाइते छन्।
प्रहरीले यादवलाई ठक्कर दिने मोटरसाइकल, ट्रक र ट्रकका चालक कपिलवस्तुको बुद्ध भूमि नगरपालिका वडा नं. २ बडहराका ३२ वर्षीय शम्भु थारुलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले दुर्घटनामा परि मृत्यु भएका यादवको शवलाई पोस्टमर्टम र जिल्ला प्रहरी कार्यालयमा श्रद्धाञ्जलीपछि अन्तिम संस्कारको लागि परिवारको जिम्मा लगाएको जनाएको छ।