के तपाईँले कहिल्यै लाखौँ रुपैँया हराउनुभएको छ ? यदि हराएको भए के गर्नुहुन्छ ? पक्कै पनि तपाईँमा त्यो रकम पाइएला भनेर कमै आशा हुनेछ ।
तर ललितपुरको भैँसेपाटी बस्ने सुजन लामाले हराएको पाँचलाख रुपैयाँ केही घण्टामा फेला पारेपछि खुशीले गद्गद् भए। लामाले नयाँ सडकको रन्जना ट्रेडर्समा रहेको साथी प्रवीन लामाको पसलबाट पैसा लिएर टेकुतर्फ जाँदै गर्दा मोटरसाइकलमा राखेको रकम हरायो । लामा बाटोमा पुगेर पैसा हेर्दा नभेटेपछि तत्काल रन्जना टेडर्सको साथीलाई फोन गरे । रन्जना टेडर्सको साथीले तत्काल महानगरीय प्रहरी वृत्त जनसेवा नयाँ सडकलाई खबर गरे ।
सोही समयमा बाटोमा हिँड्दै गरेको अवस्थामा काठमाडौँ महानगरपालिका–२१ जैसीदेवलमा रहेको ह्युमट महिला समूह (मिसाःपूच)ले रु चार लाख फेला पार्यो । फेला पारेको रकम लिएर महिला समूह जनसेवा आइपुग्यो ।
जनसेवामा आइपुगेको महिला टोलीले जनसेवाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यलाई भेटेर पैसा पाएको खबर गरेपछि लामालाई जनसेवा बोलाएर सिसिटिभी र फुटेजका आधारमा अनुसन्धान गरेर पैसा लामाकै भएको ठहर गरेपछि फिर्ता गरियो ।
वृत्तका प्रमुख आचार्य पाउने व्यक्ति र हराउने व्यक्ति दुवैको फोन आएकाले तत्काल सम्बन्धित व्यक्तिलाई पैसा फिर्ता गर्न सकिएको उनले बताए ।
यस्तै, हराएको रकममध्ये एक लाख रुपैयाँ महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले फेला पारेको छ। पैसा लिएर हिँड्दै गर्दा छिरलिएको पैसा काममा खटिएका ट्राफिक जवानले फेला पारेका थिए ।
जवानले फेला पारेको रकम महाशाखाको माध्यमबाट लामालाई हस्तान्तरण गरिएको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए । रासस