स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता रियल मड्रिडले जित निकालेको छ। बुधबार राति भएको खेलमा रियल मड्रिडले लेगानेसलाई उसैको मैदानमा ३ – १ ले पराजित गरेको हो।
क्रिष्टियानो रोनाल्डोबिना मैदान उत्रिएको रियल मड्रिडले सुरुवाती अग्रता लेगानेसलाई हराएको हो। रोनाल्डोबिना रियललाई जित दिलाउन लुकास भास्क्वेज, कासिमिरो र कप्तान सर्जियो रामोसले समान एक एक गोल गरे। लेगानेसका उनाइ बुस्टिन्जाले एक गोल गरे।
पछिल्लो समय रियल मड्रिडले आफ्नो पुरानो लय समात्दै गएको छ। घरेलु लिगमा यो सिजन लगभग आधा समय जाँदासम्म कमजोर देखिएको रियल मड्रिड पछिल्ला खेलमा प्रभावशाली प्रदर्शन गर्दै आएको छ।
यस्तै ग्यारेथ बेल पनि बेन्चमा रहेका थिए। सुरुमा अप्रत्यासित रुपमा पछि परेको रियल मड्रिड त्यसपछि खेलमा फर्किएको हो। छैटौँ मिनेटमा बसटिन्जाले गोल गर्दै लेगानेसलाई अग्रता दिलाए।
११ औँ मिनेटमा लुकास वाज्क्वेजले रियल मड्रिडका लागि बराबरी गोल फर्काए। २९ औँ मिनेटमा कासमेइरोले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले २–१ को अग्रता लियो।
यस्तै खेलको अन्तिम अर्थात ९० औँ मिनेटमा पाएको पेनाल्टीमा सर्जियो रामोसले गोल गरेपछि जिनेदिन जिदानको टिम रियल मड्रिडले ३–१ को प्रभावशाली जित निकाल्यो।
जितपछि तेस्रो स्थानमा उक्लिएको रियल मड्रिडको २४ खेलबाट ४८ अंक भएको छ। उ शीर्ष स्थानको बार्सिलोना भन्दा १४ अंकले पछि रहेको छ। यस्तै दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा सात अंकले पछि रहेको छ।