एक युवा खिलाडीले अफगानिस्तानी क्रिकेटको चित्र पुरै बदलिदिएका छन्। मंगलबार आइसिसिले जारी गरेको वानडे वरियतामा भारतीय बलर जसप्रीत बुमराहसँगै नम्बर एक पोजिसनमा पुग्दै राशिद खानले इतिहास रचेका हुन्।
उनी आईसीसी बरियताको कुनै पनि फर्मेटमा वानडे र्याङ्किङमा शीर्ष स्थानमापुग्ने संसारकै युवा खेलाडी हुन्। १९ वर्षीय यी अफगानी युवाले भारतीय खेलाडी जसप्रीत बुमराहसँगै आईसीसी वानडे र्याङ्किङमा साझा रूपमा नम्बर एक स्थानमा पुगेका छन्।
हालै जिम्बाम्बे विरूद्ध १६ विकेट लिएका उनी वरियतामा ८ स्थान माथि उक्लदै पहिलो स्थानमा आइपुगेका हुन्।
उनकै शानदार प्रदर्शनले युएईमा अफगानिस्तानले पाँच म्याचको सिरीजम जिम्बाम्बेलाई ४-१ ले पराजित गर्यो।
६ महिनापछि २० वर्ष पुग्ने (७०९२ दिनका) राशिद आईसीसी र्याकिङमा शीर्ष स्थानमा पुग्ने पहिलो कम उमेरका खेलाडी भएका छन्। यसअघि पाकिस्तानका अफ स्पिनर सकलेन मुश्ताकले यो रेकर्ड बनाएका थिए।
सकलेनले जनवरी १९९८ मा ७६८३ दिनमा संसारको सबैभन्दा कम उमेरमा आइसिसि वरियताको पहिलो नम्बरमा पुग्ने बलरको रेकर्ड बनाएका थिए।
राशिद खानले अर्को एउटा विश्व रेकर्डसमेत बनाउने तयारीमा छन्। उनको नाममा ३७ अन्तर्राष्ट्रिय वानडेमा ८६ विकेट छ। यदि उनी यही गतिमा विकेट लिँदै गए भने चाडैनै सबैभन्दा कम खेलमा १०० विकेट लिने विश्वको पहिलो खेलाडी बन्नेछन्।
अहिले यो रेकर्ड अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा छ। उनले करियरको ५२ वानडेमा यो उपलब्धि हासिल गरेका हुन्। स्टार्कले सन् २०१६ मा सकलेन मुश्ताकको दुई दशक पुरानो ५३ खेलबाट १०० विकेट लिएको रेकर्ड तोडेका थिए। पछिल्लो २ वर्षदेखि उनको रेकर्ड कसैले तोडेका छैनन्।
उनले २४५२ बलमा सय विकेटको रेकर्ड बनाएका हुन्। यसअघि यो रेकर्ड पाकिस्तानी खेलाडी शोएब अख्तरको नाममा थियो। अख्तरले २७०७ बलमा सय विकेट लिएका थिए।
अहिलेसम्म राशिद खानले १७९१ बलमा ८७ विकेट लिइसकेका छन्। अब उनी सय विकेटबाट मात्र १३ विकेट पछाडि छन्।