सुदूरपश्चिमका पहाडी तथा उच्च पहाडी क्षेत्रका जोखीममा रहेका समुदायको खाद्य सुरक्षाका लागि सञ्चालित बहुउपयोगी पानी प्रणाली प्रभावकारी बनेको छ ।
भौगोलिक रुपमा जोखीम अवस्थामा रहेका समुदायका लागि सहजरुपले खाद्यान्न उपलब्ध गराउन सो प्रणालीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए ।
ग्रमीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र पहल परियोजनाको संयुक्त तत्वाबधानमा सञ्चालित सो प्रणालीले त्यस्ता परिवारको आम्दानी बढाउने कार्य भइरहेकामा यसलाई अझै प्रभावकारी बनाउनका लागि ठोस् नीति तथा कार्ययोजना निर्माण गर्न उनले समेत सुझाव दिए ।
जोखीम अवस्थामा रहेका परिवारको आम्दानी बढाउने र उनीहरुको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको पहल परियोजनाका कार्यक्रम सयोजक प्रकाश मडैंले बताए ।
कार्यक्रमले विपद् र जोखीममा रहेका व्यक्तिलाई विपद्पश्चात पूर्व अवस्थामा फर्केेर व्यावहारिक बन्न सहयोग गरिरहेको उनले जानकारी दिए । परियोजनाले जोखीममा रहेका समुदायमा कृषिजन्य स्रोत साधन तथा उत्पादन प्रविधिमा सुधार ल्याउने र कृषिजन्य उत्पादन संकलन गरेर बजार व्यवस्थापनजस्ता कायसमेत गरिरहेको छ ।
साना सिँचाइ प्रविधि प्रवर्द्धनले कृषि उत्पादनमा वृद्धि भएको रुडुकले जनाएको छ । पहल परियोजनाले विपद् जोखीममा रहेको समुदायको जोखीम न्यूनीकरण गर्ने र तिनकोे क्षमता वृद्धि गर्ने तालीम दिनुका साथै नाटकमार्फत जनचेतना दिनेजस्ता कार्य गर्दै आएको जनाएको छ ।
सरकारी र अन्य सरोकारवालासँग समन्वय गरी जोखीम मानिएका समुदायहरु आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र पर्शुराम नगरपालिकाका विभिन्न समुदायमा बहुउपयोगी पानी प्रणाली सञ्चालन गरेर उत्पादन वृद्धिका साथै आर्थिक विकासमा टेवा पुगेको सरोकारवालाको भनाइ छ ।
आज सम्पन्न भएको बहुउपयोगी पानी प्रणली सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला भूसंरक्षण कार्यालय, खानेपानी डिभिजन कार्यालय, कृषिलगायत अन्य सरकारी र गैरसरकारी कार्यालयका प्रमुखको सहभागिता थियो । रासस