साउन २८ गतेदेखि आएको अविरल वर्षासँगै खोला तथा नदीमा आएको बाढीले दाङमा ६ सय ५७ हेक्टर क्षेत्रफलको बालीनाली नष्ट गरेको छ ।
दाङको तल्लो तटिय क्षेत्रमा लगाइएको बालीमा बाढी पसेर बालुवा गिट्टी पुरेको र उपल्लो तटिय क्षेत्रमा अन्नबाली कटान गरी बगाउँदा ठूलो क्षति पुर्याएको जिल्ला कृषि विकास कार्यालय दाङले जानकारी दिएको छ ।
कार्यालयका अनुसार कटानको भन्दापनि बालुवा गिट्टीले पुरेर धेरै बाली नष्ट भएको प्रारम्भिक रिपोर्ट आएको कार्यालयका प्रमुख दिपककुमार शर्माले जनकारी दिए ।
बाढीले जिल्लामा ३ सय ५७ हेक्टर धानबाली , १ सय ७० हेक्टर मकैबाली र १ सय ३० हेक्टरको वर्षे तरकारी बाली नष्ट भएको छ । जिल्लाका १० स्थानीय तह मध्ये ६ स्थानीय तहमा बाढीले खाद्यान्न बालीमा धेरै क्षति पुर्याएको र फाट्टफुट्ट रुपमा पुरै जिल्लामा नै क्षति पुर्याएको कार्यालय प्रमुख शर्माले बताए ।
प्रारम्भिक रिपोर्ट अनुसार तुलसीपुर उपमहानगरमा ७० हेक्टर क्षेत्रफल बढीको धानबाली, ३० हेक्टर क्षेत्रफलको मकै बाली र २० हेक्टर बराबरको तरकारी बाली बाढीले नष्ट गरेको छ । त्यस्तै, दंगीशरण गाउँपालिकामा ३८ हेक्टर क्षेत्रफलको धानबाली, २८ हेक्टर क्षेत्रफलको मकै बाली, २५ हेक्टर बढीको तरकारी बाली नष्ट बनाएको छ ।
त्यसैगरी, लमहीमा नगरपालिका क्षेत्रमा ३५ हेक्टर बढी धानबाली, ३२ हेक्टर बढीको मकैबाली र २० हेक्टर बढीको तरकारी बाली नष्ट भएको कार्यालय प्रमुख शर्माले जानकारी दिए । बाढीले शान्ति नगर गाउँपालिकामा २७ हेक्टर क्षेत्रफलको धानबाली, २१ हेक्टर मकैबाली र १४ हेक्टरमा लगाएको तरकारी नष्ट गरेको छ । बबई गाउँपालिकामा ३६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली ,२८ हेक्टर क्षेत्रफलको मकैबाली र १३ हेक्टर क्षेत्रफल बढीको तरकारी बालीमा क्षति पुर्याएको कार्यालय प्रमुख शर्माले जानकारी दिए ।
यसका साथै, घोराही उपमहानगरमा २० हेक्टर क्षेत्रफलको धानबाली, १२ हेक्टरमा लगाइएको मकैबाली र ११ हेक्टर क्षेत्रफलमा किसानले लगाएको तरकारी बालीमा क्षति पुगेको प्रारम्भिक रिपोर्ट प्राप्त भएको जिल्ला कृषि विकास कार्यालय दाङका कार्यालय प्रमुख शर्माले बताए ।
पोखरीमा पालेका लाखौंको माछा बगेयसैबीच बाढीले जिल्लामा माछापालक किसानहरु पनि ठूलो मर्कामा परेका छन् । लाखौं रुपैयाँ बराबरको माछा बगाएको जिल्ला कृषि विकास कार्यालय दाङले जानकारी दिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित जिल्लाकै सबैभन्दा ठूलो ताल गौरी तालमा मात्रै १५ लाख बढीका माछा बाढीले बगाएको माछा पाल्दै आएका देवबहादुर बस्नेतले जानकारी दिए । उनले ४० लाखको ठेक्कामा माछा पाल्दै आएका छन् । सोही स्थानकै यज्ञबहादुर केसीले पनि आफ्नो निजी पोखरीबाट लाखौं मूल्य बराबरका माछा बाढीले बगाएको बताएका छन् ।
कार्यालयका प्रारम्भिक तथ्याङ्क अनुसार लमही, घोराही, तुलसीपुर लगाएतका विभिन्न स्थानमा माछा पालेका किसानहरुको बाढीले ठूलो क्षति गरेको छ । तथ्याङ्क संकलन कार्य जारी रहेको हुँदा यकिनका साथ भन्न अझैं केही दिन समय लाग्ने कार्यालय प्रमुख शर्माले बताए ।
बाढीले केही माछा पोखरी नै पुरिदिएको तथा धेरैमाछा बगेर लाखौंको क्षति भएको भन्ने गुनासाहरु किसानले गरेको शर्माले बताए ।
जिल्लामा झन्डै ३ हेक्टर जति क्षेत्रफलमा निर्मित जलाशयको माछापालनमा बाढीले क्षति भएको कार्यालय प्रमुख शर्माले बताए । तर, अझै बढ्न सक्ने कार्यालयले जानकारी दिएको छ ।
करीब सातलाख बराबरको पशुपंक्षीमा क्षतियसैबीच, बाढीले दाङमा ७ लाख बढीको पशुपंक्षीमा क्षति पुगेको जिल्ला पशु सेवा कर्यालय दाङले जनाएको छ ।
बाढीले बगाएर खोर भत्किएपछि २ हजार ४ सय ७५ पशु पंक्षी मरेका जिल्ला पशुसेवा कार्यालय दाङका प्रमुख शर्माले बताए । कार्यालयका निमित्त कार्यालय प्रमुख निमबहादुर पुनका अनुसार बाढी पहिरोले २ हजार ४ सय ५० कुखुरा, ८ वटा गाई/गोरु, १५ बाख्रा, २ वटा सुंगुर मरेका छन् ।
पशु कार्यालयका अनुसार घोराही ४ बसन्तपुरका विष्णु कुमारी विसीका ६ सय व्रोइलर कुखुरा, घोराही ६ गुरुवाका भिमबहादुर पाण्डेका ६ सय ५० कुखुरा, तुलसीपुर ८ सुनवर्षाकी देवा भुसालका ७ सय कोइलर कुखुरा र ६ बोरा दाना, तुलसीपुर १३ अम्वापुरका अम्मरराज कार्कीका ५ सय कुखुरा समेत गरी २ हजार ४ सय ५० कुखुरा बाढीका कारण मरेको निमित्त कार्यालय प्रमुख पुनले बताए ।
त्यस्तै, सिमल खुरीया र अम्वापुरमा गरी ५ गाई र ३ गोरु बाढीले बगाएको छ भने सिमल खुटिकै भरत सनारका ३ , मानबहादुर सुनारका ७ र चन्द्रलाल सुनारको १ र विकमान विकका ३ वटा बाख्रा बाढीले बगाएर बेपत्ता पारेको पुनले बताए । कुृल गरेर पशुपंक्षीतर्फ दाङमा ७ लाख बढीको क्षति हुन पुगेको निमित्त कार्यालय प्रमुख पुनले जानकारी दिए । दंगीशरणको मलैमा भएको क्षतिको विवरण भने अझै प्राप्त भइनसकेको पशु कार्यालय दाङले जनाएको छ ।