आइसिसी टी-२० विश्वकप २०२४ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली हाल अमेरिकाको फ्लोरिडास्थित मायमीमा छ। नेपाली टोलीले अहिले मायमीको मिरामर रिजनल पार्कमा अभ्यास गरिरहेको छ।
त्यहाँ नेपाली टोलीले आगामी ११ मेसम्म अभ्यास गर्ने तालिका रहेको नेपाली टोलीका व्यवस्थापक प्रदीप मजगैयाले जानकारी दिए।
त्यसपछि नेपाली टोली १२ मेदेखि १९ मेसम्म वेस्ट इन्डिजमा रहनेछ। जहाँ नेपालले ३ अभ्यास खेल खेल्ने कार्यक्रम छ।
त्यसपछि नेपाल अमेरिकाको टेक्सास फर्कनेछ। २० मेदेखि टेक्सासमा रहदा नेपाली टोलीले ह्युस्टनमा पनि ३ अभ्यास खेल खेल्नेछ। ह्युस्टनमा मे २४ सम्म नेपालले विश्वकपको अन्तिम तयारी गर्नेछ।
२५ मेदेखि टी-२० विश्वकपका वार्म अफ खेलहरू सुरू हुनेछन्। विश्वकपमा सहभागी सबै २० टिमलाई जुन १ अघि २ वटा वार्म अप खेल खेल्ने विकल्प हुनेछ।
विश्वकपका लागि नेपाली टोलीले गत फेब्रुअरीदेखि तयारी गरिरहेको छ। अमेरिका जानुअघि नेपालले घरेलु मैदानसहित हङकङ, भारत र ओमानमा गरी कुल २७ वटा टी-२० खेल खेलेको थियो। जसमा नेपालले १५ खेलमा जित निकाल्दा ९ खेल हारेको थियो भने १ खेलमा वर्षाले अवरुद्ध भएको थियो।
तीन महिनाको बीचमा २७ खेल खेलेपछि नेपाल विश्वकपका लागि अमेरिका पुगेको हो। २५ खेलमा नेपालले २० भन्दा बढी खेलाडीलाई मौका दिएको थियो। जसमा १३ खेलाडीमा कुनै परिवर्तन भएन। विश्वकप छनोट नखेलेका सागर ढकाल र कमलसिंह ऐरीसहित १५ सदस्यीय टोली विश्वकपमा सहभागी हुँदैछन्।
नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रुपमा छन्। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्। करण र सोमपाललाई बलिङ अलराउन्डरको रुपमा पनि टोलीले लिएको छ। स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन्।
टी-२० विश्वकप २०२४ मा नेपाल समूह 'डी' मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।
विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर-८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ।
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।
विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। चार समूहका शीर्ष २-२ टोली गरी कुल ८ टोली सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टोली सेमिफाइनलमा पुग्नेछन्।
समूह ए : भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल