बुटवल घर भएका समरुक परियारलाई ग २ च ४४१४ नम्बरको स्कोरपियो गाडीले कुल्चिएर भागेको पुष्टि भएको छ । पीडित स्वयंले आफूलाई कुल्चिएर भागेको पहिचान गरेपछि स्कोरपियोका धनीले होइन भन्दै चार दिनसम्म झुट लुकाउन सफल भएका थिए ।
पीडित पक्षले न्यायका लागि वडा प्रहरी कार्यालय रामबजारमा गुहार्दासमेत गाडी धनीले होइन भन्ने दाबी गरेपछि वार्ता निस्कर्षविहीन हुँदै आएको थियो । अन्ततः एक पेट्रोल पम्पको सिसि टिभिमा कदै भएको दृष्यले घटना पुष्टि भएको छ । अब पीडितको सम्पूर्ण उपचार स्कोरपियो धनीले गर्नुपर्ने वडा प्रहरी कार्यालय रामबजारका प्रमुख तथा इन्स्पेक्टर सुभाष गैरेले बताए । ‘गाडीको गल्ती देखियो उपचारको सबै जिम्मा गाडीकै हो,’ उनले भने, ‘परियारको उपचार भइरहेको छ ।’
साउन ३१ गते खसीबजार चोक अगाडि स्कोरपियोले दिउँसो ४ बजे ग १३ प १४५८ नम्बरको बुलेट बाइक पछाडि सवार परियारलाई ठक्कर दिई पछिल्लो पाङ्ग्राले कुल्चिएर भागेको थियो ।
बाइक चलाएका चाउथेका अशोक पराजुली र बुटवलका परियार सवारसहित सडकमा पछारिएका थिए । चाउथे स्वागत नगरबाट अमरसिंह चोकतिर हिडेको बाइकलाई अमरसिंहचोकबाट चाउथेतर्फ जाँदै गरेको स्कोरपियोले ठक्कर दिएको हो । तीव्र गतिमा रहेको स्कोरपियोले एउटा बाइक ओभरटेक गर्दै अघि बढ्ने क्रममा बुलेट बाइक पछाडि बसेका परियारको हातमा ठक्कर दिएपछि उनी लछारिँदै लडे । सडकमा बजारिएका परियारको कम्मरभन्दा थुरै मुनिबाट त्यही स्कोरपियोको पछाडिको पाङ्ग्राले कुल्चिएर भागेको थियो । परियारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
परियारको दाहिने हात भाँचिएको र ढाँडको पछाडि पट्टिको भाग चर्किएको छ । सोही रात ‘हिट एन रन’मा संलग्न सवारीबारे पीडितले औद्योगिक क्षेत्रमा रहेको प्रहरी विटमा जानकारी गराएपनि प्रहरीले पीडितलाई उल्टो असर पर्नेगरी प्रतिक्रिया दिएपछि घटना वडा प्रहरी कार्यालय रामबजार पुगेको हो ।