जाजरकोटकी एक २५ वर्षीया युवती आफूमाथि बलात्कार गर्ने पुरूषविरूद्ध कारबाही माग गर्दै ७ महिनाको गर्भ बोकेर पाँच दिनदेखि काठमाडौंमा अनसन बसिरहेकी छन्।
मंसिर २५ देखि अनसन बसेकी उनी स्वास्थ्यमा समस्या आएपछि आइतबार साँझदेखि प्रसूति गृह थापाथलीमा उपचाररत छिन्। उपचार भइरहँदा पनि उनले अनसन तोडेकी छैनन्। माग पूरा नभएसम्म अनसन नतोड्ने उनको अडान छ।
उनले आफूमाथि बलात्कार गर्ने दार्चुलाका भुपेन्द्रसिंह ठगुनालाई कानुनी कारबाही हुनुपर्ने र जन्मपछि शिशुको अधिकार सुनिश्चित हुनुपर्ने माग राखेकी छन्।
'ममाथि बलात्कार भयो भनेर पटक पटक प्रहरी र अदालतलाई सुनाउँदा पनि बेवास्ता गरिएकाले आज मैले यो दिन भोग्नुपर्यो,' ती युवतीले सोमबार सेतोपाटीसँग भनिन्, 'प्रहरी र अदालतको चरम लापरबाहीको सिकार भएको पात्र हुँ म।'
हामीले यसबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर दीपक मगरातीसँग कुरा गर्दा उनले ठगुनाविरूद्ध जाहेरी दर्ता भएर कानुनी प्रक्रिया अघि बढेको बताए।
'केही दिनअघि मात्र पीडक भुपेन्द्रसिंह ठगुनाविरूद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। हामी प्रतिवादीलाई खोजिरहेका छौं,' इन्स्पेक्टर मगरातीले भने।
ती युवतीले तीन वर्षअघिदेखि आफूमाथि बलात्कार भइरहेको बताएकी छन्। पहिले पनि प्रहरी र अदालतले आफ्नो कुरा नसुनेर पीडकलाई सफाइ दिएको उनको भनाइ छ।
पीडित युवती र ठगुनाको चिनजान सामाजिक सञ्जाल टिकटकमा भएको थियो। त्यहीमार्फत् दुई जनाको कुराकानी हुँदै गयो।
'उनी प्रहरी जवान हुन्। त्यति बेला काठमाडौंमा कार्यरत थिए। म सुर्खेतमा बसेर पढिरहेकी थिएँ,' उनले भनिन्, 'कुराकानी सुरू भएको एक वर्ष हुँदै गर्दा उनी मलाई भेट्न सुर्खेत आए।'
एक्कासि भेट्न आएको थाहा पाएपछि आफूले डेरा पनि चिनाएको उनी बताउँछिन्।
'डेरा नजिकै भेटघाट गरेकाले कहाँ बस्छु भन्ने कुरा थाहा भयो,' उनले भनिन्, 'दिउँसो भेटघाट भएको थियो, साँझ त रक्सी खाएर डेरामै आए।'
त्यस दिन उनी कोठामा एक्लै छिन् भन्ने ठगुनालाई थाहा थियो।
उनले ती पुरूषलाई तुरून्तै बाहिर जानू भनिन्। उनको परिवारलाई फोन गरिदिने चेतावनी पनि दिइन्। तैपनि ठगुना फर्किन मानेनन्।
२०७९ वैशाख १ गतेको त्यही रात आफूमाथि पहिलो पटक बलात्कार भएको उनको भनाइ छ।
उनले यो घटनाबारे ती पुरूषका परिवारलाई जानकारी गराइन्।
'उनले केही पैसा दिएर मलाई चुप लगाउन खोजे। उनमा गल्ती वा पश्चातापको आभाषसम्म थिएन,' पीडित युवतीले भनिन्, 'त्यसपछि म प्रहरीमा जाहेरी दिन गएँ। प्रहरीले पनि सुरूमा त मेरो जाहेरी लिनै मानेन।'
उनी वैशाख २ गते प्रहरीकहाँ जाहेरी दिन गएकी थिइन्। प्रहरीले दुवै पक्षलाई बोलाएर सोधपुछ गर्यो।
वैशाख ३ गते प्रहरीले दुवैलाई विवाह गर्न र कुनै किसिमको दुर्व्यवहार नगरी सँगै मिलेर बस्न सुझायो।
'मिलापत्र गरेर बस्ने भने पनि उनले पटक पटक ममाथि जबरजस्ती करणी गरे,' उनले भनिन्, 'एक महिना नबित्दै म फेरि प्रहरीकहाँ गएँ। त्यति बेला प्रहरीले जाहेरी दर्ता गर्न मानेन। मैले हुलाकबाट जाहेरी पठाएँ।'
हुलाकबाट पठाएको जाहेरी दर्ता भयो। कानुनी प्रक्रिया अघि बढ्यो। तर जिल्ला अदालत सुर्खेतले ठगुनालाई सफाइ दियो।
उनी उच्च अदालत पुगिन्। त्यहाँ पनि ती पुरूषले सफाइ पाए।
'उच्च अदालतले सफाइ दिएपछि आफ्नो इज्जतमा दाग लगाउन खोजेको भन्दै उनी २०८२ जेठ १ गते राति फेरि मेरो डेरामा आए। मैले प्रतिकार गर्दा कुटपिट गरे,' उनले भनिन्, 'त्यो रात उनले फेरि मेरो बलात्कार गरे। कसैलाई भन्यो भने ज्यान मार्ने धम्की पनि दिए।'
ज्यानकै धम्की दिएपछि आफू उजुरी गर्न नगएको उनले बताइन्।
'त्यो घटनापछि भदौ पहिलो सातातिर मलाई वाकवाकी लाग्ने, चक्कर लाग्ने र खाना खान मन नलाग्ने भयो। जचाउन जाँदा साढे तीन महिनाको गर्भ बसेको थाहा पाएँ,' उनले भनिन्, 'मेरो महिनावारी नियमित थिएन। कहिले त चार-पाँच महिनासम्म हुँदैन थियो। त्यसले पनि गर्भवती भएँ होला भन्ने हेक्का भएन।'
उनले गर्भपतन गराउन खोजिन्। तर तीन महिनाभन्दा बढी भइसकेकाले प्रहरीको रिपोर्ट वा अदालतको आदेशबिना गर्भपतन गराउन मिल्दैन भनेर अस्पतालले भन्यो।
त्यसपछि उनी अस्पतालको रिपोर्ट बोकेर जिल्ला प्रहरी कार्यालय सुर्खेत पुगिन्।
'अस्पतालको रिपोर्ट हेरेपछि प्रहरीले भदौ १३ गते जबरजस्ती करणीमा जाहेरी दर्ता गर्यो,' उनले भनिन्, 'जाहेरी दर्ता भए पनि पीडकलाई अहिलेसम्म नियन्त्रणमा लिइएको छैन। उनी आफै प्रहरी भएकाले ममाथि अन्याय भइरहेको छ।'
लगातार ताकेता गर्दा पनि प्रहरीबाट सुनुवाइ नभएपछि न्यायको निम्ति काठमाडौंको ढोका ढकढकाउन माइतीघर मण्डलमा अनसन बस्न आएको उनी बताउँछिन्।
सुर्खेतका इन्स्पेक्टर मगराती यो घटनामा पहिला दिएकै मुद्दामा पीडकलाई कानुनी कारबाही हुने भए पनि पीडित युवतीले बयान फेरेकाले सफाइ पाएको बताउँछन्।
'अहिले फेरि हामीले जाहेरी दर्ता गरेर पक्राउ पुर्जी लिइसकेका छौं,' उनले भने, 'हामी कानुनी कारबाही निम्ति प्रतिवादीलाई खोजिरहेका छौं।'
पीडित युवती भने आफूले दिएको बयान अनुसार कागज तयार नगरिएको दाबी गर्छिन्।
'त्यति बेला मैले सत्य बोलेको थिएँ। तर कागजातमा आउँदा फेरिएर आयो,' उनले भनिन्, 'पीडक आफै प्रहरी भएकाले त्यति बेला घटना तोडमोड गरिएको थियो।'