गर्भ रहेको पहिलो संकेत महिनावारी रोकिनु हो। महिनावारी रोकिएपछि धेरै महिलाले सबैभन्दा पहिले गर्भ रह्यो कि भन्ने शंका गर्छन्। तर महिनावारी रोकिँदैमा गर्भ नै रह्यो भन्ने हुँदैन।
त्यसैले एक–दुई साता महिनावारी रोकिएपछि गर्भ जाँच गरेर गर्भ रहेको पुष्टि भएपछि मात्र गर्भवती भएको मानिन्छ। गर्भ पुष्टि गर्ने दुई–तीन तरिका छन्।
सबभन्दा सामान्य रूपमा महिनावारी रोकिएपछि पिसाब परीक्षण गरेर गर्भ जाँच गर्न सकिन्छ। बजारमा सजिलै पाइने साधारण प्रेग्नेन्सी किटमा दुइटा रातो धर्का देखिएमा गर्भ रहेको बुझ्न सकिन्छ। कहिलेकाहीँ यस्तो किट शतप्रतिशत सही नहुन सक्छ। कतिपय अवस्थामा रगत परीक्षण गरेर गर्भ पुष्टि गर्न सकिन्छ।
गर्भ पुष्टि गर्ने सबभन्दा भरपर्दो तरिका भनेको अल्ट्रासाउन्ड (भिडिओ एक्स–रे) हो।
अल्ट्रासाउन्ड गर्दा दुइटा कुरा हेर्न जरूरी हुन्छ — गर्भ रह्यो कि रहेन र गर्भ पाठेघरभित्र छ कि बाहिर। सधैं पाठेघरभित्र नै गर्भ रहन्छ भन्ने हुँदैन। कहिलेकाहीँ गर्भ डिम्बनली वा डिम्बकोषमा पनि रहन सक्छ, जसलाई एक्टोपिक प्रेग्नेन्सी भनिन्छ। एक्टोपिक प्रेग्नेन्सी प्राणघातक अवस्था पनि हुन सक्ने भएकाले गर्भ पाठेघरभित्र छ कि छैन भनेर सुरूमा नै पुष्टि गर्न अत्यन्त आवश्यक हुन्छ।
गर्भ पक्का भएपछि पहिलो तीन महिनामा कम्तीमा एक पटक चिकित्सकलाई भेट्नुपर्छ। सम्भव भएसम्म दुई पटक भेट्नु राम्रो हुन्छ। आवश्यकता अनुसार जति पटक पनि जाँच गराउनुपर्ने हुन सक्छ।
सबैभन्दा पहिले गर्भको कार्ड बनाएर राख्नुपर्छ। कतिपयले यसलाई सामान्य रूपमा लिन्छन्, तर एउटा फाइल बनाएर राखेमा १० महिनासम्मको सम्पूर्ण विवरण सुरक्षित रहन्छ। यसले चिकित्सकलाई पनि उपचार गर्न सजिलो हुन्छ।
यस अवधिमा रगत परीक्षणसहित आवश्यक अन्य परीक्षण गरिन्छ। सुगर, थाइरोइड, हेमोग्लोबिन, एचआइभी लगायत परीक्षण पहिलो तीन महिनामै गरिनुपर्छ।
पहिलो ६–७ हप्तामा सामान्य अल्ट्रासाउन्ड र १२–१३ हप्तामा बच्चाको नाकको हड्डी, शरीरको बनावट लगायत हेर्न अल्ट्रासाउन्ड गर्नुपर्छ। यसले भविष्यमा आउन सक्ने समस्या संकेत गर्न मद्दत गर्छ।
खानपान र औषधि
खानपानमा विशेष ध्यान दिनुपर्छ। प्रोटिनयुक्त खाना बढी र कार्बोहाइड्रेट कम खानुपर्छ। गेडागुडी, माछा–मासु, ओखर, बदाम खान जरूरी छ। फलफूल, दूध, दही पनि नियमित खानुपर्छ।
सामान्य खानाका अतिरिक्त फोलिक एसिड अनिवार्य रूपमा खानुपर्छ। यसले बच्चाको शारीरिक तथा मानसिक विकासमा सहयोग गर्छ र केही अपांगता हुन नदिन मद्दत गर्छ।
फोलिक एसिड कम्तीमा पहिलो तीन महिना खानुपर्छ। सकेसम्म गर्भको योजना बनाउँदा, अर्थात् बच्चा बस्नुभन्दा तीन महिना अघिदेखि नै फोलिक एसिड खान सुरू गरेको अझ राम्रो हुन्छ।
यो समयमा वाकवाकी लाग्ने, खान मन नलाग्ने समस्या धेरैलाई हुन्छ। वाकवाकी कम गर्न अदुवा पोलेर वा चुसेर खान सकिन्छ। सुख्खा र कम चिल्लो खाना खानुपर्छ। चिल्लो कम खानुपर्छ भन्दैमा खाली पेट बस्नु हुँदैन। कतिपय महिलाले व्रत बस्ने गरेको पाइन्छ, तर लामो समय खाली पेट बस्दा बच्चालाई आवश्यक सुगर नपुग्न सक्छ।
कब्जियत पनि यस समयमा देखिने सामान्य समस्या हो। आन्द्रा राम्रोसँग नचल्ने भएकाले कब्जियत हुने हुँदा फाइबरयुक्त खाना खानु र प्रशस्त पानी पिउनु आवश्यक हुन्छ। पिसाब छिटो छिटो लाग्नु पनि सामान्य समस्या हो। यसमा चिन्ता लिनु पर्दैन र पिसाब धेरै लाग्यो भन्दैमा पानी कम खानु हुँदैन।
कस्तो अवस्थामा आत्तिनुपर्छ?
थोरै मात्र रगत बग्नु पनि खतराको संकेत हुन सक्छ। यस्तो अवस्थामा तुरून्तै स्वास्थ्यकर्मीलाई भेट्नुपर्छ। तल्लो पेट दुख्नु, झट्का लागेजस्तो हुनु पनि राम्रो लक्षण होइन। सेतो पानी अचानक बग्नु, टाउको दुख्नु, आँखा धमिलो हुनु पनि समस्या संकेत हुन सक्छ।
वाकवाकी सामान्य हो, तर अत्यधिक भयो, रिंगटा लाग्ने, खाना बिल्कुलै नरूच्ने अवस्था आयो भने तुरून्त अस्पताल जानुपर्छ।
गर्भवतीले धेरै सोध्ने जिज्ञासा
धेरैजसो महिलाले स्कुटर वा बाइक चढ्न मिल्छ कि मिल्दैन भनेर सोध्ने गर्छन्। स्कुटर वा बाइक चढ्दैमा बच्चा खेर जान्छ भन्ने होइन। तर नेपालको सडक अवस्था ख्याल गर्नुपर्छ। लामो दुरीको यात्रा, ठूला गाडीमा समेत सकेसम्म नगर्न सल्लाह दिइन्छ।
पहिलो त्रैमासिकमा गर्भ खेर जाने जोखिम बढी हुने भएकाले सकेसम्म बाइक वा स्कुटर नचढ्नु राम्रो हुन्छ।
खान नहुने कुरामा चुरोट, रक्सी र सुर्ती पूर्ण रूपमा निषेध छ। जानकारी नभएका जडीबुटी खानु हुँदैन। मेवामा भिटामिन–ए बढी हुने भएकाले धेरै खाएमा जोखिम हुन सक्छ भन्ने मान्यता छ, तर सामान्य रूपमा खाँदा समस्या हुँदैन। अमिलो खाने इच्छा भएमा खान मिल्छ, यसले कुनै हानि गर्दैन।
गह्रौं सामान बोक्नु, जोखिमपूर्ण काम गर्नु हुँदैन। सामान्य घरधन्दा, अफिसको काम, हिँडडुल गर्न मिल्छ। तर टुक्रुक्क बसेर कपडा धुनेजस्ता काम नगर्नु राम्रो हुन्छ। भान्सामा अलिअलि काम गर्न मिल्छ, तर सधैं खाना पकाउने, भाँडा माझ्ने काम उपयुक्त हुँदैन।
भीडभाड कम जानु, मास्क लगाउनु र झोलिलो खाना खानु राम्रो हुन्छ। संक्रमण भएमा त्यसले बच्चालाई पनि असर गर्न सक्छ, त्यसैले विशेष सावधानी अपनाउनुपर्छ।
मानसिक स्वास्थ्य र परिवारको भूमिका
यो समयमा परिवारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। गर्भवती महिलाले आफूलाई सहयोग चाहिएको कुरा खुलेर भन्नुपर्छ। कतिपय अवस्थामा श्रीमान बाहिर हुने भएकाले देवर, सासू वा परिवारका अन्य सदस्यसँगै अस्पताल जानुपर्ने हुन सक्छ। समस्या लुकाउनु हुँदैन। सुरूबाटै एउटै व्यक्ति साथमा भएमा काउन्सिलिङ पनि सहज हुन्छ।
मानसिक स्वास्थ्यको ख्याल पनि उत्तिकै जरूरी छ। गर्भावस्था सामान्य अवस्था हो र खुसीको क्षण पनि हो। अत्यधिक चिन्ता लिनु हुँदैन। सामाजिक सञ्जालमा आउने विभिन्न सूचना हेरेर अनावश्यक डराउनु हुँदैन। सकेसम्म सामाजिक सञ्जालबाट टाढा रहने, पुस्तक पढ्ने, गीत सुन्ने गर्नुपर्छ। यसले आमाको मात्र होइन, बच्चाको स्वास्थ्यमा पनि सकारात्मक असर पार्छ।
(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सह–प्राध्यापक डाक्टर श्रेयषी अर्याल काठमाडौं मेडिकल कलेज र फ्रन्टलाइन अस्पतालमा कार्यरत छिन्।)