कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नती गरिने भएको छ। यसअघि सरकारले मैदानमा फ्लड लाइट जोड्ने प्रक्रिया अघि बढाए पनि अहिलेसम्म पूर्णता पाएको भने छैन।
मंगलबार सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै कीर्तिपुरस्थित त्रिवि मैदानको स्तरोन्नतीसहित थप निर्माण कार्य अघि बढाइने बताए।
साथै काठमाडौंको मुलपानी, मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद क्रिकेट मैदान र कैलालीको फाप्ला क्रिकेट मैदान निर्माण तिव्रताका साथ अघि बढाइने उनले बताए।
साथै चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशाला पनि स्थानिय र प्रदेश सरकारको सहकार्यमा निर्माण सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यसअघि उल्लेखित चारै मैदानलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको थियो।
नीति तथा कार्यक्रममा नेपालको मौलिक खेललाई प्रवर्धन गरिने, प्रतिभावन खेलाडी खोजी गर्न राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने उल्लेख छ।
यस्तै खेलकुदमा महिला सहभागिता बढाउने र नेपालको अन्तर्राष्ट्रिय सहभागिता पनि बढाइने भएको छ।
यस्तै यसै वर्षमा कर्णाली प्रदेशमा आयोजना हुने तय भएको दशौं राष्ट्रिय राष्ट्रिय खेलकुदमा पनि सरकारको नीति तथा कार्यक्रममा परेको छ।