वर्षातका कारण पहिरो खस्दा अवरुद्ध बनेको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रुपमा सञ्चालन भएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ दोभानस्थित प्रहरी चौकी नजिकै पहिरो खसेको हो ।
बुधबार अपराह्न ४ बजे पहिरो खसेपछि अवरुद्ध बनेको सडक बिहीबार बिहानदेखि एकतर्फी रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हरिराज वाग्लेले जानकारी दिए । सडकमाथिबाट ठूलाठूला ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।
लामो समयसम्म सडक सञ्चालन नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको थियो । ठूला ढुंगासहितको पहिरो पन्छाउन कठिन भएकाले पूरै सडक सञ्चालन गर्न नसकिएको प्रहरीको भनाइ छ ।
मुग्लिन–नारायणघाट सडकको विकल्पका रूपमा रहेको सो सडक अहिले काठमाडौंबाट नेपालको पश्चिमतर्फ छुट्ने बस यही बाटो हुँदै गुड्ने गरेका छन् । पाल्पा–बुटवल सडकखण्डमा अहिले यात्रुको चाप बढ्दो छ । रासस