स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति रोनाल्डोले ह्याट्रिक गरेपछि रियल मड्रिडले शानदार जित दर्ता गरेको छ।
रोनाल्डोको ह्याट्रिक प्रेरित रियल मड्रिडले घरेलु मैदानमा रियल सोसिडाडमाथि ५–२ को सानदार जित हात पारेको हो।
रियलका लागि रोनाल्डोको ह्याट्रिकसँगै लुकास वाज्क्वेज र टोनी क्रुसले एक एक गोल गरे। रियल सोडिसाडाडका लागि जोन बाटिस्टा र एसर इलारमेन्डीले एक एक गोल गरे पनि हार टार्न सकेनन्।
खेलको पहिलो मिनेटमा नै वाज्क्वेजको गोलबाट रियल मड्रिडले सुरुवाति अग्रता लिएको थियो। यस्तै रोनाल्डोले २७ औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर पारे।
३४ औँ मिनेटमा क्रुसले गोल गर्दै अग्रता तेब्बर पारे। त्यसको तीन मिनेट पछि रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले ४–० को अग्रता लियो।
दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरेको रियल सोसिडाडले घरेलु टोलीमाथि दुई गोल फर्कायो।
७४ औँ मिनेटमा बाटिस्टाले सोसिडाडका लागि पहिलो गोल गरेका थिए। यस्तै रोनाल्डोले ८० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
यो सँगै उनले यो सिजन ला लिगामा ११ गोल गरेका छन्।
८३ औँ मिनेटमा इलारमेन्डीले सोसिडाडका लागि गोल गर्दै खेलमा फर्कने आशा देखाए तर त्यसपछि कुनै पनि गोल हुन सनेन र रियल मड्रिड ५–२ ले विजयी भयो।
जितपछि रियल मड्रिड तेस्रो स्थानमा उक्लिएको छ। उसको २२ खेलबाट ४२ अंक भएको छ। ऊ शीर्ष स्थानको बार्सिलोना भन्दा १६ अंकले पछि छ। यस्तै दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १० अंकले पछि छ।