काठमाडौं महानगरपालिका-२९ मा पर्ने धोबीखोला करिडोरको रूद्रमति पुलमुनि बिहीबार बिहानै शव भेटियो। शवसँगै साइकल पनि थियो।
प्रहरीले उक्त शव काभ्रे मण्डनदेउपुर नगरपालिका-१ घर भई हाल शंखमुल बस्दै आएका ५० वर्षीय ललित गिरीको भएको पुष्टि गरेको छ। रातको समय रूद्रमती पुल क्रस गर्न लाग्दा साइकलसहित खोलामा खसेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।
उनका अनुसार पुलबाट खसेर ढुंगामा टाउको ठोक्किएकाले मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यसरी रूद्रमति पुल क्रस गर्न लाग्दा धोबीखोलामा मान्छे र सवारी साधन खसेको यो पहिलो घटना होइन।
२०८१ फागुन ४ गते रूद्रमती पुल क्रस गर्न बायाँ तर्फबाट आएको एउटा कार खोलामा खसेको थियो। कारलाई क्षति पुगे पनि मानवीय क्षति भएको थिएन।
त्यति बेला बा२१च ६६१४ नम्बरको कार धोबीखोला करिडोरको ठ्याक्कै त्यही ठाउँबाट खसेको थियो, जहाँ अहिले ललित गिरी साइकलसहित खसेका थिए।
'यहाँ कहिले गाडी, कहिले मान्छे खसिरहेकै हुन्छन्,' बिहीबार बिहान खोलामा फेला परेको शव हेर्न झुम्मिएका एक स्थानीय युवकले भने, 'यसपटक त मान्छेको ज्यानै गयो।'
यसरी लगातार एकै ठाउँमा मान्छे र गाडी खसिरहने यस्तो घटना किन भइरहेको छ त?
घटना दोहोरिनुको मुख्य कारण धोबीखोला करिडोरको यो खण्डमा सडकछेउ रेलिङ निर्माण नहुनुले हो।
अनामनगरको भाटभटेनीबाट धोबीखोला करिडोरको बाटो हुँदै जाँदा रूद्रमती पुल क्रस गर्ने ठाउँमा करिब पाँच मिटर रेलिङ छैन। यसले पुल नजिकको त्यो खण्ड धराप बनेको छ।
पुलतिर मोडिनुपर्ने मान्छे वा गाडी राति अँध्यारोमा झुक्किएर खोलामा खस्ने गरेको स्थानीय ४६ वर्षीया सरस्वती श्रेष्ठले बताइन्।
मदन भण्डारी कलेजको पछाडि पसल चलाउने उनले भनिन्, 'पुलनजिकको बाटोमा रेलिङ नभएकाले मान्छेहरू क्रस गर्न खोज्दा खोलामा खस्छन्।'
त्यहाँ पछिल्लो केही समययता चार-पाँच पटक मान्छे खसिसकेको स्थानीय बताउँछन्। पटक पटक दुर्घटना भइरहँदा पनि स्थानीय सरकारले रेलिङ नराखेको उनीहरूको गुनासो छ।
हामीले यसबारे वडा नम्बर २९ का अध्यक्ष कुश ढकालसँग कुरा गर्दा उनले पनि रेलिङ नभएकाले पटक पटक दुर्घटना भइरहेको पुष्टि गरे। तर करिडोरमा रेलिङ राख्ने काम आफ्नो कार्यक्षेत्रमा नपर्ने उनले बताए।
उनका अनुसार करिडोरको काम काठमाडौं उपत्यका विकास प्राधिकरणले गर्छ। त्यसैले त्यहाँ सवारी साधन र मान्छेहरू खसिरहन थालेपछि ६ महिनाअघि प्राधिकरणलाई पत्र पठाएर रेलिङ राख्न आग्रह गरेको उनले जानकारी दिए।
'अस्थायी संरचना भए पनि बनाउनुपर्ने कुरा गरेका थियौं, तर उहाँहरूले काम गर्न दिनुभएन,' उनले भने, 'हामीलाई पनि गर्न दिनुभएन, आफूले पनि गर्नुभएन।'
वडा सचिव शम्भु बरालले पनि त्यहाँको दुर्घटना जोखिम कम गराउन पटक पटक पत्राचार र फोन गरेको दाबी गरे।
उनका अनुसार बिहीबार शव फेला परेका व्यक्ति पनि बुधबार राति ९ बजेर ५ मिनेट जाँदा साइकल चलाइरहेकै अवस्थामा खोलामा खसेको भिडिओमा देखिएको छ।
यसबारे काठमाडौं उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त सुनिता श्रेष्ठलाई सोध्दा उनले त्यहाँ रेलिङ राख्न स्थानीयबाट कुरा आएको स्वीकार गरिन्।
'रेलिङ राखिनुपर्यो भनेर एक स्थानीयले भन्नुभएको थियो। तर हामीकहाँ त्यस्तो काम गर्ने कन्ट्रयाक्टर कोही थिएनन्,' श्रेष्ठले भनिन्, 'अरू काम गरिरहेका कन्ट्रयाक्टरलाई पनि आग्रह गरेका थियौं, तर उनीहरूले मानेनन्।'
यसबारे प्राविधिक टोलीलाई स्थलगत निरीक्षणमा पठाएको उनको भनाइ छ।
'फिल्ड भिजिटमा गएको प्राविधिक टोलीले अलि धेरै क्षेत्रमा रेलिङ राख्नुपर्ने भएकाले थप बजेट दिनुपर्ने बतायो,' उनले भनिन्, 'यसबारे हामी छलफल गरिरहेकै थियौं।'
पछिल्लो दुर्घटनापछि प्राधिकरणले अर्को प्राविधिक टोली पठाएको उनले जानकारी दिइन्।