पाँच जना नेपालीको समेत ज्यान गएको गोवाको नाइटक्लब आगलागी घटनामा संलग्न दुई दाजुभाइलाई थाइल्यान्डमा पक्राउ गरिएको भारतीय अखबार 'द हिन्दुस्तान टाइम्स' ले जनाएको छ।
सौरभ र गौरव लुथरा नामका दाजुभाइ आगो लागेको नाइटक्लबका सञ्चालक हुन्। उनीहरू घटनालगत्तै गोवाबाट फरार भएर थाइल्यान्ड पुगेको हिन्दुस्तान टाइम्सले लेखेको छ।
उनीहरूलाई भारत फर्काउने प्रक्रिया सुरू भइसकेको समाचारमा उल्लेख छ।
गोवाको 'बर्च बाइ रोमियो लेन' नामक नाइटक्लबमा आइतबार भएको आगलागीमा २५ जनाले ज्यान गुमाएका थिए। त्यसमा पाँच जना नेपालीसमेत परेको नयाँ दिल्लीस्थित भारतीय दूतावासले पुष्टि गरिसकेको छ।
ती पाँचमध्ये चार जनाको शव मंगलबार र बुधबार गरेर नेपाल फर्काइएको र एक जनाको शव भारतकै हरिद्वारमा अन्त्येष्टि गरिएको दूतावासले जनाएको छ।
दूतावासका अनुसार गोवा आगलागीमा ज्यान गुमाउने नेपालीहरूमा सिन्धुलीका लीलबहादुर कटवाल, झापाका सविन विश्वकर्मा, दाङका चूर्णबहादुर पुन, डडेल्धुराका मनोज झोरा र टिकाराम विक छन्।
भारतको परराष्ट्र मन्त्रालयले गोवा सरकारबाट आएको अनुरोधमा अध्ययन भइरहेको जनाएको छ। उत्तर गोवाको 'बर्च बाई रोमियो लेन' नामक नाइटक्लबका सञ्चालकद्वय गौरव र सौरभ लुथराको पासपोर्ट खारेज गर्न गोवा सरकारले माग गरेको छ।
नाइटक्लबमा आगो लागेपछि यी दाजुभाइ भारत छाडेर हिँडेका थिए।
उनीहरूविरूद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) को अनुरोधमा इन्टरपोलले ब्लूकर्नर नोटिस जारी गरिसकेको हिन्दुस्तान टाइम्सले लेखेको छ।
गोवा प्रहरीका अनुसार आगो निभाउन उद्धार टोलीले संघर्ष गरिरहँदा उनीहरूले थाइल्यान्डका लागि हवाई टिकट काटेका थिए।
गौरव र सौरभ लुथराले आइतबार राति १:१७ बजे 'मेक माई ट्रिप' मार्फत टिकट बुक गरेका थिए। त्यही समय गोवा प्रहरी र फायर सर्भिसको टोली नाइट क्लबभित्र फसेका मानिसलाई बचाउन प्रयास गर्दै थिए।
'गोवा प्रहरी र फायर सर्भिस आगो नियन्त्रण र उद्धारमा खटिरहेका बेला लुथरा दाजुभाइ देशबाट भाग्ने तयारी गरिरहेका थिए,' अनुसन्धानमा संलग्न अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।
यी दाजुभाइले भने नाइटक्लबको दैनिक सञ्चालन त्यहाँका कर्मचारीले हेर्ने भएकाले उनीहरूलाई प्रत्यक्ष दोष लगाउन नहुने तर्क गरेका छन्।
गोवा प्रहरीले घटनासँग सम्बन्धित नाइटक्लबका पाँच जना प्रबन्धक र कर्मचारीलाई पक्राउ गरिसकेको छ।
मध्यराततिर लागेको आगो केही मिनेटमै फैलिँदै नाइटक्लबभरि सल्किएको थियो। यो ठाउँ पानाजीबाट करिब २५ किलोमिटर टाढा पर्छ।
गोवा प्रदेशका मुख्यमन्त्री प्रमोद सावन्तले यो घटनाको छानबिन प्रतिवेदन आठ दिनभित्र आउने बताएका छन्।