दाङ प्रहरीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते तोडफोड र आगजनीमा संलग्न थप चार जनालाई पक्राउ गरेको छ।
आपराधिक प्रवेश तथा आपराधिक उपद्रव गरेको अपराधमा प्रहरीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।
जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड, लुटपाट र आगजनी गरी क्षती पुर्याएको आरोप घोराही–१८ का २४ वर्षीय संजित घर्ती मगर र पाल्पाको माथागढी गाउँपालिका–४ झडेवाका १८ वर्षीय विशाल नेपाली पक्राउ परेका हुन्। उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट सात दिनको अनुमति प्राप्त गरेको छ।
त्यस्तै, जिल्ला अदालत दाङ र इलाका प्रहरी कार्यालय नारायणपुरमा तोडफोड, लुटपाट र आगजनी गरेको आरोपमा प्रहरी थप दुई जनालाई पक्राउ गरेको छ।
घोराही–१५ शहिद गेटका २८ वर्षीय विकास भुषाललाई जिल्ला अदालतमा तोडफोड, आगजनी गरेको आरोपमा पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय नारायणपुरमा तोडफोड, चोरी र आगजनी गरेको आरोपमा घोराही–१० नारायणपुरका १९ वर्षीय अनिल विक पक्राउ परेका छन्।
डिएसपी शाहका अनुसार आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धि कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतले उनीहरूलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ। पक्राउ परेका सबै माथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यसअघि भदौ २४ को जेनजी आन्दोलनका क्रममा विभिन्न कार्यालयमा तोडफोड, चोरी र आगजनी गरेको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरि सकेको थियो। हालसम्म प्रहरीले तोडफोड, लुटपाट र आगजनी गरेको आरोपमा २४ जनालाई पक्राउ गरि सकेको छ।