एन्जल डी मारियाको ह्याट्रिकले लिग टु क्लब सोसुलाई फराकिलो अन्तरमा हराउँदै पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति नेइमार बिना उत्रिएको पिएसजीले सोसुलाई ४–१ ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो।
पिएसजीको जितमा डी मारिया नायक बनेका हुन्। उनले सात वर्षपछि पहिलो पटक ह्याट्रिक गरे।
यसअघि डी मारियाले सन् २०१० मा पोर्चुगिज लिगमा बेन्फिकाका लागि लैसोइसविरूद्ध ह्याट्रिक गरेका थिए।
मंगलबार राति भएको खेलमा डी मारियाले खेलको पहिलो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाए। यद्यपी यो अग्रता धेरै बेर टिक्न सकेन। १३ औँ मिनेटमा सोसुका मार्तिनले गोल गर्दै खेल बराबरीमा ल्याए।
यस्तै खेलको २७ औं मिनेटमा काभानीले गोल गर्दै फेरि टिमको अग्रता बनाए। पहिलो हाफ २-१ ले अगाडि रहेको पिएसजीका लागि ५८ र ६२ औँ मिनेटमा गोल गर्दै मारियाले ह्याट्रिक पूरा गरे।
९० औँ मिनेटमा ट्राप सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित थियो।