थुप्रै यस्ता पर्व छन्, जुन नेपाल र भारतमा समानान्तर रूपले उत्तिकै धुमधामका साथ मनाइन्छ।
तिहार त्यस्तै एउटा पर्व हो, जसलाई भारतमा 'दीपावली' भनिन्छ।
भारतमा मनाइने यही 'दीपावली' पर्व बुधबार युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदाका रूपमा सूचीकरण भएको छ।
भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्लामा आयोजित युनेस्कोको एक बैठक क्रममा दीपावलीलाई अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गर्ने निर्णय भएको हो।
अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी अन्तरसरकारी समितिको उक्त कार्यक्रममा युनेस्कोले दीपावली पर्वलाई सूचीमा समावेश गरिएको घोषणा गरेको थियो।
नेपालका निम्ति युनेस्कोको यो निर्णय विडम्बनापूर्ण रह्यो।
'उज्यालोको पर्व' का रूपमा लिइने यो चाडको सांस्कृतिक विविधता भारतमा भन्दा नेपालमा धेरै छ। हामीकहाँ तिहारकै बेला काग, कुकुर, गाई, गोरू पशुपन्छीको पूजा गर्नुका साथै नेवार समुदायमा म्हपूजा भनेर आफ्नै आत्माको पूजा गर्ने चलन छ।
नेपालको यति गहिरो सांस्कृतिक विविधतायुक्त तिहार पर्व भारतको अमूर्त सांस्कृतिक सम्पदाका रूपमा मात्र सूचीकरण हुनुले अन्तर्राष्ट्रिय जगतको आँखाबाट हेर्दा यो भारतीय संस्कृति मात्र हो भन्ने बुझिन सक्छ।
नियम अनुसार सम्बन्धित मुलुकले आफूकहाँ मनाइने यस्ता सांस्कृतिक चाडपर्वलाई अमूर्त सम्पदाका रूपमा सूचीकरण गर्न सबभन्दा पहिला युनेस्कोमा प्रस्ताव पठाउनुपर्छ। उक्त पर्वको सांस्कृतिक इतिहास र त्यो पर्व समाजसँग कसरी जोडिन्छ भन्ने विवरण पूर्ण रूपमा खुलाएर पठाउनुपर्ने त्यस्तो प्रस्तावमाथि युनेस्को सदस्य राष्ट्रहरूले गहन छलफल गरेपछि सूचीकरण गर्ने कि नगर्ने निर्णय गरिन्छ।
नेपालले पनि येँया पुन्ही (इन्द्रजात्रा)। रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाथ, बिस्का: जात्रा लगायत काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक उत्सवहरूलाई युनेस्कोको अमूर्त सम्पदा सूचीमा समावेश गर्न प्रस्ताव पठाउनुपर्ने बहस धेरै अघिदेखि चल्दै आएको छ। तर यसका लागि आवश्यक गृहकार्य भएको छैन।
यसबीच भारतले नेपालमा समेत मनाइने 'दीपावली' पर्वलाई आफ्नो मात्र नाममा सम्पदा सूचीमा पार्न सफल हुनु नेपालको निम्ति ठूलो 'सेट-ब्याक' भएको विज्ञहरू बताउँछन्।

हामीले यसबारे सम्पदाविद् मोनालिसा महर्जनसँग कुरा गर्दा उनले यो घटनालाई नेपालले 'वेक-अप कल' का रूपमा लिनुपर्ने बताइन्।
तिहारको सांस्कृतिक महत्त्व र विविधता भारतमा भन्दा नेपालमा धेरै भए पनि नेपालले यो पर्वलाई अमूर्त सम्पदाका रूपमा सूचीकरण गर्न पहल नगरेको उनको भनाइ छ।
'यसका लागि सबभन्दा पहिला नेपालको राष्ट्रिय सम्पदामा सूचीकरण हुनुपर्छ, त्यसपछि सरकारले युनेस्कोको सम्पदा सूचीमा समावेश गर्न प्रस्ताव पठाउनुपर्छ,' महर्जनले भनिन्, 'युनेस्को सूचीमा समावेश गर्न सकिने सम्भावना बोकेका थुप्रै अमूर्त सम्पदा नेपालमा छन्। त्यसका लागि राष्ट्रिय स्तरमा गृहकार्य हुनुपर्ने खाँचो छ।'
नेपाल र भारतबीच कतिपय सांस्कृतिक परम्परा मिल्दाजुल्दा रहेकाले दुवै देशले संयुक्त रूपमा पनि युनेस्कोमा सूचीकरण गराउन सक्ने उनले बताइन्।
पहिले पहिले छठ पर्व मधेसमा मात्र मनाइन्थ्यो, अहिले देशैभरि धुमधामका साथ मनाइन्छ। छठसँग मधेस क्षेत्रको सांस्कृतिक इतिहास र सामाजिक जीवन जोडिन्छ। यही पर्व भारतको बिहार, उत्तरप्रदेश लगायत विभिन्न राज्यमा पनि धुमधामका साथ मनाइन्छ।
अहिले जसरी भारतले आफूकहाँ मनाइने दीपावलीलाई युनेस्को अमूर्त सम्पदा सूचीमा समावेश गरायो, त्यसरी नै भोलि छठ पर्वलाई पनि त्यो सूचीमा राख्न प्रस्ताव पठाउन सक्छ। त्यसबीच नेपालले कुनै तयारी गरेन भने छठ पनि भारतीय संस्कृतिका रूपमा मात्र सूचीकरण हुनेछ। अहिलेको घटनाबाट पाठ सिक्दै भारतसँग मिलेर वा एक्लै पनि छठलाई अमूर्त सम्पदाका रूपमा सूचीकरण गर्न प्रस्ताव बढाउन सकिने मोनालिसाको भनाइ छ।
भारतसँग मिलेर जाने हो भने कूटनीतिक पहल हुनुपर्ने खाँचो उनले औंल्याइन्।
त्यस्तै, नेपालमा मनाइने कतिपय बौद्ध परम्परा चीनको तिब्बत र भुटानसँग मिल्दाजुल्दा छन्। त्यसलाई युनेस्को सूचीमा सामेल गर्न नेपालले क्षेत्रीय स्तरमा पहल गर्न सक्ने सम्पदाविद् मोनालिसा महर्जन बताउँछिन्।
'क्षेत्रीय स्तरमा संयुक्त रूपले सूचीकरण गराउन बहुपक्षीय प्रस्ताव तयार पार्नुपर्छ र बहुपक्षीय रूपमै युनेस्कोमा दर्ज गराउनुपर्छ,' उनले भनिन्।
मोनालिसाको व्यक्तिगत पहलमा काठमाडौंका नेवार समुदायले य:मरि पुन्हिको दिन खाने य:मरि राष्ट्रिय सम्पदाका रूपमा सूचीकरण भएको छ। उनी यसलाई युनेस्कोको अमूर्त सम्पदा सूचीमा सामेल गराउन पहल गरिरहेकी छन्।
हामीले भारतको 'दीपावली' युनेस्को सुचीमा पर्दा नेपालको तिहार किन परेन भनेर काठमाडौंस्थित युनेस्को कार्यालयका एक अधिकारीसँग पनि कुरा गरेका थियौं।
उनले यसलाई य:मरिसँग तुलना गर्दै भने, 'काठमाडौं उपत्यकामा ललितपुरका ज्यापु समुदायले मात्र य:मरि बनाउँदैनन्। काठमाडौं, पनौती, भक्तपुर लगायत विभिन्न ठाउँका बासिन्दा आ-आफ्नै ढंगले य:मरि बनाउँछन्। यो परिकारसँग जोडिएको सांस्कृतिक इतिहास र चलन पनि भिन्नाभिन्नै छ। तर ललितपुरको ज्यापु समुदायका तर्फबाट प्रस्ताव पेस गरिएकाले उनीहरूकै नाममा सूचीकरण भयो। दीपावलीका हकमा पनि भारतले प्रस्ताव दर्ज गराएकाले उनीहरूकै नामबाट सूचीकरण भएको हो।'
नेपालमा तिहार पर्व मनाइए पनि भारतको दीपावलीभन्दा फरक भएकाले छुट्टाछुट्टै रूपमा सूचीकरण हुनसक्ने उनले बताए।
भारतले अहिलेसम्म युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा दीपावलीसहित १५ वटा संस्कृति समावेश गरेको छ।
यसमा कुम्भ मेला, कोलकाताको दुर्गा पूजा, गुजरातको गरबा नृत्य, योग, वैदिक मन्त्र उच्चारणको परम्परा तथा 'रामायण' महाकाव्यको परम्परागत नाट्य प्रस्तुति रामलीला पनि पर्छन्।
यसमा योग र वैदिक मन्त्र उच्चारणको परम्परा नेपालमा पनि प्रचलित छ। तर नेपालले युनेस्को सूचीमा सामेल गराउन पहल गरेन।
सरकारी पहल नभएकैले नेपालका कुनै पनि अमूर्त सम्पदा युनेस्को सूचीमा समावेश भएका छैनन्।
***