वैदेशिक रोजगारीमा जाने कामदारसँग तोकिएको भन्दा बढी रकम असुल्ने कार्यमा संलग्न सिनामंगलस्थित सिद्ध ग्लोबल म्यानपावरका एक कर्मचारी रंगेहात पक्राउ परेका छन् ।
मलेसिया जाने दुईजना कामदारसँग एक लाख ६० हजार रुपैयाँ लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागको टोलीले आज उक्त म्यानपावरका कर्मचारी भीष्म अधिकारीलाई पक्राउ गरेको हो ।
आफूहरुसँग बढी रकम माग गरिएको भन्दै पीडितले विभागमा उजुरी दिएपछि गोप्य रूपमा अनुगमनमा गएको विभागको टोलीले सो रकम लिँदै गरेको अस्थामा अधिकारीलाई पक्राउ गरेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए । पक्राउ परेकालाई विभागले हिरासतमा राखेर अनुसन्धान गरिएको उनले बताए । सो म्यानपावरका सञ्चालक शंकरप्रसाद आचार्यको पनि खोजी भइरहेको विभागले जनाएको छ ।
विसं २०७२ असार २१ गतेदेखि मलेसिया र खाडीका राष्ट्रहरू कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन र कुबेतमा रोजगारीमा जाने नेपाली कामदारबाट म्यानपावरले बढीमा १० हजार रुपैयाँ मात्रै सेवा शुल्क लिन पाउने व्यवस्था सरकारले गरेको छ ।
सो व्यवस्था रहेपनि अधिकांश म्यानपावरले तोकिएको भन्दा बढी रकम कामदारबाट असुल्दै आइरहेका छन् । रासस