‘हामी त्यसै आएका होइनौं, बलि राजाको हुकुम... देउसी रे।’
तिहारमा गाइने यो देउसी गीतको भाव त्यसै बनेको होइन।
पश्चिम पहाडको कर्णाली क्षेत्रमा खस संस्कृति फैलिँदै थियो। खसहरूका राजा थिए, बलि। त्यतिबेला खसआर्यहरू आफ्ना छोराछोरीलाई मन्दिरमा ‘देवदास’ बनाएर राख्थे। त्यो प्रथा निमिट्यान्न पार्न बलि राजाले हुकुम दिए, ‘तिमीहरू फुकुवा भयौ, अब मागेर खानू।’
राजाको आदेशपछि देवदासको जीवनबाट मुक्ति पाएका खसआर्यका सन्तान गाउँगाउँ डुलेर मागी खान थाले। माग्न हिँड्दा उनीहरू बलि राजाकै नाम लिन्थे र उनकै आदेशअनुसार माग्न आएको भन्थे।
देउसी, भैलोको चलन र त्यसमा बलि राजाको प्रयोग यही किम्बदन्तीबाट आएको हो।
तिहारसँग जोडिएका यस्ता दर्जनौं किम्बदन्ती भेटिन्छन्, जसले यो पर्व संस्थागत गरेको संस्कृतिविद तथा मानवशास्त्री बताउँछन्।
तिहारको महत्व किम्बदन्तीमा मात्र सीमित छैन। संस्कृतिविद्हरूले यसको महत्वलाई विभिन्न आयाममा व्याख्या गरेका छन्।
उनीहरूका अनुसार तिहारलाई कृषि प्रणालीको सुरुआती विन्दुमा गएर हेर्नुपर्छ। कृषिमा आधारित समाज विकास क्रममा मानिसले काग, कुकुर, गाई, गोरूजस्ता पन्छी र जनावर पूजा गरेर कृतज्ञता ज्ञापन गर्न यो पर्व सुरु भएको हुनसक्ने मानवशास्त्री सुरेश ढकालको भनाइ छ।
‘हिन्दु धर्मको अंशका रूपमा गाई पूजा गरिएको होइन,’ उनले भने, ‘कृषिमा आश्रित समाजमा गाईको महत्व देखेर कृतज्ञ हुन पूजा गरिएको हो, यही चलन एउटा पुस्ताबाट अर्कोमा हस्तान्तरण हुँदै आयो। यसलाई संस्थागत गर्न मानिसले किम्बदन्तीसँग जोडिदिए।’
तिहार भनेको यस्तो समय हो, जतिबेला कृषकहरू आफ्नो बाली भित्र्याएर फुर्सदमा हुन्छन्। कृषिमा आधारित समाजमा यो फुर्सद भनेकै मनोरञ्जनको समय हो, जतिबेला वर्षभरिको मिहिनेतले भकारी भरेको खुसी एकअर्कासँग बाँड्ने गर्छन्– नाचगान गरेर, मिठाइ, फलफूल खाएर र पिङमा मस्त झुलेर।
अर्का मानवशास्त्री मुक्तसिंह लामा पनि तिहारमा आफूले पालेका बस्तुभाउ संरक्षण गर्न पूजाको चलन सुरु भएको बताउँछन्।
उनका अनुसार काभ्रेको तामाङ समुदायले तिहार बेला बस्तुभाउ बाँध्ने किला धूपअक्षताले पूजा गर्छन्। गाई र गोरू मात्र होइन, भैंसी, बाख्रा बाँध्ने किला पनि पूजा गर्ने चलन छ। किला पूजा गर्दा बस्तुभाउको रक्षा हुन्छ भन्ने मान्यता छ। यसलाई ‘गोठे पूजा’ भनिन्छ।
तिहारका पाँच दिनमध्ये भाइटीका नेपालको मौलिक परम्परा भएको संस्कृतिविद्हरू बताउँछन्।
मानवशास्त्री लामाका अनुसार भाइटीकाको चलन कहाँबाट कसरी सुरु भयो ठम्याउन गाह्रो छ। तर, यसले हाम्रो संस्कृतिसँग जोडिएको लैंगिक समानता झल्काउने उनको भनाइ छ। ‘दाजुभाइ र दिदीबहिनी दुवैले एकअर्काको पूजा गर्छन्, टीका लगाइदिन्छन्, यही लैंगिक समानता हो,’ उनले भने।
भाइटीकाबारे अनेक किम्बदन्ती बनेका पनि छन्।
‘सूर्यका छोरा यमराज आफ्नी बहिनी यमुनाको निम्तो मान्न पाँच दिन उनको घर बसेर मिष्ठान खाएको हिन्दुशास्त्रमा छ। बहिनीको सेवाले प्रसन्न यमराजले आफू हरेक वर्ष यही तिथिमा बहिनी भेट्न पृथ्वी आउने र सबैतिर यो चलन चलाउने वर दिए। भाइटीका र समग्र तिहार पर्व नै यही किम्बदन्तीमा अडेको छ,’ संस्कृतिविद् प्राध्यापक वीणा पौड्याल भन्छिन्।
भाइटीका भन्नेबित्तिकै सप्तरंगी टीका र मखमली फूलको माला जोडिन्छ। मानवशास्त्रीहरू भने यसलाई चाडको विकासक्रममा पछि थपिएको मान्छन्।
‘रंगको चलन तिहारभन्दा निकै पछि सुरु भएको हो,’ मानवशास्त्री ढकाल भन्छन्, ‘भाइटीका पारिवारिक प्रणालीमा आधारित सामाजिक सम्बन्ध हो। मानिस समुदायमा बस्न थालेपछि नै भाइटीकाको चलन चलेको हो। कुनै पनि सम्बन्धलाई निरन्तरता दिन भौतिक आधार पनि संलग्न हुनुपर्छ, जुन भाइटीकामा छ।’
लामा यसमा सहमत छन्।
‘जसरी दसैंमा परिवारको अर्थ रहन्छ, तिहारले पनि दिदीबहिनी र दाजुभाइबीच सम्बन्धको निरन्तरता बुझाउँछ,’ उनले भने, ‘भाइटीका लामो समय भेटघाट नभएका दाजुभाइ मिलाउने र सम्बन्ध दिगो बनाउने माध्यमका रूपमा लिइन्छ।’
दाजुभाइ र दिदीबहिनीको सम्बन्धमा प्रेम साटासाट गरिन्छ। यसलाई दिगो बनाउन उपहारको चलन सुरु भएको र संस्थागत गर्दै लैजान किम्बदन्तीसँग जोडेर देउसी, भैलोको चलन चलेको उनको भनाइ छ।
तिहार नेपालसहित दक्षिण एसियाका भारत, भुटान र म्यानमारमा समेत विभिन्न तरिकाले मनाइन्छ। नेपालमा मनाइने तिहार र भारतमा मनाइने त्योहारमा मेल नभएको मानवशास्त्री बताउँछन्।
यस्ता पर्व भौगोलिक बनोटअनुसार फरक–फरक तरिकाले मनाउने उनीहरूको तर्क छ। पश्चिम नेपालका कतिपय स्थानमा तिहारमा मात्र नभएर अरू बेला पनि देउसी, भैलो गाउने चलन छ। मगरले माघे संक्रान्तिमा भैली गाउँछन्। तराईका केही भागमा फागु पूर्णिमा बेला मादल बजाएर ६/७ दिनसम्मै भैली खेल्ने चलन छ ।
तिहारमा प्रकाश, पटाका, पिङ, सेल रोटीको पनि खुब महत्व छ। यी सबैले हर्ष र रमाइलो उत्सवको संकेत गर्ने लामा बताउँछन्।
‘तिहार भनेकै रमाइलो, झिलिमिली, गीत, संगीत, नाचगानको पर्व हो,’ उनले भने, ‘नेता, बडाहाकिम, राजाजस्ता सामन्ती सम्बन्ध मान्दै टीका लगाउनुपर्ने अवस्था तिहारमा हुँदैन। मारकाटजस्तो हिंसात्मक गतिविधि पनि तिहारमा हुँदैन। यसले तिहारको महत्व झनै बढाउँछ।’
उनका विचारमा, जसरी दसैंलाई जितको पर्व मानिन्छ, तिहार सकारात्मक आशा र उल्लासको पर्व हो।
‘दसैंमा जस्तो कोतपूजा र मारकाट तिहारमा हुँदैन। यसमा त झिलिमिली बत्ती बालिन्छ र जनावरको पूजा गरिन्छ। त्यसैले, यो पर्वले आफैंमा आशा र उल्लासको सन्देश दिन्छ,’ लामाले भने।
मानवशास्त्री ढकालले पनि झिलिमिली बत्ती, फलफूल, रोटी र मनोरञ्जक गतिविधिले तिहारलाई रमाइलो उत्सवका रूपमा विकास गरेको बताए।
‘सयपत्री, मखमली र गोदावरी फूलको सुवासले जोसुकैको मन प्रफुल्ल बनाउँछ। बेसीका फाँटमा लहरै झुल्ने पहेँला धानका बालासँगै तिहार मुखरित हुन्छ, यस्तो पर्वमा मान्छेको मन त्यसै खुसी हुन्छ,’ उनले भने।