बैतडीको तल्लोसोराडमा मानिसमाथि आक्रमण गर्ने चितुवा खोजी गर्न प्रहरी परिचालन गरिएको छ।
चितुवा मानववस्ती प्रवेश गरी लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको हो । शनिबार पाटन इलाका प्रहरी कार्यालयबाट गएको टोलीले आक्रमणकारी चितुवाको खोजी सुरू गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख कमल विष्टले जानकारी दिएका छन्।
उनले भने, ‘चितुवाले मानववस्तीमा पसेर मानिसमाथि नै आक्रमण गर्न थालेपछि हातहतियारसहित १७ जनाको प्रहरी टोली खटाइएको छ ।’
प्रहरी सहायक निरीक्षक दशरथ भट्टराईको नेतृत्वमा प्रहरी परिचालन गरिएको उनले बताए । प्रहरीले स्थानीय तहसँग समन्वय गरेर नरभक्षी चितुवा मार्न प्रयास गरिरहेको छ ।
गतवर्ष भदौमा पनि चितुवाले लगातार तल्लो सोराडको उदयदेवमा दुई बालिकाको ज्यान लिए पछि हतियारसहितका १५ प्रहरी परिचालन गरिएपनि चितुवा मार्न सकेको थिएन ।
तल्लोस्वराडको साविकको कुलाउ, विशालपुर, आमचौरा, महाकाली, पञ्चेश्वर, शर्माली, उदयदेवलगायतका गाविसमा चितुवाको आक्रमणबाट अहिलेसम्म २२ जनाभन्दा बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।
विसं २०६८ देखि चितुवाले तल्लोस्वराड क्षेत्रमा आक्रमण गरेपछि त्यसलाई मार्न २०६९ सालमा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षक टोली खटिए पनि चितुवा फेला पार्न नसकेर टोली फर्किएको थियो । रासस
*सच्याइएको*