दक्षिण चितवनको माडीमा साउन अन्तिम साता आएको बाढीले २१६ घरमा क्षति पुर्याएको पाइएको छ।
क्षतिको विवरण संकलनपछि माडी नगरपालिकाले दिएको जानकारी अनुसार करिव आठ सय बिगाहा क्षेत्रको जमिन भने कटान र डुवानबाट प्रभावित भएको छ।
डुवानले अधिकाँश धानबालीमा क्षति पु¥याएको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिए। उनका अनुसार क्षति भएका २१६ घरमध्ये १०५ घर पूर्ण र १११ घरको आँशिक क्षति भएको पाइएको छ।
पूर्ण क्षति भएकाहरुमध्ये केहीलाई छिमेकको घरमा बस्ने व्यवस्था मिलाइएको र केहीलाई विभिन्न सामुदायिक भवन र रेडक्रस भवनमा बस्ने व्यवस्था गरिएको छ।
माडीको बाँदरझुलास्थित सामुदायिक भवनमा बाढीपीडितलाई राखिएको छ। यस्तै, गोविन्दबस्ती र प्याउलीका पीडितहरुलाई गाउँलेको घरमै राख्ने व्यवस्था गरिएको छ। उनीहरुका लागि रेडक्रस भवनमा सामूहिक खानाको प्रबन्ध गरिएको नगर प्रमुख ढकालले जानकारी दिए।
कतिपयका घर र जमिनहरु नामोनिशाना नै नरहने गरी बगाएर लगेको उनले बताए। आंशिक क्षति भएकाहरुलाई भने बाहिर सामूहिक खानाको व्यवस्था गरी सुत्नलाई आफ्नै घर प्रयोग गर्न भनिएको थियो।
साउन २८ गतेको अविरल बर्षापछि आएको बाढीले माडीको वनकठ्ठा, अमिलिया, सिमरा, धोवाह, रतनी, बाँदरझुला, प्याउली, गोविन्द बस्ती लगायत क्षेत्रलाई प्रभावित गरेको थियो । ठाडा खोला र रिउ नदीमा आएको बाढीले यसरी क्षति पुर्याएको हो ।
माडीका स्थानीयवासी गोविन्द न्यौपानेले अहिले राहत वितरणको काम चलिरहेको र चाँडै नै यहाँका बाढी प्रभावितलाई आवासको व्यवस्थापन जरुरी भएको बताए। नगरपालिकाका अनुसार आएका अधिकांश राहत सामग्री समन्वय गरी वितरण भैरहेको छ ।
दशको वन्यजन्तुको मृत्यु, अठार बगेः
बाढीका कारण नेपालका विभिन्न संरक्षित क्षेत्रका १० वटा वन्यजन्तुको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ ।
बाढीका कारण १८ वटा कृष्णसार बेपत्ता भएका छन् । तीन वटा कृष्णसार र ४ वटा गैंडाको भने उद्धार गरिएको छ ।
विभागका महानिर्देशक मनबहादुर खड्काले साउन २८ गते आएको बाढीका कारण चित्तल र रतुवा मृग छ वटा, कृष्णसार दुई वटा तथा दुई वटा गैंडाको मृत्यु भएको जानकारी दिए।
आज दिएका जानकारी अनुसार बर्दियाको खैरापुरस्थित कृष्णसार संरक्षित क्षेत्रका १८ वटा कृष्णसार बगाएको, २ वटा मरेको र ३ वटाको उद्धार गरिएको छ ।
यता, चितवन निकुञ्जमा दुई वटा गैंडा, छ रतुवा मृग र चित्तल गरी ८ वटा मरेको सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।
नेपालका संरक्षित क्षेत्रमध्ये चितवन राष्ट्रिय निकुञ्ज र कृष्णसार संरक्षित क्षेत्रमा बाढीले ठूलो नोक्सान गरेको छ । चितवन निकुञ्जमा मात्रै विभिन्न सुरक्षा पोष्टहरुमा गरेर २ करोड रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको महानिर्देशक खड्काको भनाइ छ ।
अर्ना सुरक्षित रहेको र बाह्रसिंगा भने झाडी बढेकाले राम्ररी नदेखिएको उनले बताए।
चितवन निकुञ्जबाट बगाएर भारत पुर्याएका ४ वटा गैंडाको उद्धार गरिसकिएको र एउटा गैंडा भारतमा देखिएकाले उद्धारका लागि प्रविधिज्ञसहितको ५० जनाको टोली खटिएको महानिर्देशक खड्काले जानकारी दिए। रासस