नवौं राष्ट्रिय खेलकुदको अन्तिम स्वर्ण सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ।
बिहीबार नवौंको समापनअघि पोखरा रंगशालामा भएको स्वर्णको भिडन्तमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६-५ गोल गोलले पराजित गर्यो।
निर्धारित र थप समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा एपिएफका गोलकिपर योगीले आर्मीका दुई पेनाल्टी विफल पारिदिए।
उनले आर्मीका सेसेहाङ आङदेम्बे र सुमन अर्यालको पेनाल्टी विफल पारे। यस्तै एपिएफका सनिस श्रेष्ठको पेनाल्टी भने आउट भयो।
आर्मीका नवयुग श्रेष्ठ, जर्सप्रिन्स कार्की, सिमान्त श्रेष्ठ, विवेक बस्नेत र विकास खवासले गोल गरे। यस्तै एपिएफका लागि नवीन लामा, सनिस श्रेष्ठ, सुदीप सिख्राकार, राजु योगी, दिपेश धिमाल र मनि लामाले गोल गरेका थिए।
नवौं राष्ट्रिय खेलकुद : आर्मीले सर्वाधिक १७२ स्वर्ण जित्यो
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जितेको छ। गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रियमा आर्मीले १७२ स्वर्ण जितेको हो।
आर्मीले ११० रजत र ८९ कास्य गरी कुल ३७१ पदक जित्यो।
दोस्रो स्थान एपिएफ एपिएफले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २१९ पदक हात पारेको छ।
तेस्रो स्थानको नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी कुल १९५ पदक जित्यो।
चौथो बनेको आयोजक गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी कुल १२० पदक हात पार्यो।
पाँचौ स्थानको बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरी कुल १४५ पदक जित्न सफल भयो।
छैटौं स्थानमा प्रदेश एक रह्यो। उसले १० स्वर्ण, २३ रजत र ५० कास्य गरी कुल ८३ पदक भित्र्यायो।
सातौं स्थानमा रहेको सुदूरपश्चिमले १० स्वर्ण, १० रजत र ४३ कास्य गरी कुल ६३ पदक जित्न सफल भयो।
एनआरएनए टिम आठौं भयो। उसले १० स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २६ पदक हात पार्यो।
लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० कास्य गरी कुल ६८ पदक जित्दै नवौं स्थानमा रह्यो।
दशौं स्थानको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरी कुल ३९ पदक हात पार्यो।
अन्तिम स्थानमा कर्णाली प्रदेश रह्यो। उसले २ स्वर्ण, ४ रजत र १२ कास्य गरी कुल १८ पदक जित्न सफल भयो।
नवौंँ राष्ट्रिय खेलकुदको भव्य समारोहकाबीच आज समापन गरिँदैछ। असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गरेको प्रतियोगिताको प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गर्न लागिएको हो।