मन्थली नगरपालिका–८ का दिलबहादुर रम्तेल पिँढीमा बसेर ताप्के मस्काउँदैछन्। दैलो छेउमा लौरो ठडिएको छ। दिलबहादुरको अवस्था हेर्दा त्यो लौरो उनको हिँड्ने सहारा हो भन्ने अनुमान लगाउन गाह्रो छैन।
उनका तीन जना छोरा र चार जना छोरी छन्। काठमाडौंमा व्यवसाय गर्ने छोराहरू दसैं–तिहारमा मात्रै आउँछन्। घरमा अक्सर दिलबहादुर एक्लै हुन्छन्।
दिलबहादुरकी श्रीमती उहिल्यै बितिन्। दुई वर्षअघि उनी छोरा–बुहारीसँग बस्न काठमाडौं गए। तर ६ महिनाभन्दा धेरै टिकेनन्।
'उनीहरूले जति माया गरे पनि काठमाडौं बस्दा उकुसमुकुस भयो,' उनले भने।
दिलबहादुरको आडैको घरमा ताला लागेको छ। माथ्लो घरमा पनि कोही छैनन्। भूकम्पपछि बनेका यो गाउँका धेरै घर दुरूस्त छन्, तर मान्छे छैनन्।
६३ वर्षका रम्तेल भन्छन्, 'उ बेला घर थोरै भए पनि मान्छे घरभरी थिए। मेलापात निस्कँदा रमाइलो थियो। भूकम्पपछि गाउँको अवस्था फेरियो। भूकम्पले घर भत्काएका वा बस्न नमिल्ने भएकाहरूलाई सरकारले तीन लाख रूपैयाँ अनुदान दियो। त्यो अनुदानबाट धेरैले घर बनाए तर आफू बसेनन्। नयाँ घरमा ६ महिना नबसी धेरै मान्छे काठमाडौंतिर गए।'
रम्तेलका गाउँबाट जवान मान्छे विदेश, मधेस र काठमाडौं गएका छन्। चाडपर्वमा आक्कलझुक्कल आउँछन्।
'कोही हिँडेर, कोही मरेर सकिए,' रम्तेलले भने, 'दुई–चार सालपछि को रहला र गाउँमा!'
२०७२ को भूकम्पपछि रामेछापको गोकुलगंगाका मकरबहादुर कार्कीका छोरा–बुहारी पनि काठमाडौं गए। केही समयपछि आमाबाबुलाई पनि छोरा–बुहारीले भक्तपुरको सूर्यविनायकस्थित डेरामा बोलाए। डेरामा पुगेको केही दिनमै यो वृद्ध जोडीलाई गाउँको माया, ब्याँसी खेत, तारे गोरू र कैली भैंसीको सम्झनाले तान्यो।
उनीहरू ६ महिनामै घर फर्किए। घर सफा गरे। ब्याँसी स्याहारे। भैंसी र गोरूलाई स्याहार–चाकर गरेर खेतीपाती गर्न थाले। उनीहरू आफै मात्र पालिएनन्; छोराछोरीलाई पनि चामल, सब्जी, घिउ बसमा हालेर पठाए।
तीन वर्षअघि यी वृद्धवृद्धालाई हातपाउ चलाउन धौ–धौ हुन थाल्यो। खेती गर्न छाडे। गोरू र भैंसी बेचे। त्यसपछि उनीहरू काठमाडौंमा रहेका छोराबुहारीमै आश्रित छन्।
'छोराबुहारीले कहिले पैसा त कहिले चामल तरकारी, घिउ पठाइदिन्छन्। बसले घरै छेउमा सामान झारिदिन्छ,' ७३ वर्षका कार्की भन्छन्, 'कहिलेकाहीँ त बुहारीले पकाएको मासु पनि काठमाडौंबाटै पठाइदिन्छे।'
अहिले उनीहरूसँग छोराछोरी बिनाको पुरानो घर र चौपाया बिनाको रित्तो गोठ मात्र छ।
निर्जन बनेपछि गाउँमा धेरै कुरा फेरिएका छन्, धेरै अप्ठ्यारा आइलागेका छन्।
मन्थली-८ द्वारे टोलका रित्ता घरहरू। यहाँका मानिस बसाइँ सरेर कोही काठमाडौं, कोही मधेस त कोही विदेश गएका छन्। तस्बिर: नवराज श्रेष्ठ,रामेछाप
पसलमा बिक्री छैन
रामेछापको सुनापती गाउँपालिका–३ को जोशी जनरल खाद्य स्टोरमा एक दशक अघिसम्म ग्राहकको घुइँचो लाग्थ्यो — चामल, ग्यास, तेल र चाउचाउ–बिस्कुट किन्नेको।
२०७२ सालमा भूकम्प आएको करिब ६ महीना त झन् धेरै घुइँचो लाग्यो। त्यसपछि पसल सुनसान हुँदै गयो। दाल, चामल, तेलको बिक्री घट्दै गयो।
'यही पसलबाट महिनामा ५० बोराभन्दा बढी चामल बिक्थ्यो। दाल २० बोरा जति। हिजोआज महिनामा मुस्किलले ५-७ बोरा चामल बिक्छ। दाल एक बोराजति,' राजु जोशी भन्छन्।
पसलबाट सामानको बिक्री यसरी घट्नुको कारण अरू केही होइन, गाउँमा मान्छे घटेपछि व्यापार सुकेको हो।
'१० वर्ष अघिसम्म ग्राहकको भीडले खाना खाने फुर्सद हुँदैनथ्यो, चार जना सहयोगी राखेको थिएँ,' जोशीले भने, 'अहिले एक जना मात्र छ।'
काठमाडौंबाट गाडीमा करिब १३९ किलोमिटर यात्रा गरेपछि पुगिने रामेछापका धेरै मानिस काठमाडौं, भक्तपुर वा ललितपुरमा बसोबास गर्छन्। यीमध्ये युवा धेरै छन्। कोही रोजगारी र अध्ययनका लागि विदेश पुगेका छन्। काठमाडौं बस्नेले गाउँमा रहेका बाबुआमालाई खाद्यान्न र लत्ताकपडा किनेर पठाइदिन्छन्।
गोकुलगंगाका उद्धव कार्की काठमाडौंबाट छोराछोरीले बाबुआमालाई लत्ताकपडा र दैनिक उपभोगका वस्तु पठाइदिन थालेपछि यहाँको बजार झन् सुनसान भएको सुनाउँछन्।
'यहाँ थोरै मान्छे छन्, भएकाहरूले पनि कमै खरिद गर्छन्,' कार्कीले भने, 'काठमाडौंबाटै छोराछोरीले लत्ताकपडा र खाद्यान्न समेत पठाइदिएपछि यहाँ कसले किन्ने?'
बजारे सामान काठमाडौंबाट गाउँ पठाउँदासम्म त कार्कीलाई ठिकै लागेको थियो। तर सागसब्जी र दाल–चामल पनि काठमाडौंबाट आएको देख्दा चाहिँ समय उल्टो पो आयो कि जस्तो लाग्न थालेको छ। उनी भन्छन्, 'बसाइँसराइले त्यसै निस्ताएका हाम्रा गाउँघरले खाद्यान्न उब्जाएर सहर पठाउनुपर्नेमा उल्टै सहरबाट गाउँमा आइरहेको छ।'
रामेछापका पत्रकार नवराज पथिक वैदेशिक रोजगारीका कारण पनि किसानसँग कृषि उत्पादनको सम्बन्ध टुट्दै गएको देख्छन्।
'अधिकांशका घरमा खाडी मुलुक र मलेसियाबाट रेमिटेन्स भित्रिन्छ,' पथिक भन्छन्, 'गाउँका खेतबारी बाँझा छन्। गाई गोठ र कुखुराका खोर भत्किएका छन्। गाउँका मानिस मन्थलीबाट साग र ब्रोइलर कुखुरा किनेर लैजान्छन्। खासमा गाउँबाट साग र लोकल भाले मन्थली ल्याउनुपर्ने हो।'
मन्थलीका दिलबहादुर रम्तेल गाउँमा मान्छे थोरै भएपछि बाँदरले पनि मान्छेलाई हेप्न थालेको सुनाउँछन्।
कोठेबारीमा लगाएको सिमीको झाल जोगाउन पनि उनलाई हम्मे छ। काम गर्ने मान्छे नहुँदा र बाँदरले बाली खाइदिँदा उनको ६२ रोपनी जग्गा पाँच वर्षदेखि बाँझो छ।
रम्तेल भन्छन्, 'अन्न किन्ने पैसा छोराबुहारीले पठाउँछन्। लुगा उतैबाट ल्याइदिन्छन्।'
मन्थली-८ का दिलबहादुर रम्तेल। तस्बिर: चेतन अधिकारी
छोरा-बुहारी काठमाडौं सरेपछि उनी एक्लै घरमा छन्। दिलबहादुरको छिमेकमा ताला लगाइएका घर। २०७२ को भूकम्पले घर भत्काएपछि सरकारी अनुदानमा बनाइएका यी घर अहिले रित्ता छन्।
बसमा मान्छे छैनन्
अरनिको यातायातले काठमाडौंबाट रामेछाप र रामेछापबाट काठमाडौं मान्छे ओसार्न थालेको ३० वर्षजति भयो।
उ बेला बसमा खचाखच मान्छे हुन्थे। छतमा पनि मान्छे हुन्थे। बिस्तारै छतका यात्रु सिटमा अट्न थाले। त्यसपछि गाडीका सिट खाली हुन थालेको पनि एक दशक पुग्न थाल्यो।
काठमाडौं र बनेपाबाट रामेछाप हुँदै ओखलढुंगाको पश्चिमी भाग र दोलखाको पूर्वी भागमा मान्छे ओसार्न अरनिको यातायातका ४० वटा बस दिनैपिच्छे ओहोरदोहोर गर्छन्। एउटा बसमा ३१ वटा सिट छन्। तर यति बेला १५/२० वटा सिट मात्र भरिन्छन्।
अरनिको यातायातका रामेछाप इन्चार्ज सुवास फुँयाल भन्छन्, 'हाम्रा गाडी भरिन दसैं–तिहार, कसैको दिवाली, कुलपूजा वा वृद्धभत्ता झिक्ने बेला हुनुपर्छ।'
अरनिको यातायातको चाबहिल काउन्टरका कर्मचारी केदार पन्त यात्रु घटेपछि दुई–तीनवटा गाडीका मान्छे एउटैमा हालेर लैजाने गरेको सुनाउँछन्।
दस वर्षदेखि अरनिको यातायातका विभिन्न स्टेसनमा टिकट काट्ने काम गर्दै आएका पन्तका अनुसार यस अवधिमा सार्वजनिक यातायातमा करिब ३० देखि ३५ प्रतिशत यात्रु घटे।
'गाउँमा पहिलाकै अनुपातमा मान्छे हुन्थे भने अहिले गाउँगाउँ बाटो पुग्दा हामीले अरू २० वटा गाडी थप्नुपर्थ्यो,' उनले भने।
उद्योग वाणिज्य संघ रामेछापका पूर्वअध्यक्ष शम्भू श्रेष्ठ। तस्बिर: चेतन अधिकारी
रित्ता घर, उराठ गाउँ
राष्ट्रिय जनगणना २०७८ का अनुसार रामेछापमा ८२ हजार ८३ वटा घर थिए। तीमध्ये १४ हजार ४२ वटा अर्थात् १७.५ प्रतिशत घर रित्ता थिए। अहिले गोकुलगंगा र खाँडादेवीका पाँचवटा मध्ये एउटा घर खाली छन्।
मन्थली नगरपालिकाले बालमैत्री नगर घोषणा गर्ने पूर्वाधारको अवस्था बुझ्न गत वर्ष घरधुरी सर्वेक्षण गर्यो। उक्त सर्वेक्षणले ९ हजार ५९० घरमा मात्र मानिसको बसोबास रहेको देखायो।
नगरप्रमुख लव श्रेष्ठ भन्छन्, 'हामी त अचम्म परेका छौं। यति धेरै घरमा मान्छे नहोलान् भन्ने लागेको थिएन। सदरमुकामको नगरपालिका पनि रित्तै भइसक्यो। गाउँतिरको हालत कल्पना गर्नै सकिन्न।'
राष्ट्रिय जनगणना २०७८ ले यस नगरपालिकामा बस्नयोग्य घरहरू १८ हजार ७७२ देखाएको थियो। तीमध्ये २ हजार ७२७ वटा घरमा मान्छे थिएनन्। तीन वर्षअघिको जनगणना र नगरपालिकाले गत वर्ष गरेको सर्वेक्षणको तथ्यांकलाई उस्तै मानेर तुलना गर्ने हो भने मन्थली नगरपालिकामा तीन वर्षको अवधिमा मात्रै आधाभन्दा बढी घर खाली भएका छन्।
रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शम्भु श्रेष्ठका अनुसार नगरपालिकाभित्रै ७५ प्रतिशत घरमा बूढाबूढी मात्र छन्। २५ प्रतिशत जति घर रित्तै छन्।
करिब ३० वर्षदेखि रामेछाप डाँडामा पसल गरेर बसेका श्रेष्ठका अनुसार सुरूमा माओवादी द्वन्द्वले गाउँबाट मानिसहरूको बास उठ्यो। ज्यान जोगाउन सदरमुकाम आएका मान्छेले यतै रोजीरोटीको मेलो समाए।
रामेछाप र मन्थली पसेका द्वन्द्वपीडितहरू बिस्तारै काठमाडौंतिर पस्न थाले। २०६३ मा द्वन्द्व त समाप्त भयो तर त्रास कायमै रह्यो।
'२०६५/६६ सालदेखि आफ्नो घर फर्कन सक्ने स्थिति बनुन्जेल उनीहरूले आफ्नो भविष्य गाउँमा भन्दा सहरमा देख्न थालिसकेका थिए,' श्रेष्ठले भने, 'उनीहरू गाउँ फर्केनन्। बरू गाउँमा भएका आफन्त र छिमेकीलाई सहरतिरै बोलाउन थाले।'
मन्थलीको वडा नम्बर ८ द्वारे टोल बसाइँसराइले आक्रान्त गाउँ हो। २५ घरको यो गाउँमा अहिले १५ वटाजति घरमा ताला लागेको छ।
'पहिला गाउँमा जीवन छ भन्थे मान्छेहरू। अहिले गाउँ नीरस छ,' यही टोलकी किशोरी श्रेष्ठले भनिन्, 'मान्छे झर्ने पहिरो कहाँबाट खस्यो कहाँ पुग्छ हामीलाई थाहा छैन।'
पहिला पहिला चौपाया चराउन जाने, खेतीमा अर्मपर्म गर्ने, बिहान–बेलुका धारा–पँधेरो गर्दा मनका कुरा खोल्ने चलन पनि हराएको छ।
सेती देवी माविमा गणित विषयको शिक्षकका लागि सातौं पटक आह्वान गरिएको सूचना। स्रोत: विद्यालयको फेसबुक पेज
४० वटा विद्यालय बन्द भए
रामेछापमा बसाइँसराइले विद्यालय पनि रित्याउँदैछ। जिल्लाभर २०७८ सालमा पूर्वप्राथमिक कक्षादेखि १० कक्षासम्म ४२ हजार ३७८ विद्यार्थी पढ्थे। चार वर्षपछि २०८२ सालमा २९.२७ प्रतिशत विद्यार्थी घटे।
गोकुलगंगाको सेतीदेवी माविमा दुई वर्षअघि ३०० जना विद्यार्थी थिए। यसपालि ११६ जना मात्र छन्।
वडा नम्बर १ का भालेपोखरी, कुश्मावती र महादेवश्वरी आधारभूत विद्यालयमा कक्षा ४ र ५ मा पढ्ने विद्यार्थी नभएपछि एउटामा कक्षा ३ सम्म पढाइ हुन्छ। अरू दुइटामा त कक्षा १ मा मात्र पढाइ हुन्छ।
लिखु तामाकोशी गाउँपालिकामा वार्षिक कम्तिमा २०० भन्दा बढी विद्यार्थी घटिरहेका छन्। २०७६ सालमा ४ हजार ८०० विद्यार्थी भएको यो गाउँपालिकामा २०८१ सालमा ३ हजार ७४० मात्र विद्यार्थी छन्।
'पाँच वर्षमा ११०० भन्दा बढी विद्यार्थी घटेका छन्,' गाउँपालिकाको शिक्षा शाखा प्रमुख जयकृष्ण चौलागाईंले भने, 'हामीले जतिसुकै गुणस्तरीय शिक्षा दिन खोजे पनि विद्यार्थी बढ्ने स्थिति छैन। बसाइँसराइ मानिसको बाध्यता, मनोविज्ञान र शानको विषय भइसक्यो। अर्कोतिर जन्मदर ओरालो लागेको छ। बच्चा कहाँबाट ल्याउनु र!'
विद्यार्थी घटेपछि विद्यालय बन्द गर्ने क्रम निरन्तर चलेको जिल्ला शिक्षा समन्वय इकाइ रामेछापले जनाएको छ। इकाइले उपलब्ध गराएको तथ्यांक अनुसार यस वर्ष विद्यार्थी नभएर ४० वटा विद्यालय बन्द गरिएको छ। इकाइका प्राविधिक सहायक दिनेश नेपालीका अनुसार १०० वटाभन्दा धेरै विद्यालयमा २० जनाभन्दा कम मात्र विद्यार्थी छन्।
'हिजो धेरै बालबालिका हुँदा खोलिएका विद्यालय अहिले रित्ता भए,' नेपालीले भने, 'यसको पहिलो कारण अत्यधिक बसाइँसराइ हो। दोस्रो कारण जन्मदर घट्नु हो।'
केही स्वास्थ्य केन्द्रहरूको तथ्यांकले पनि यहाँ बच्चा जन्मने क्रम ह्वात्तै घटेको देखाएको छ।
खाँडादेवी गाउँपालिकाको पकरवास स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०७९/८० मा ४९ बच्चा जन्मिएकोमा २०८०/८१ मा ३६ र २०८१/८२ मा २६ जना मात्र जन्मिए। स्वास्थ्य सेवा विभागले यो गाउँपालिकाको वडा नम्बर ५ मा गत वर्ष २२ जना बच्चा जन्मिने अनुमान गरेर सोही अनुसारको औषधि र शल्यक्रिया सामग्री पठाएको थियो। तर यहाँ पाँच जना बच्चा जन्मिए।
'बच्चा जन्मने दर एकदम घटेर गयो। युवाहरू गाउँमा छैनन्। भएका पनि एउटा दुइटाभन्दा बढी बच्चा जन्माउन चाहँदैनन्,' हेल्थ असिस्टेन्ट नवराज श्रेष्ठले भने, 'वैदेशिक रोजगारीले युवाजति विदेशमा छन्। अलि हुनेखानेहरू काठमाडौं गएर डेलिभरी गराउँछन्।'
जिल्ला अस्पताल रामेछापमा तीन वर्षअघि १६१ जना बच्चा जन्मिएकामा पछिल्ला दुई वर्षमा क्रमशः १२७ र १२८ जना जन्मिए।
पहिले यहाँका स्कुलमा यहीँकै शिक्षकले पढाउँथे। अहिले गाउँमा युवा नहुँदा गणित, विज्ञान, अंग्रेजी जस्ता महत्त्वपूर्ण विषयका शिक्षक पाइन छाडेका छन्।
विज्ञान र गणितका शिक्षक नपाएर यहाँका विद्यालयले कति हन्डर खाँदा रहेछन् भन्ने एउटा उदाहरण गोकुलगंगा–९ चुचुरेको सेतीदेवी माध्यमिक विद्यालय हो। उक्त विद्यालयले माध्यमिक तहमा गणित विषय पढाउने शिक्षकको खोजीमा सातौं पटकसम्म विज्ञापन गर्नुपर्यो।
लिखु तामाकोशी–३ को वृखेश्वर आधारभूत विद्यालय खोलमा गाउँले तीन पटक विज्ञापन गर्नुपर्यो।
रामेछापको खाँडादेवी गाउँपालिका, पकरबास स्वास्थ्य चौकीमा जन्मिने बच्चाको विवरण देखाँउदै स्वास्थ्यकर्मी। तस्बिर: चेतन अधिकारी
पालिकालाई थरीथरी समस्या
जनसंख्या घट्दै जाँदा गाउँमा उपभोक्ता समिति गठन गर्न र सामूहिक कार्यक्रम चलाउन गाह्रो हुन थालेको छ।
रामेछाप नगरपालिकाले गत आर्थिक वर्ष बागमती प्रदेश सरकारबाट प्रदेश गृहिणी महिला सशक्तीकरण कार्यक्रम ल्यायो। युवा महिलाहरूलाई सीपमूलक तालिम दिइने यो कार्यक्रममा एउटा समूहमा २० देखि ५५ वर्षका १५ देखि ३० जना महिला हुनुपर्थ्यो। उनीहरूले १५ वटा समूह बनाउने लक्ष्य राखेका थिए। महिला कम भएपछि ९ वटा मात्र समूह गठन गरिएको कार्यक्रमकी सहजकर्ता सरिता बुढाथोकी बताउँछिन्।
नगरपालिकाले सानातिना विकास निर्माणका काम उपभोक्ता समितिमार्फत गराउँछ। समितिको सदस्य हुन ६० वर्षभन्दा कम उमेरको व्यक्ति चाहिन्छ। तर ६० वर्ष नपुगेका मानिस गाउँमा थोरै छन्। उपभोक्ताले श्रमदान पनि गर्नुपर्ने हुनाले युवा नहुँदा झनै समस्या परेको उपमेयर बालकुमारी कार्की थापा बताउँछिन्।
मन्थलीका नगरप्रमुख श्रेष्ठ लक्षित समूहका उपभोक्ताको जनसंख्या नपुग्दा समस्या झेल्नुपरेको बताउँछन्।
'जिल्लाभरकै बासिन्दामध्ये धेरैको एउटा खुट्टा रामेछापमा अर्को खुट्टा काठमाडौंमा छ। यहाँको उपभोक्ता समितिमा बस्ने, काममा खट्ने र कहिलेकाहीं झन्झट समेत व्यहोर्न उनीहरू रूचाउँदैनन्,' उनले भने।
यसै नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखामा कार्यरत रमेश सुवेदी वर्षदिनअघि वडा नम्बर ९ का वडा सचिव थिए। एउटा योजनाको उपभोक्ता समिति बनाउन टोल भेला गर्दा ७० जना उपभोक्ता भेला हुने अपेक्षा थियो। तर आए १४ जना।
'तीमध्ये पनि कतिपय अर्को समितिमा बसेका थिए। पहिलो योजना फरफारक नगरी नयाँ समितिमा बस्न मिल्दैन। एकै घरका दुई जना सदस्यलाई एउटै समितिमा राख्न मिल्दैन,' सुवेदीले भने, 'बसाइँसराइले धेरैतिर असर गर्ने रहेछ।'
कतिसम्म भने, गाउँका मान्छे काठमाडौंतिर हिँडेपछि पालिकाहरूलाई सामाजिक सुरक्षा भत्ता दिन पनि सहरतिरै पुग्नुपरेको छ। रामेछाप नगरपालिकाको वडा नम्बर ७ ले भदौ ६ र ७ गते काठमाडौं र भक्तपुरमा घुम्ती शिविर राख्यो।
सामाजिक सुरक्षा भत्ताको दुरूपयोग नहोस् भनेर यस वर्षदेखि प्रत्येक लाभग्राहीको 'बायोमेट्रिक' अनिवार्य गरिएकाले सेवाग्राही खोज्दै सहरतिर पस्नु परेको नगरप्रमुख न्यौपाने बताउँछन्।
'वडाको रेकर्डमा मान्छे छन्। उनीहरू औपचारिक रूपले बसाइँ सरेका छैनन्,' न्यौपानेले भने, 'तर उनीहरू वर्षौं अघिदेखि यहाँ छैनन्। उनीहरू यहीँका मतदाता हुन्। त्यसैले धेरै नगरवासी जहाँ–जहाँ बसेका छन्, त्यहीँ गएर सेवा दिने बाध्यता हामीलाई आइलाग्यो।'
लिखु तामाकोशी गाउँपालिका-७ का वडाध्यक्ष शिवप्रसाद न्यौपाने। तस्बिर: चेतन अधिकारी
जनसंख्या भन्दा मतदाता धेरै
बसाइँसराइले रामेछापमा अचम्मको तथ्यांक सिर्जना गरेको छ।
२०७८ कात्तिक ९ गते सकिएको जनगणना अनुसार त्यस जिल्लामा १ लाख ७० हजार ६२० मानिस बस्थे। त्यसको एक वर्षपछि २०७९ मंसिरमा भएको संघीय र प्रदेश सभाको निर्वाचनमा मतदाता १ लाख ७८ हजार ८६७ जना थिए।
अर्थात्, त्यहाँ जति मानिस बस्थे, त्योभन्दा धेरै मतदाता थिए। दुईवटा नगरपालिका बाहेक ६ वटै गाउँपालिकामा यस्तो अनौठो तथ्यांक देखियो।
तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार जनगणनामा ६ महिनाभन्दा बढी समय मानिसको बसोबास जहाँ छ, उसको गणना त्यहीँ हुन्छ। त्यसै अनुसार तथ्यांक अद्यावधिक गरिन्छ। तर मतदाता नामावलीमा स्थायी बसोबासका आधारमा नाम संकलन गरिएको हुन्छ। त्यसमा पनि कतिपय बसाइँ सरेर गएका, विदेश गएका वा मरेका मानिसहरूको नाम पनि मतदाता नामावलीबाट नहटाइएको हुन सक्छ।
नेपालभर अनुपस्थित (विदेश गएको) जनसंख्या ७.५ प्रतिशत छ। तर रामेछापको करिब ११ प्रतिशत जनसंख्या विदेशमा रहेको लामिछाने बताउँछन्। यो जिल्लाको कुल जनसंख्यामा जोडिएको छैन।
जनसंख्याभन्दा मतदाता बढी भएको अर्को जिल्ला मनाङ हो।
रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेका अनुसार जिल्लामा अनुपस्थित जनसंख्यामध्ये धेरै औपचारिक रूपमा बसाइँ सरेका छैनन्।
'धेरैजसो बसाइँ सरेर जानेहरूले पनि गएको दुई–चार वर्षपछि मात्र कागज लिन आउँछन्,' न्यौपानेले भने, 'यस अवधिमा उनीहरूको मतदाता नामावली रामेछापमै हुन्छ।'
अस्थायी बसाइँ सरेर गएका तर निर्वाचनको समयमा फर्किने मतदाताका कारण पनि चुनावी परिणाम अप्रत्यासित हुने गरेको राजनीतिक नेताहरू बताउँछन्।
रामेछाप नगरपालिकाकी उपप्रमुख बालकुमारी कार्की थापा। तस्बिर: कार्कीको फेसबुक
यस कारण रित्तिए गाउँबस्ती
जिल्लामा रोजगार नपाउँदा, चाहेजस्तो शिक्षा र स्वास्थ्य सुविधा नहुँदा मान्छे लगालग रामेछाप छाड्दै विदेश, काठमाडौं र मधेसतिर झरे। यसै पनि रामेछाप पानी निकै कम पर्ने जिल्ला हो। यहाँका ६१ वटा वडामध्ये २४ वटालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ।
'यो ठाउँमा धान फल्दैन। मकै, कोदो र मस्याङ मात्र हो यहाँ फल्ने। तल कोशीमा पानी बगेको छ। यता हाम्रा बारी बाँझै छन्,' मन्थली–८ का मदन अछामीले भने।
अछामीका अनुसार खान र सिँचाइका लागि पानी नहुँदा पनि मानिस बसाइँ सरेका हुन्। यद्यपि, मदनका छिमेकी ७५ वर्षीय कालु भुजेलका अनुसार ७/८ वर्षयता खानेपानीको अप्ठ्यारो उतिसाह्रो छैन। खोलाबाट तानेको पानी घरघरमा पुर्याइएको छ। तर सिँचाइको सुविधा छैन।
'हाम्रो खान्की भनेकै च्याँख्ला र गहत थियो,' अछामीले भने, 'उहिलेदेखि यस्तै दुःख भोगेर आएका मान्छे बाटोघाटो आएपछि देश र परदेशतिर लागेका हुन्।'
रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेका अनुसार रामेछापको फेदैफेद बगेको सुनकोशी नदीबाट ठाउँठाउँमा पानी लिफ्टिङ गरेर खानेपानीको गर्जो टार्ने प्रयास भएको छ।
यहाँको खडेरी कति घातक छ भन्ने कुराको एउटा उदाहरण करिब २८ वर्षअघि खुलेर बन्द भएको यहाँको बेल उद्योग हो।
यहाँका जंगलमा प्रशस्त पाइने बेललाई उपयोग गर्ने उद्देश्यले २०५४/५५ सालतिर सामुदायिक वन उपभोक्ता महासंघले तामाकोशी फरेस्ट प्रोडक्ट, प्रोसेसिङ प्रालि सञ्चालन गर्यो। तर तीन वर्षपछि जिल्लामा अचाक्ली खडेरी परेपछि पाखाबारीका बेलका रूख नै मरे। उद्योग बन्द भयो।
'घातक खडेरीले मान्छेलाई यहाँ बस्न दिँदैन। एक–दुई वर्षयता पानी पर्ने क्रम केही बढेको भए पनि त्यसअघि मान्छे बसाइँ हिँड्ने एउटा मुख्य कारण खडेरी हो,' महासंघका अध्यक्ष ज्ञानबहादुर खड्काले भने।
आफ्नो खेतबारीको उत्पादनले खान नपुग्ने र अरू रोजगार पनि नपाएपछि मानिसहरू बसाइँ सरेको लिखु तामाकोशी गाउँपालिकास्थित भृंगेश्वर मावि कोटगाउँका हरिचन्द्र महत बताउँछन्।
'छाक टार्न धौ–धौ भएपछि युवाहरू विदेश लागे। गाउँको बिके बेचे, नबिके बाँझै छोडेर सहरतिरै बसे,' महतले भने।
गाउँमा बाख्रा फार्म, कुखुरा फार्म खोलेकाहरू पनि वैदेशिक रोजगारीको हावाले हल्लाउन थालेपछि यहाँ बस्दैनन्। अर्कातिर सरकारी कामको परम्परागत झन्झट पनि आजकलका युवा मन पराउँदैनन्।
'अस्ति असार २४ गते बाख्रापालन गरिरहेको छिमेकी भाइ ज्ञानबहादुर विकलाई बैंकको लाइनमा भेटेँ,' महतले भने, 'ऊ ऋण थप्न गएको होला भनेको त बैंकको खाता बन्द गर्न पो गएको रहेछ। फार्म बन्द गरेर विदेश जाने तयारीमा रहेछ।'
मन्थली बजारमा चार वर्षदेखि विजय साइनो टेलर्स सञ्चालन गरेर बसेका टले नेपाली पनि विदेश जाने सुरमा छन्। १० लाख रूपैयाँ लगानी गरेर सुरू गरेको व्यवसाय चलाउन नसकिने भएपछि उनले अर्को बाटो रोजेका हुन्।
'व्यापार चौपट भयो,' उनले भने, 'मान्छे नै नभएपछि व्यापारको के आश रह्यो र!'
रामेछाप नगरपालिकाबाट काठमाडौं बसाइँ सरेर ट्याक्सी चालकको काम गरिरहेका भरत तामाङ। तस्बिर: भरतको फेसबुक
रोकिएला त बसाइँसराइ?
गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का बसाइँसराइलाई स्वाभाविक ठान्छन्। मानिसले आफ्नो उन्नति जता देख्छ त्यतै जान्छ भन्ने उनको मान्यता छ।
'हो घरहरू रित्ता भए। मान्छे काठमाडौं गए। विदेश गए। यो मानवीय प्रवृत्तिलाई कसरी रोक्नु र!' उनले भने, 'यहाँबाट मान्छे गए पनि अन्यत्रका मान्छे यहाँ आएर बस्ने वातावरण बनाउन सके हुने हो। तर यसो गर्ने हैसियत स्थानीय सरकारको छैन।'
दस वर्षअघि रामेछाप छाडेर काठमाडौं पुगेका भरत तामाङ भन्छन्, 'गाउँमा पैसा कमाउने मेसो नभएसम्म त्यहाँबाट काठमाडौं आउने र विदेश जाने क्रम रोकिँदैन।'
जिल्ला र गाउँ रित्तिन थालेपछि गएको ११ जेठमा लिखु तामाकोशी गाउँपालिका– ७ का वडाध्यक्ष शिवशक्ति न्यौपानेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बसाइँसराइ रोकिदिनुपर्यो भन्दै ज्ञापनपत्र बुझाए।
'गाउँका धेरै युवा बाहिर छन्। उनीहरूलाई कसरी गाउँ फर्काउने होला? गाउँ नै रित्तिसक्यो। यसको उपाय सुझाइदिनुहोला। बैंकको ऋण सस्तो बनाएर युवालाई कृषि उद्यमका लागि प्रोत्साहित गरिदिनुहोला,' ज्ञापनपत्रमा लेखिएको छ।
मन्थली नगरपालिकाले यस वर्ष तेस्रो बच्चा जन्माउन प्रोत्साहन गर्ने नीति ल्यायो। घट्दो जनसंख्या सन्तुलनमा ल्याउन सकिन्छ कि भनेर यसो गरेको नगरप्रमुख श्रेष्ठ बताउँछन्।
यो नगरपालिकाले तीन वर्ष अघिदेखि कक्षा ११ र १२ मा विज्ञान र गणित विषय लिएर पढ्ने १४ जना विद्यार्थीको शुल्क तिरिदिने गरेको छ। यसबापत १२ कक्षा पढिसकेर कम्तिमा ६ महिना नगरपालिकाले तोकेको विद्यालयमा पढाउनुपर्ने नियम लगाइएको नगरप्रमुख श्रेष्ठ बताउँछन्।
'यसो गर्दा आधारभूत तहमा भए पनि गणित र विज्ञानका शिक्षक पाइएन भनेर विद्यार्थी गाउँ छाडेर जानु नपर्ला भन्ने हाम्रो अपेक्षा हो,' नगरप्रमुख श्रेष्ठले भने।
मन्थली नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष गोपाल श्रेष्ठले २०७९ मा निर्वाचित भएपछि पहिलो निर्णय गरे, बसाइँसराइको प्रमाणपत्र नदिने।
वडाले जति उपाय लगाउँदा पनि मान्छे रोक्न नसकेपछि यस्तो जटिल निर्णय गर्नु परेको उनी बताउँछन्।
'बसाइँसराइ लिन आउने मान्छेलाई आफ्नो गाउँठाउँ छाडेर बिरानो ठाउँमा नजान धेरै सम्झाउँछु,' उनले भने, 'अति धेरै बाध्यतामा पर्नेहरूलाई दिन्छु नत्र सम्झाएर फिर्ता पठाउने गरेको छु।'
लिखु तामाकोशी गाउँपालिका–७ का वडाअध्यक्ष शिवप्रसाद न्यौपानेले पनि बसाइँसराइको प्रमाणपत्र हत्तपत्त दिँदैनन्।
'जान्छु भन्नेजति सबैलाई बसाइँसराइ दियो भने वडामा कोही पनि हुँदैनन्,' न्यौपानेले भने, 'अभरमा परेकालाई त दिनै पर्यो!'
रामेछाप नगरपालिकाले भैंसी पाल्ने कृषकलाई एउटा भैंसी किन्दा ५० प्रतिशत अनुदान दिन थालेको छ। अघिल्लो आर्थिक वर्ष सुरू गरिएको यो कार्यक्रमका लागि नगरपालिकाले ३७ लाख रूपैयाँ छुट्याएको थियो।
'भैंसी अनुदान कार्यक्रमबाट कम्तिमा ३७ जना युवालाई त विदेश जानबाट रोक्यौं भन्ने हामीलाई लागेको छ,' उपमेयर बालकुमारी कार्की थापाले भनिन्, 'सबै स्थानीय तहले युवालाई यतै इङ्गेज गर्ने केही न केही कार्यक्रम ल्याए बसाइँसराइ अलि रोकिन्थ्यो कि!'
तर यतिले मात्रै बसाइँसराइ रोकिएला भन्ने ठान्दैनन् नगरपालिका प्रमुख श्रेष्ठ।
उनका अनुसार काठमाडौंबाट नजिकै भएकाले यहाँ हुने कृषि तथा अन्य उत्पादनलाई बजारको समस्या छैन। तर वैश्वीकरणको यो युगमा युवा आकांक्षालाई छेक्न सानोतिनो प्रयासले सम्भव नहुने उनी बताउँछन्।
मान्छे नै नरहे हामीले कसका लागि राजनीति गर्ने ?
— लव श्रेष्ठ, नगरप्रमुख मन्थली नगरपालिका

रामेछापबाट बसाइँ सरेर जानेहरूको संख्या ठूलो छ। किन यस्तो भएको?
रामेछाप जिल्ला देशभरमै सबभन्दा धेरै बसाइँसराइ हुने जिल्लाका रूपमा चिनिएको छ। यसको ठ्याक्कै कारण हामीले पनि पहिल्याउन सकेका छैनौं। शिक्षा, स्वास्थ्य र रोजगारका कारण पनि बसाइँसराइ भयो होला। गाउँबाटै सदरमुकाम मन्थलीमा आउनेहरूलाई हेर्दा पनि छोराछोरी पढाउनुपर्ने, बिरामी पर्दा उपचार गर्न सजिलो हुने, गाउँघरमा वन्यजन्तुले दुःख दिने आदि कारण देखिन्छ।
अर्कातर्फ देखासिकीले युवाहरू विदेशिने क्रम बढेको छ। अलिक कमाउन सकेकाहरू बालबालिकालाई राम्रो शिक्षा दिन काठमाडौंतिर पुगेका छन्। हामीले पढ्दाखेरि तीन दिन लगाएर सिन्धुलीबाट मट्टीतेल ल्याएर पढ्दा पनि उपलब्धि नै लाग्थ्यो। अहिले घरघरमा बिजुली छ। तैपनि सन्तोष दिन सकेको छैन।
अहिले त हाम्रो शिक्षा गाउँमा पनि राम्रो छ। तर शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने प्रवृत्तिले पनि सामुदायिक शिक्षाप्रति अविश्वास सिर्जना गरेको छ। आममान्छेमा गाउँमा पाइने शिक्षाले भोलि गरिखाने बाटो दिँदैन भन्ने मनोविज्ञान विकास भएर सहरतिर पलायन भएका छन्।
बसाइँसराइ त संसारभर नै हुन्छ तर नयाँ मानिस आउने सम्भावना पनि हुन्छ नि!
तपाईंले भनेको ठिक हो। अस्ट्रेलियाको मान्छे अमेरिका बसाइँ सर्छ। क्यानडाको मान्छे नयाँ कुराको खोजी गर्दै युरोपतिर लाग्छ। युरोपको मान्छे अस्ट्रेलिया जान्छ। यस्तो चक्र चलिरहन्छ। एउटाले नदेखेको सम्भावना अर्कोले देखेर मानिसहरू एक ठाउँ र अर्को ठाउँ, एक देश र अर्को देश गरेका हुन्।
केही समयअघि म कोरिया गएको थिएँ। त्यहाँका मानिस ठूलो संख्यामा विदेश जाँदा रहेछन्। अनि नेपाल जस्ता देशका मानिस त्यहाँ गएर रोजगारी गरिरहेका छन्। तर हामीकहाँ त्यस्तो वातावरण छैन।
रामेछापका बासिन्दा काठमाडौं वा बर्दिबास गए, तर सिन्धुली वा खोटाङका मान्छे यहाँ आएर बस्ने अवस्था बनाउन सकिएन। अझ महोत्तरी वा धनुषाको मान्छेलाई रामेछापमा नयाँ सम्भावना देखाउन सकिएन। जबसम्म बसाइँसराइ दुईतर्फी हुँदैन, तबसम्म एउटा ठाउँ रित्तिने र अर्को ठाउँमा जनसंख्याको चाप धेरै हुने स्थिति हुन्छ।
कसरी रोकिएला त बसाइँसराइ?
रामेछाप सुख्खाग्रस्त क्षेत्र हो। यहाँ पानी एकदम कम पर्छ। तल सुनकोशीबाट पानी तान्न नसकेको भए गाउँमा अहिलेजति पनि मानिस हुँदैनथे। तर लिफ्टिङबाट ल्याएको यो पानी पनि महँगो छ। बिजुलीको पैसा तिर्नुपर्यो। छोराछोरीको फी तिर्नुपर्यो। खानेपानीको बिल तिर्नुपर्यो। अभावै अभावले पनि मान्छे बसाइँ सरेका छन्। गाउँठाउँमै पनि कृषि धेरै दुःखको पेसा भयो। बरू अलि बाहिर गएर जस्तो काम भेटिन्छ त्यस्तै गर्न रूचि राख्न थाले।
अर्कातिर जनसंख्या घट्दै गएको छ। भएको जनसंख्या पनि अलि सहरकेन्द्रित भयो। यसलाई गाउँमा रोक्न स्थानीय सरकारले सक्दैन। कम्तिमा एक वडा एक उत्पादनको अवधारणा लिएर ५०/६० जनलाई रोजगार दिने खालको उद्योग, व्यवसाय गर्न सकियो भने बसाइँसराइ रोकिन्छ।
एक पटक भारतले नाकाबन्दी गर्दा सबै मान्छे घर फर्किए। कसैले मकै रोप्न, कसैले तरकारी उत्पादन गर्न थाले। त्यो भएको उत्पादन बोकेर बजारमा आउन पनि सुरू भयो। कोरोना बेला पनि सहरबाट रातारात मानिसहरू गाउँ आए। कृषि कर्म गर्न थाले। तर जब साम्य हुँदै गयो, फेरि गाउँ छाड्नेको लर्को लाग्यो।
मान्छेका आवश्यकता असीमित भए। त्यही असीमित आवश्यकता पूरा गर्ने महत्त्वाकांक्षामा मान्छेहरू भौतारिँदै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरिरहेका छन्।
अहिलेको अवस्था एकैचोटि आएको हो?
होइन। २०/२२ वर्षअघि नै बसाइँसराइको प्रवृत्तिले घन्टी बजाइसकेको थियो। सशस्त्र द्वन्द्वले यो प्रवृत्ति ह्वात्तै बढायो।
२०५८ सालमा भएको जनगणनामा यो जिल्लाको जनसंख्या वृद्धिदर एक्कासि घट्यो। २०६८ को जनगणनामा जनसंख्या पहिलाको भन्दा धेरै घट्यो। २०७८ मा आउँदा त देशकै सबभन्दा धेरै जनसंख्या घटेको जिल्ला भयो। मैले भन्न खोजेको के भने २०/२२ वर्षअघि नै खतराको घन्टी बज्दा नै यसलाई सम्बोधन गर्ने नीति ल्याउनुपर्थ्यो।
संघीय सरकारले हिमाल र पहाडमा जनसंख्या रोक्ने, साथै तराई र सहरमा जनसंख्या व्यवस्थापन गर्ने नीति ल्याउनुपर्छ। बसाइँसराइ नरोकिने हो भने यहाँ भूगोल त रहला तर मान्छे नरहलान् कि भन्ने चिन्ता छ। मान्छे नै नभए हामीले कसका लागि राजनीति गर्ने?
(यो स्टोरी खोज पत्रकारिता केन्द्रले तयार पारेको हो।)
***