सशस्त्र प्रहरी बल नेपालका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २ सय १५ वटा बिओपी स्थायी हुने भएका छन्।
संगठनले हालै गरेको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण पास भएसँगै यी कार्यालयहरू स्थायी हुने भएका हुन्।
पहाडी जिल्लामा रहेका आश्रित गुल्महरू स्थायी भएसँगै कानूनी र प्रशासनिक रूपमा थप जिम्मेवार हुँदै जिल्लाको शान्ति सुरक्षा कायम गर्ने कार्य प्रभावकारी हुने सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।
यसैगरी कुरिनटारमा रहेको ट्रमा सेन्टर, सातै वटा प्रदेशमा रहेका फिल्ड अस्पताल समेत स्थायी संरचनामा सञ्चालन हुने भएका छन्।
यसअघि सशस्त्र प्रहरी बल नेपालका १ सय ११ वटा कार्यालय मात्र स्थायी रहेकोमा यो निर्णयसँगै स्थायी कार्यालयको संख्या ३ सय ९६ वटा पुगेको डिएसपी थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपालको सांगठनिक सुधार तथा केही पदको समायोजन र विभिन्न कार्यालयहरूको स्तरवृद्धि गरी नयाँ संरचना तयार गरिएको छ।
संरचनामा कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गणको स्तरवृद्धि गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा रहने गरी सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको छ।
यसबाट काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्न थप सहजता हुनेछ। आठ सय जनाभन्दा बढी जनशक्ति रहने उक्त गणबाट हुल तथा दंगा व्यवस्थापनका लागि विशेष तालिम प्राप्त सुरक्षा फौज ठूलो संख्यामा एकै पटक परिचालन गर्न सहजता हुनेछ।
त्यसैगरी विशिष्ठ व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान तथा कूटनीतिक नियोग समेतको सुरक्षा हेर्ने गरी काठमाडौं कान्तिपथस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्मलाई गणमा स्तरोन्नति गरिएको छ।
यसबाट ती निकायहरूमा सुरक्षार्थ सोही प्रकृतिका तालिम प्राप्त सुरक्षा फौज परिचालन हुनेछन्। यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डाक्टरको कमाण्ड रहेकोमा अब प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक डाक्टरले कमाण्ड गर्नेछन्। स्थायी भएसँगै ती अस्पतालबाट आम सर्वसाधारणले समेत स्वास्थ्य सेवा पाउने छन्।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको कानून महाशाखालाई निर्देशनालयमा स्तरोन्नति गरी सशस्त्र प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप गरिएको छ।
विपद् व्यवस्थापनको म्याण्डेटलाई थप प्रभावकारी बनाउनको लागि विपद् व्यवस्थापन महाशाखालाई निर्देशनालयमा स्तरबृद्धि गरी सशस्त्र प्रहरी नायव महानिरीक्षकको दरबन्दी थपिएको छ।
नेपाल सरकारलाई कुनै थप आर्थिक भार नपर्ने गरी आन्तरिक रूपमा समायोजन गरिएका यी पदहरूसँगै जवानदेखि माथि सबै दर्जामा ३ सय जना भन्दा बढीको वृत्तिविकास हुने सह-प्रवक्ता डिएसपी थापाले बताए।
यसमा लामो समयसम्म एउटै दर्जामा रहेका प्राविधिक जनशक्ति समेत बढुवा हुनेछ।
यसैगरी इन्टेलिजेन्स ब्यूरोको कामकारबाहीलाई थप प्रभावकारी बनाउको लागि अधिकृतस्तरका ३८ जनासहित सशस्त्र प्रहरी नायब महानिरीक्षकको कमाण्डमा रहने गरी दरबन्दी थप गरिएको छ। ब्युरोमा अब जुनियर अधिकृत तथा सोभन्दा माथिका जनशक्ति मात्र रहने छन्। जसले इन्टेलिजेन्स बेश बोर्डर सुरक्षाको अवधारणालाई थप प्रभावकारी बनाउने छ। योसँगै सशस्त्र प्रहरी बल नेपालमा ३ जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप भएको छ भने नं. १८ निलबाराही गण कीर्तिपुर रेजिमेन्टको स्तरोन्नतिसँगै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको समेत दरबन्दी थप भएको छ।
सशस्त्र प्रहरी बल नेपालको सांस्कृतिक तथा बाध्यवादन गुल्मलाई समेत स्तरवृद्धि गरी सांगीतिक शिक्षालय बनाई सशस्त्र प्रहरी उपरीक्षकले कमाण्ड गर्ने गरी दरबन्दी समायोजन गरिएको छ।
यसैगरी सशस्त्र प्रहरी बलका १० वटा तालिम शिक्षालयहरूको असमान दरबन्दी संरचनालाई समेत समान संरचना बनाइने भएको छ।
अब सबै शिक्षालयमा दरबन्दी संख्या एउटै हुनेछ। यसका साथै प्राविधिक समूहतर्फका विल्लादार जवानहरू १५/१६ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यतालाई सम्बोधन गरी समायोजनको काम समेत अघि बढाइएको छ भने १६ र १८ वर्षमा पेन्सन हुने प्रस्तावलाई समेत उच्च प्राथमिकतामा राखी छलफल अगाडि बढाइएको छ।
नियमावली संशोधन, विपद्मा खटिदा मृत्यु भएमा एक तह बढुवासहित पारिवारिक निवृत्तिभरण उपलब्ध गराइने
सशस्त्र प्रहरी बल नेपालको चौंथो संशोधन नियमावली, २०८२ मा विपद्मा खटिँदा मृत्यु भएका कर्मचारीलाई एक तह बढुवासहित पारिवारिक निवृत्तिभरण उपलब्ध गराइने व्यवस्था भएको छ। यसअघि सो नियमावलीको नियम ७६ को उपनियम २ मा कुनै प्रकारको सशस्त्र मुठभेड वा आक्रमण वा विष्फोटन वा हतियारधारी समूह वा त्यस्तै अन्य समूहको समूह विरूद्धको कारबाहीमा तत्काल वा सोही कारणले मृत्यु भएमा सो सुविधा व्यवस्था भएकोमा अवोरान्त विपद् उद्धार कार्यमा खटिएका बखत मृत्यु भएमा समेत सोही सुविधा उपलब्ध हुनेछ।