नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले नाम र लोगो परिवर्तन गरेको छ।
काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गोर्खाजले गत वर्ष 'काठमान्डु गुर्खाज' नाममा खेलेको थियो।
नयाँ लोगोमा काठमाडौंको संस्कृतिको प्रतिनिधित्व गर्ने टोलीको भनाइ छ।
नेपाल प्रिमियर लिगमा सबै प्रदेशमा १-१ वटा टोली छन्। बागमती प्रदेशमा काठमाडौं र चितवन राइनोज गरी दुई वटा फ्रेन्चाइज छन्। यहाँको क्रिकेट गतिविधि काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट गरी चार जिल्लामा केन्द्रित गरेर हुन्छ। मुख्य गरी काठमाडौं उपत्यकाको सम्पन्नतालाई टोलीले प्रतिनिधित्व गर्ने भनाइ छ।
काठमाडौंको हस्पिटालिटी पार्टनरको रुपमा रोयल टुलिप काठमाडौं रहेको छ। एनपिएल-२ को दौरान काठमाडौं गोर्खाज रोयल टुलिप काठमाडौंमै बस्नेछ।
काठमाडौं गोर्खाजबाट प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी र रोयल टुलिप काठमाडौंका जनरल म्यानेजर बलराम पाठकले हस्ताक्षर गरेका छन्।
काठमाडौं गोर्खाजले वर्ल्ड लिन्क प्रमुख प्रायोजक रुपमा सम्झौता गरिसकेको छ। सम्झौताअनुसार काठमाडौं गोर्खाज अब टोली जर्सीमा वर्ल्ड लिन्कको लोगो राखेर एनपिएलमा खेल्ने छ। काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुपम स्वाँर सिरोहिया र वर्ल्ड लिन्कका कार्यकारी निर्देशक मनोज अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
यसअघि मोन्टी देसाईलाई काठमाडौं गोर्खाजले आफ्नो मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। मोन्टी २०२३ को फेब्रुअरीदेखि २ वर्ष नेपालको प्रशिक्षक रहेका थिए। यहि क्रममा नेपालले विश्वकप लिग २ का १२ खेलमा ११ खेल जित्दै २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो। मोन्टीकै प्रशिक्षणमा नेपालले १० वर्षपछि टी-२० विश्वकपमा पुनरागमन गरेको थियो।
मोन्टीलाई साथ दिन प्रशिक्षकमा बसन्त शाही, टेक्निकल एनालिस्टमा सुरज शाक्य र फिजियोमा पुरन तिरुवालाई निरन्तरता दिइएको छ।
काठमाडौं गोर्खाजले एनपिएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसीसहित भीम शार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई 'रिटेन' गरेको थियो।