क्रिस गेलले पहिलो बलमा चौका प्रहार गरेसँगै सन् २००७ मा टी-२० विश्वकपको पहिलो संस्करण सुरु भएको थियो।
घरेलु टोली दक्षिण अफ्रिकाविरूद्ध वेस्ट इन्डिजका आक्रामक ब्याटर गेलले ११७ बनाएसँगै टी-२० विश्वकपको पहिलो खेलमै इतिहास रचिएको थियो। गेलको त्यो ब्याटिङ टी-२० विश्वकपका अनगिन्ती अविस्मरणीय क्षणमध्येको एक हो।
अहिलेसम्म टी-२० विश्वकपका आठ संस्करण सकिएका छन्। यसै महिना अमेरिका र वेस्ट इन्डिजमा हुने नवौं संस्करणमा अर्को इतिहास बन्दैछ। पहिलो पटक २० टोलीबीच हुन लागेको टी-२० विश्वकपमा तीन टोलीले पहिलो पटक विश्वकप खेल्दैछन्।
इंग्ल्यान्डको काउन्टी खेलमा टी-२० फर्म्याटका खेल सञ्चालन हुन थालेको चार वर्षपछि सन् २००७ मा आइसिसीले टी-२० विश्वकपको आयोजना गरेको थियो। टी-२० विश्वकपको सफलतासँगै संसारभर टी-२० फ्रेञ्चाइज लिगले लोकप्रियता कमाए।
सन् २००७ मा दक्षिण अफ्रिकामा दुई सातासम्म चलेको विश्वकपको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वीद्वय भारत र पाकिस्तान भिडेका थिए।
जोहानेसबर्गमा भएको फाइनलमा खेलमा मिसबाह-उल-हक नेतृत्वको पाकिस्तानले अन्तिम चार बलमा ६ रन बनाउन नसक्दा भारतले पहिलो उपाधि जितेको थियो।
टी-२० विश्वकपको अविस्मरणीय क्षणमा भारतका युवराज सिंहको ब्याटिङदेखि वेस्ट इन्डिजका कार्लोस ब्रेथवेटसम्मको ब्याटिङ पर्ने गर्छन्।
सन् २००७ मा इंग्ल्यान्डका स्टुअर्ट ब्रोडको बलिङमा युवराजले छ बलमा छ छक्का प्रहार गरेका थिए।
सन् २००७ मा भारतसँगको फाइनल हारको चोट पाकिस्तानले दुई वर्षपछि विश्वकप जितेर भुलाएको थियो। सन् २००९ मा लर्ड्समा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको थियो। सो विश्वकपमा नेदरल्यान्ड्सले आयोजक इंग्ल्यान्डलाई पहिलो खेलमै पराजित गरेको थियो।
सन् २००९ मा घरेलु मैदानमा पहिलो खेलमा हारेको इंग्ल्यान्डले सन् २०१० मा भने वेस्ट इन्डिजलाई भएको टी-२० विश्वकप जित्यो।
वेस्ट इन्डिजले २०१२ को फाइनलमा आफ्नो 'गंगनम स्टाइल' प्रेरित उत्सवको साथ कोलम्बोमा उधाधि जितेको थियो। उसले घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो।
सन् २०१२ को फाइनलमा पराजित भएको श्रीलंकाले सन् २०१४ मा उपाधि जित्न सफल भयो। बंगलादेशमा भारतसँगको उपाधि भिडन्तमा महेला जयवर्धने र कुमार संगकाराको जोडीको प्रेरणमा श्रीलंकाले पहिलो पटक उपाधि जित्न सफल भयो।
पहिलो पाँच संस्करणमा पाँच फरक विजेताहरू पछि ब्राथवेटको अन्तिम ओभरको उत्कृष्ट ब्याटिङले इंग्ल्यान्डलाई स्तब्ध पार्दै वेस्ट इन्डिज सन् २०१६ मा दोस्रो पटक टी-२० विश्वकप जित्ने पहिलो टोली बन्यो। भारतमा भएको सो विश्वकपमा ब्राथवेटले बेन स्टोक्सको बलिङमा लगातार चार छक्का प्रहार गर्दै वेस्ट इन्डिजलाई च्याम्पियन बनाएका थिए।
एकदिवसीय विश्वकपमा आफ्नो वर्चस्वको बावजुद अष्ट्रेलियाले आफ्नो पहिलो टी-२० विश्वकप जित्नको लागि २०२१ सम्म कुर्नुपर्यो। युएई र ओमानमा भएको विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई पराजित गर्यो।
सन् २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा इंग्ल्यान्ड च्याम्पियन बन्यो। दोस्रो उपाधि जित्ने क्रममा इंग्ल्यान्डले फाइनलमा पाकिस्तानलाई हरायो।
जुन १ देखि २९ सम्म अमेरिकाको तीन सहर र वेस्ट इन्डिजका ६ देशका रंगशालामा सञ्चालन हुने यस संस्करणको विश्वकपमा पहिलो पटक २० टिम भिड्दैछन्। ५५ खेल हुने विश्वकपमा आइसिसी इतिहासमा ठूलो प्रतियोगिता बन्दैछ।
यो विश्वकपले तीन नयाँ टोलीलाई स्वागत गर्नेछ। आयोजक संयुक्त राज्य अमेरिका, क्यानडा र युगान्डा सबैले आफ्नो पहिलो टी-२० विश्वकप प्रतियोगितामा भाग लिनेछन्।