पहिलो संस्करणको जयकुमारनाथ शाह मेमोरियल यू-१६ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालयले जितेको छ।
आइतबार मुलपानी मैदानमा भएको फाइनल भिडन्तमा सैनिकले मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै उपाधि जितेको हो।
वर्षाले प्रभावित खेलमा मोक्षदाले दिएको ७० रनको लक्ष्य सैनिकले विनाविकेटको क्षतिमा पूरा गर्यो। ९ ओभरमा उक्त लक्ष्य पाएकोमा सैनिकले ६.५ खेल्न बाँकी छदा पूरा गर्यो।
सैनिकका लागि रमन गिरीले ३५ र रोजल खड्काले ३३ रन जोडे।
त्यसअघि पहिले ब्याटिङ गरेको मोक्षदाले २० ओभरमा ८ विकेटको क्षतिमा १४२ रन जोड्यो। उसका लागि संयम नेपालले ३७ रन जोडे।
पहिलो इनिङ्ग्स सकिएपछि वर्षा हुँदा डिएसएल मेथडका खेल ९ ओभरमा झार्दै ७० रनको लक्ष्य दिइएको थियो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एन्जल्स हार्ट स्कुलका युवराज खत्री घोषित भए। उत्कृष्ट बलर मोक्षदाका इशान साह र उत्कृष्ट ब्याटर मोक्षादकै संयम नेपाल भए। प्रतियोगिताको इमर्जिङ खेलाडी सैनिकका सफल पौड्याल भए।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा १६ स्कुलले भाग लिएका थिए। नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ।