काठमाडौंको माइतीघर मण्डलमा ९ दिनदेखि बसिरहेका यादव सिंहले आमरण अनसन तोडेका छन्।
बिहीबार साँझ घाइते जेन-जी मदन कार्की र विजेश तामाङको हातबाट जुस खाएर उनले आमरण अनसन तोडेका हुन्।
गृह मन्त्रालयको उपसचिव रविन्द्र आचार्य र स्वकीय सचिव धिरज जोशीको उपस्थितिमा माग सम्बोधन गरिदिने प्रतिबद्धता पत्र लिएर आएपछि अनसन तोडेको यादवले जानकारी दिए।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख ईश्वराज पौडेल, स्वास्थ्य मन्त्री सुधा गौतम र गृहमन्त्री ओम प्रकाश अर्यालले माग पूरा गरिदिने प्रतिवद्धता व्यक्त गरेका छन्। साथै प्रधानमन्त्री सुशीला कार्कीले पनि माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
यादव कात्तिक २५ गतेदेखि आमरण अनसन बसेका थिए।
उनी भदौ २३/२४ गते जेनजी आन्दोलनको क्रममा प्रहरीको गोलीबाट मारिएका र घाइतेहरूको माग सम्बोधन गर्न आमरण अनसन बसेका थिए।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई तुरून्त पक्राउ गरी कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर्नुपर्ने, जेनजी आन्दोलनलाई कु-शासन र भ्रष्टाचार विरूद्धको जनआन्दोलन घोषणा गर्नुपर्ने र भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय सम्पत्ति छानबिन न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेका छन्।