सेल्टा डे भिगोले स्पेनिस ला लिगा लिग फुटबलमा जित हात पारेको छ। सेल्टाले रियल बेटिसलाई ३–२ गोलअन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा सेल्टाको जितका लागि लेगो अस्पासले दुई तथा म्याक्सिमिलियानोले एक गोल गरे। यता बेटिसका लागि सर्जियो लियोन र एन्ड्रस गुएर्डाडोले एक–एक गोल गरे।
खेलको १२औं मिनेटमा नै लेगो अस्पासले गोल गर्दै सेल्टालाई सुरुवाती अग्रता दिलाएका थिए। यसपछि खेलको ५७ औं मिनेटमा सेल्टाका लागि म्याक्सिमिलियानोले गोल गर्दै २–० गोलको अग्रता दिलाएका थिए। २–० गोलले पछि परेको बेटिसले खेलको ७१ औं मिनेटमा सर्जियो लियोनको गोलबाट २–१ को स्थितिमा पुर्यायो।
त्यसको अाठ मिनेटपछि नै सेल्टाका लेगो अस्पासले दोस्रो गोल गर्दै ३–१ गोलको अग्रता दिलाएका थिए। खेलको अन्तिम समयमा एन्ड्रस गुएर्डाडोले गोल गर्दै बेटिसलाई ३–२ को स्थितिमा झारेपनि सेल्टालाई रोक्न भने सकेनन्।
ला लिगाको शीर्ष स्थानको बार्सिलोनाको २१ खेलबाट ५७ अंक रहेको छ। त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान २१ खेलबाट ४६ अंक छ भने तेस्रो स्थानमा रहेको भ्यालेन्सियाको भने ४० अंक छ।
साविक विजेता रियल मड्रिड भने २० खेलबाट ३८ अंकका साथ लिगको चौथो स्थानमा छ।