झापाको विर्तामोड नगरपालिका – २ चारपानेस्थित सहारा नेपाल (साकोस) ले बाढीका कारण विस्थापित भएका एक हजार ९३६ परिवारलाई राहत सामग्री वितरण गरेको छ ।
झापा, मोरङ र सुनसरीका बाढीपीडितलाई जिल्ला दैवीप्रकोप उद्धार समितिको समन्वयमा सहकारीले राहत सामग्री वितरण गरेको सहकारीका प्रकोप व्यवस्थापन उपसमिति संयोजक सोमनाथ तिम्सिनाले बताए ।
उनका अनुसार झापाका बाढीपीडितका लागि सहकारीले सबैभन्दा बढी राहत सामग्री वितरण गरेको छ । झापाका तीन नगर र तीन गाउँपालिकाका ९७८ परिवारका लागि प्याकेज बनाएर सहकारीले राहत सामग्री उपलब्ध गराइएको थियो ।
कनकाई नगरपालिकाका– एक सय एक, गौरीगञ्ज गाउँपालिकाका– १४८, झापा गाउँपालिकाका ५२०, शिवसताक्षी नगरपालिकाका १५८, गौरादह नगरपालिकाका– ५१ परिरवारलाई सहकारीले राहत वितरण गरेको हो । यसैगरी, कचनकवल गाउँपालिकाको घेराबारीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३३० जना बिरामी लाभान्वित भएका थिए ।
मोरङका ८४६ परिवारलाई र सुनसरीमा १०३ परिवारलाई राहत वितरण गरिएको बताइएको छ । १६ लाख रुपैयाँभन्दा बढिको प्याकेज बनाएर उनीहरूलाई राहत सामग्री वितरण गरिएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए । उनका अनुसार झापामा सञ्चालित शिविरका लागि दुई लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको छ ।
सहकारीले बाढीका कारण पूर्णरुपमा विस्थापित भएका एक सय परिवारलाई प्रतिपरिवार दुई बण्डलका दरले जस्तापाता प्रदान गर्ने र प्रकोपमा परेका विद्यार्थीका लागि शैक्षिक सामग्री प्रदान गर्ने कार्यक्रम राखेको छ । प्रकोपमा परेका विद्यार्थीको तथ्यांक संकलन गर्ने कार्य भइरहेको सहकारीका प्रकोप व्यवस्थापन उपसमिति संयोजक तिम्सिनाले बताए ।
सहकारीले प्रकोपमा परेकालाई सहयोग गर्न २५ लाख रुपैयाँको सहरा बाढी पहिरो राहतकोष स्थापन गरेको थियो । कोषको रकम एक करोड रुपैयाँ पुर्याएर प्रकोपमा परेकाका लागि सहयोग गर्ने सहकारीले लक्ष्य लिएको सहकारीका कार्यकारी निर्देशक गिरीले बताए । रासस