चेल्सीलाई हराउँदै स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इङ्लिस क्लब चेल्सीलाई ३-० ले हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेसीले दुई गोल गरे। यस्तै ओसुमान डेम्बेले थप एक गोल गरे। यो जितसँगै बार्सिलोनाले चेल्सीमाथि समग्रमा ४ – १ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको हो। यसअघि चेल्सीको मैदानमा भएको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो ।
क्याम्प नाउमा भएको दोस्रो लेगमा बार्सिलोना चेल्सीमाथि सुरुवातबाटै हावी भएको थियो। र, खेलको तेस्रो मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको २० औं मिनेटमा डेम्बेले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता बनायो ।
पहिलो हाफमा २ – ० ले अघि बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्यो। त्यसपछि खेलको ६३ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए । घरेलु मैदानमा बार्सिलोनासँग राम्रो प्रदर्शन गरेको चेल्सीले अवे मैदानमा भएको दोस्रो लेगमा आफूलाई जोगाउन सकेन र प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
चेल्सीविरुद्धको दुई गोलसँगै मेसीले च्याम्पियन्स लिगमा १ सयौं गोल पूरा गरेका छन्। मेसीले १२३ खेलबाट सय गोल पुरा गरेका हुन्।