काभ्रेपलाञ्चोकमा वर्षौदेखि जोतभोग गरेको जग्गा आफ्नो स्वामित्वमा नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।
भूकम्पपीडितले जोतभोग गरेको जग्गाको धितो राख्न नपाएकाले उनीहरुलाई पुनर्निर्माणको काम गर्न अफ्ठ्यारो भएको हो ।
अझै पनि गुठीको जग्गामा मोही कायम होला र पूर्जा पाइएला भनेर दौडिरहेका छौँ मण्डनदेउपुर नगरपालिका– ६ का अर्जुन आर्चायले भने ।
कतिपय गुठीका जग्गामा पूर्जा नभएकाले पूर्जा पाउने वातावरण गराइदिन आग्रह गर्दै उनले भने, ‘कसैले पाउने, कसैले नपाउने स्थितिको अन्त्य हुन जरुरी छ ।’
मण्डनदेउपुर नगरपालिका–५ र ६ मा गुठीको जग्गामा ठूलो समस्या देखिएको छ । उक्त क्षेत्रमा पशुपति र ब्राम्ह्यणी गुठीका करीब ३ सय घरधुरी छन् । भूमि अधिकारमञ्चका जिल्ला अध्यक्ष रामबहादुर तामाङले गुठी संस्थानले भूकम्पपीडितलाई अनुदान सम्झौताको बाटो खुला गरेपनि पुनर्निर्माण हुने घर कस्को हुने भन्ने विषयले अन्योल देखिएको छ भने । गुठीको जग्गामा पुनर्निर्माण त होला तर त्यसघरमा कस्को स्वामित्व हुन्छ भन्ने स्पष्ट हुनुपर्छ उनले भने ।
अध्यक्ष तामाङले गुठी जग्गामा जोतभोग गरेकालाई रैकर बनाउन प्रयत्न गर्ने बताए । मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइवाले सरकारले अधिकार दिए तत्काल गुठी जग्गा जोतभोग गरेकालाई पुर्जा वितरण गर्न सकिने भएकाले समस्या समाधान गर्न आफू प्रयत्नशील रहेको जानकारी दिए ।
उनले बसोबासलाई व्यवस्थित गर्न नगरपालिकाले भू– उपयोग नीति नगरपरिषद्बाट पास गरेपनि नगरपालिकामा जनशक्तिको अभावले प्रभावकारी काम हुन नसेकेको बताए । कानून व्यवसायी कुमार भट्टराइले समस्या समाधानका लागि कार्यदल बनाएर अध्ययन गर्न सुझाव दिए ।
गुठी संस्थानका वरिष्ठ लेखापाल युवराज रेग्मीले आर्थिक वर्ष २०७३/७४ असारदेखि गुठी जग्गाको दर्ता बन्द भएपछि समस्या आएको जानकारी दिए । जिल्लामा ११० वटा गुठी भएकामा ८० वटा गुठी जात्रा पर्वसंग सम्बन्धित छन् । रासस