ओपनरद्वय ट्राभिस हेड र अभिषेक शर्माको विस्फोटक ब्याटिङमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्सलाई १० विकेटले पराजित गरेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल)मा गएराति भएको खेलमा हैदरावादका दुई ओपनरले ९.४ ओभरमै खेल जिताएका हुन्।
१६६ रनको लक्ष्य पछ्याएको हैदरावादका लागि त्राविस हेडले ८९ रन हान्दा अभिषेक शर्माले ७५ रन बनाए।
त्यस क्रममा हेडले ३० बलमा ८ चौका र ८ छक्का हाने भने अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्का हाने।
पहिले ब्याटिङ गरेको लखनउले ४ विकेट गुमाएर १६५ रन बनाएको थियो।
लखनउका लागि निकोलस पुरन ४८ र आयुष बदोनी ५५ रन बनाएर नट आउट रहे।
निकोलस पुरनले २६ बलमा ६ चौका र १ छक्का प्रहार गरे भने आयुष बदोनीले ३० बलमा ९ चौका प्रहार गरे।
कप्तान केएल राहुलले ३३ बलमा १ चौका र १ छक्का प्रहार गर्दा क्रुनाल पाण्ड्याले २१ बलमा २ छक्का प्रहार गरी २४ रन बनाएका थिए।
अन्य ब्याटर सस्तोमै आउट हुँदा लखनउले मध्यम योगफल तयार पारेको थियो।
बलिङतर्फ हैदरावादका भूवनेश्वर कुमारले २ र कप्तान प्याट कमिन्सले १ विकेट लिए।
जितसँगै १२ खेलबाट १४ अंक बटुलेको हैदरावाद अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
लखनउ १२ अंक जोड्दै छैटौं स्थानमा छ।