मंगलबार साँझदेखि बिजुली आएपछि विराटनगरको जनजीवन सामान्य बन्दै गएको छ।
अविरल वर्षापछि शनिबार दुहबीमा रहेको विद्युत प्राधिकरणको सवस्टेशन पनि डुबानमा परेपछि विराटनगरमा बिजुली अवरुद्ध भएको थियो। एकातिर डुबान अर्कातिर बिजुली नहुँदा अस्पताल, खानेपानी र मोबाइल चार्ज पनि गर्न नपाएपछि विराटनगरवासीको जनजीवन कष्टकर बनेको थियो।
‘मंगलबार राति ८ बजे बत्ती आएपछि अहिले यहाँको जनजीवन सामान्य बन्दै गएको छ,’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले भने, ‘पसल पनि धेरै चलेका छन् भने सिटी रिक्सा पनि चल्न थालेका छन्।’
पौडेलका अनुसार अहिले डुबान परेका धेरै ठाउँमा पानी पनि सुकिसकेको छ। अहिले विराटनगर विमानस्थललाई सञ्चालन गर्न काम भइरहेको उनले बताए।
बाढी र डुबानमा परी मोरङमा १७ जनाको ज्यान गएको छ भने ४ जना बेपत्ता भएका छन्। ११ हजारभन्दा बढी परिवार विस्थापित भएका छन्।