दाङका बाढीपीडितलाई राहत वितरण सुरू गरिएको छ । घर पूर्ण रूपमा घर भत्किएकालाई प्रतिघर १० हजार रुपैयाँ र विस्थापित परिवारमा प्रतिव्यक्ति दुई हजार १ सय रुपैयाँका दरले १०९ घरपरिवारलाई पहिलो दिन २१ लाख ४२ हजार १ सय रुपैयाँ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।
उनका अनुसार राजपुर गाउँपालिकामा १६ वटा घर ७३ जनालाई तीन लाख १३ हजार ३ सय, लमही नगरपालिकामा २३ घर र १०३ जनालाई चार लाख ४६ हजार ३ सय रुपैयाँ, दंगिशरण गाउँपालिकामा ३३ घर र १५६ जनालाई ६ लाख ५७ हजार ६ सय रुपैयाँ वितरण गरिएको छ ।
यसैगरी, बबई गाउँपालिकामा ३७ घर र १६९ जनालाई सात लाख २४ हजार ९ सय रुपैयाँ बाँडिएको छ । बाढी र डुबानबाट पीडित बनेकालाई सरकारले ४० लाख रुपैयाँ राहत रकम पठाएको थियो । जिल्लामा अहिलेसम्म सात जनाको मृत्यु र २९३ घर पूर्ण रूपमा भत्किएकाले एक हजार ८२ जना विस्थापित भएका छन् । रासस