रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ।
लेगानेससँग अवे खेलमा पराजित भएपछि रियल म्याड्रिडको यात्रा रोकिएको हो । घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको दोस्रो लेगमा लेगानेसले रियल म्याड्रिडलाई २–१ गोलले स्तब्ध बनायो।
पहिलो लेगमा १–० ले विजयी भएको रियल मड्रिड बुधबार राति घरेलु मैदानमा भएको खेलमा लेगानेससँग २–१ ले पराजित भयो। समग्रमा २–२ को बराबरी भए पनि अवे गोलका आधारमा लेगानेस सेमिफाइनलमा प्रवेश गरेको हो। रियल मड्रिड प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
रियल मड्रिडले यो सिजन च्याम्पियन्स लिगमा राम्रो गर्दै आए पनि घरेलु प्रतिस्पर्धामा कमाजोर देखिँदै आएको छ ।
क्रिष्टियानो रोनाल्डो सहित अन्य केही नियमित खेलाडी बिना नै लेगानेस विरुद्ध उत्रिएको रियल म्याड्रिड ३१ औं मिनेटमा पछि परेको थियो । जावी इरासोको लामो प्रहार गोलमा परिणत हुँदा लेगानेसले पहिलो हाफ अघि सोही अग्रता कायम राखेको थियो ।
रियलका लागि ४७ औं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि एप्पेल्ट पिरेसले गोल गर्दै लेगानेसलाई फेरि अग्रता दिलाए ।
१९ पटक कोपा डेल रेको उपाधि जितेको रियल मड्रिड यसपटक भने क्वाटरफाइनलबाटै बाहिरियो।
रियल मड्रिडले यो सिजन अहिलेसम्म ला लिगाका चार खेलमा हार बेहोरिसकेको छ । उ ला लिगामा शीर्ष स्थानको बार्सिलोना भन्दा १९ अंकले पछि छ।
यस्तै प्रतियोगिताकै अर्को खेलमा डिपोर्टिभो एलभेसलाई टाई ब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै भ्यालेन्सियाले कोपा डेल रेको सेमिफाइनलमा स्थान बनाएको छ ।
पहिलो लेगमा २–१ को जित हात पारेको भ्यालेन्सिया दोस्रो लेगमा भने डिपोर्टिभोसँग २–१ ले पराजित भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो ।