विश्व फुटबलको सर्वोच्च निकाय फिफाले स्पेन फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ।
महिला विश्वकप २०२३ को फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो।
यसअघि फिफाको अनुशासन समितिले फाइनलमा गरेको व्यवहारलाई लिएर रुबियाल्समाथि अनुशासन सम्बन्धी कारबाहीका लागि छानबिन सुरू गरेको थियो।
गत आइतबारको फाइनलमा इंग्ल्याण्डलाई १-० ले पराजित गरेपछिको समारोहमा रुबियाल्सले स्पेनिस फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेका थिए।
फिफाले उनको कार्यले आक्रामक व्यवहार र निष्पक्ष खेलको अनुशासन संहिताको धारा १३ को उल्लंघन हो वा होइन भनेर हेर्नेछ।
गत आइतबारको फाइनलको अन्तिम सिठ्ठी बज्दा अध्यक्ष रुबियालेस स्पेनकी रानी लेटिजिया र उनकी १६ वर्षीया छोरी नजिकै उभिरहेका थिए।
केहीबेरपछि पोडियममा मेडल लगाएर फर्किएकी हर्मोसोलाई उनले ओठमा चुम्बन गरेका थिए।
यो दृष्यपछि उनको संसारभर आलोचना भएको थियो। जसका कारण उनले सोमबार माफी मागेका थिए। तर स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले माफी 'पर्याप्त छैन' भनेका थिए। यस्तै उपप्रधानमन्त्री योलान्डा डियाजले उनलाई राजीनामा दिन आग्रह गरेकी थिइन्।
रुबियालेसको विषयमा स्पेन सरकारका मन्त्रीहरूले पनि आलोचना गरेका थिए। स्पेनकी समानता मन्त्री इरेन मोन्टेरोले आलोचना गर्दै भनेकी थिइन्, ‘यो एक प्रकारको यौन हिंसा हो जुन महिलाहरूले दैनिक रूपमा भोग्नुपरेको छ।’ उनले यस्ता हिंसा अदृष्य हुने गरेको र यसलाई ‘सामान्य बनाउन सक्दैनौं,’ भनेकी थिइन्।
स्पेनका खेलकुद मन्त्री मिकेल इसेटाले स्पेनिस सार्वजनिक रेडियोलाई फुटबल महासंघका अध्यक्षले फरवार्ड हर्मोसोलाई चुम्बन गर्नु ‘अस्वीकार्य’ थियो भनेका थिए।