चार वर्षअघि महिला विक्री गरेको आरोपमा पक्राउ परेका दुप्चेश्वर गाउँपालिका–१ का फूर्पा तामाङलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ ।
नुवाकोट जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहको इजलाशले आरोपी तामाङको कसूर प्रमाणित गरी बिहिबार १० वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
तामाङले २०७० चैत १४ गते दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीकी २१ वर्षीया युवतीलाई ललाइफकाइ भारतमा विक्री गर्न लगेको प्रहरीले जनाएको छ । पीडित युवतीको उजुरीका आधारमा आरोपी तामाङलाई पक्राउ गरी प्रहरीले २०७२ असोज २५ गते मुद्दा दर्ता गरेको थियो ।
उक्त घटनामा संलग्न भएकाहरू अन्य पाँचजना भने फरार रहेका छन् । फरार रहेका दुप्चेश्वर गापा–१ का साइला तामाङ, गोथे तामाङ, सोमर लामा, आशा तामाङ र होना तामाङको सजाय भने मुल्तवीमा राखिएको छ । रासस